कोभिड–१९ र नेपालमा अनलाइन शिक्षाको महत्व

0
1775

तीर्थराज खरेल,

नेपाली शैक्षिक संस्कृति शिक्षक र विद्यार्थी एकै ठाउँ भेला भएर सिक्ने सिकाउने प्रत्यक्ष शिक्षण प्रक्रियामै रुमलिएको छ । यस परम्पराको लामो इतिहास गुरूकूल संस्कृतिदेखि सुरू भएर अहिलेको औपचारिक विद्यालय शिक्षासम्म पनि कायमै छ । मुलुकमा स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग वाणिज्य, अर्थ, सञ्चार, कृषि, विज्ञान–प्रविधि, ऊर्जा, जलस्रोत तथा राजनीति सबैतिर चामत्कारिक विकास गर्ने हो भने त्यहाँका सञ्चालक वा प्रवर्द्धकहरु स्वास्थ्य, आदर्शवान र शिक्षित हुनु जरुरी हुन्छ । त्यस्ता जनशक्ति उत्पादन गर्ने कारखाना भनेकै विद्यालय, महाविद्यालय र विश्वविद्यालय हुन् ।

विश्वग्रामको अवधारणा स्थापित भए पनि परीक्षामुखी शिक्षा प्रणाली भएको नेपालजस्तो अल्पविकसित मुलुकमा विद्यालय, शिक्षक र पाठ्यक्रमको उपलब्धतामा कक्षाकोठामा गरिने शिक्षण विधिलाई तत्काल सूचना प्रविधिमैत्रीमा रुपान्तरण गर्ने ठोस प्रयास भएको छैन । तथापि विश्वव्यापी कोरोना भाइरसको जोखिम र लामो समयको लकडाउनले नेपालमा ‘भर्चुअल’ शिक्षाको यात्रालाई अघि बढाउन खोज्दैछ ।

यसलाई वैकल्पिक विधिको अनलाइन या दूरशिक्षा पनि भन्न सकिन्छ । कोरोना संक्रमणको जोखिम न्यून गर्न सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विद्यमान शिक्षा पद्धति र सामाजिक संस्कारमै नयाँ विधि ल्याउन सक्ने देखिएको छ । यसअघि शिक्षाका विभिन्न नीतिगत दस्तावेजमा सूचना र प्रविधिको सदुपयोग गरी शिक्षण पद्धतिले आफूलाई रुपान्तरण गर्नुपर्ने विषय पनि उल्लेख गरिएको देखिन्छ ।

राष्ट्रिय शिक्षा नीति, ०७६, विज्ञान तथा नवप्रवर्तन सम्बन्धी नीति, २०७६ र त्यसअघिका विद्यालय क्षेत्र विकास कार्यक्रम आदिले शिक्षामा सूचना र प्रविधिको प्रयोगको प्राथमिकतालाई औंल्याएका छन् । कोरोनाको उद्गमस्थल मानिएको चीन र अरू मुलुकमा अनलाइन माध्यमबाट शिक्षा दिइएका बेला नेपालमा पनि कोरोनाको जोखिम देखिएपछि शिक्षा प्रणालीमा प्राविधिक रुपान्तरणको बहस थप जागृत भएको छ । बन्दाबन्दीका कारण घरमै बस्नुपर्दा आम अभिभावक र विद्यार्थीले सूचना, सञ्चार र प्रविधिलाई थप अपनत्व दिएका छन् । यसले खुला तथा स्वतन्त्र सिकाइको आधार तयार गर्दै गएको छ । घर वा आफ्नो अनुकूलको स्थानमा बसेर निश्चित प्रविधिको सहयोगले पाठ्यसामग्री र शैक्षिक क्रियाकलापका माध्यमबाट सिकाइ प्राप्त गरिने शिक्षा दूरशिक्षा हो ।

नेपाली शिक्षाको इतिहासमा अचेलको जस्तो प्रविधि नभएको अवस्थामा औपचारिक शिक्षा थालनी हुनुपूर्व गुरुकुलीय शिक्षा वा स्वाध्यायनको पनि विशेष महत्व रहेको तथ्यलाई पनि हामीले बिर्सन मिल्दैन । अहिले प्रयोगमा आएका नवीनतम अभ्यासलाई हेर्दा, शिक्षामा प्रविधिको प्रयोगले अनलाईन सिकाइलाई खुला तथा दूर शिक्षाको रूपमा प्रश्रय दिएको पाइन्छ र यसले लोकप्रियता पनि हासिल गरेको देखिन्छ । सिकारु र शिक्षक एकै ठाउँमा नरहेर टाढाबाट नै शिक्षा लिनदिन सकिने गरी आधुनिक ज्ञान, सीप, प्रविधिको प्रयोग गरी शिक्षा–शिक्षण हुने खुला शिक्षाको मूल अवधारणा हो । यो एक प्रकारको अदृश्य अर्थात् भच्र्युल कक्षा हो । भौगोलिक रुपमा टाढा रहेका सिकारुका लागि यो शिक्षा पद्धति अति उपयोगी छ । खुला शिक्षाले उमेर, र दूरी दुवैमा आधारित हुँदैन । जहाँसुकै रहेका र जुनसुकै उमेर समूहका विद्यार्थीले खुला शिक्षाबाट लाभ लिन सक्छन् ।

नेपालमा खुला तथा दूर सिकाइका अभ्यासहरूको इतिहास लामो छैन । नेपालमा शिक्षाको परम्परागत माध्यमको विकल्पको रूपमा खुला तथा दूर सिकाइको भविष्य राम्रो देखिन्छ । यसका लागि नेपालमा खुला तथा दूर सिकाइको सफल प्रयोग गर्न खुला विश्वविद्यालयको धारणा शुरु भएर अहिले मूर्त रुप लिइसकेको अवस्था छ । विश्वमा खुला विश्वविद्यालयको स्थापना र सञ्चालनको इतिहास ६० वर्षको हाराहारी छ भन्दा पनि हुन्छ । पहिलो खुला विश्वविद्यालय बेलायतको ओपन युनिर्भिर्सटी हो । यसको स्थापना सन् १९६९ मा भएको हो र यसपछि अन्य विश्वविद्यालयहरुको स्थापना भयो । हाम्रा छिमेकी देशहरुमा पनि खुला विश्वविद्यालय स्थापनाको क्रम बढेर गएको छ । अन्य सार्क मुलुकमा पनि खुला तथा दूर शिक्षाको महत्व बढेको पाइन्छ । घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको लागि नेपालमा पनि ढोका खुलेको छ । नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ ।

नेपाल खुला विश्व विद्यालयले आफ्नो शैक्षिक कार्यक्रम सुरु गरेपछि दैनिक कलेज जान नसक्नेले उक्त विश्व विद्यालयबाट घरमै बसेर उच्च शिक्षा आर्जन गर्न पाउने छन् । त्यसका लागि विद्यार्थीसँग कम्प्युटरको सुविधा उपलब्ध हुनुपर्दछ । पछि घरबाटै इन्टरनेटमार्फत परीक्षा दिन सकिने सुविधा उपलब्ध गराइने भए पनि प्रारम्भमा भने तोकिएको केन्द्रमा परीक्षा दिन जानुपर्ने हुन्छ । विद्यार्थीले घरमै बसेर ई–बैङ्किङ्मार्फत् भर्ना तथा परीक्षाका लागि शुल्क बुझाउन सकिने छ भने पाठ्यसामग्री पनि इन्टरनेटमार्फत प्राप्त गर्न सकिनेछ । विद्यार्थीले शिक्षकसँग सम्पर्क गर्नुपर्ने खालको पाठ्यक्रम तयार भइरहेको छ । विद्यार्थीले शिक्षकसँग प्रत्यक्ष सम्पर्क नै नगरेमा त्यसले गुणस्तरलाई सुनिश्चित गर्दैन तर सम्पर्क गर्नुपर्ने अवधि निकै कम हुनेछ ।

खुला विश्वविद्यालयले जारी गर्ने प्रमाणपत्र विश्वमान्यता प्राप्त हुनेछ । खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पु¥याई ज्ञान, सीप, प्रविधियुक्त जनशक्ति उत्पादन गर्न नेपाल खुला विश्वविद्यालयको स्थापना गरिएको यसको ऐनमा उल्लेख छ ।

खुलाशिक्षा प्रणालीका नवीनतम शिक्षण प्रवधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्चशिक्षामा सर्वसाधारणको पहँुच पुर्याई ज्ञान, सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्न खुला विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । नियमित रुपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई अध्ययनको सुविधा दिने उद्देश्यले खुला विश्वविद्यालयको धारणा अघि आएको हो । यो विश्वविद्यालयमा विद्यार्थीले घरैमा बसेर पढ्न र अनलाइनमार्फत परीक्षा दिन सक्नेछन् । यस्ता विश्वविद्यालयमा स्वदेश तथा विदेशमा बस्ने समेत भर्ना हुन सक्ने प्रावधान पनि रहन्छ । खुला विश्वविद्यालयको अवधारणा सबैका लागि उच्च शिक्षाको पहुँचका दृष्टिकोणबाट हेर्दा अति उत्तम देखिन्छ ।

खुला शिक्षा स्रोत कम भए पनि पुग्ने सस्तो शिक्षा प्रणाली भएको र दुर्गम क्षेत्रमा पनि सजिलै उपलब्ध हुने, अनौपचारिक शिक्षा पद्धति पनि प्रयोग हुने, ज्ञान, सीप, प्रविधिलाई अद्यावधिक गर्न सहज हुने, अहिलेको युगको सर्वोत्तम उपलब्धि आईसीटीको सदुपयोग गरिने र सिकारुले भूमण्डलीकरणका सकारात्मक पक्षसँग साक्षात्कार गराउने भएबाट यसको महत्व धेरै छ । नेपालमा शिक्षा प्राप्त गर्ने अभिलाषा उत्कट छ, तर सबैलाई यस्तो अवसर छैन । खुला विश्वविद्यालयले उच्च शिक्षा प्राप्त गर्ने अभिलाषालाई पुरा गर्दछ । वातावरण संरक्षण, कृषिमा आधुनिकीकरण, समाजशास्त्र, संस्कृति, व्यवस्थापन, कानुन लगायतका विधाहरुमा खुला शिक्षाले सहज रुपमा शिक्षा प्राप्तिकाम लागि सहयोग गर्दछ । दुर्गम र पिछडिएको क्षेत्रका लागि खुला विश्वविद्यालयले अति महत्वपूर्ण टेवा दिन्छ ।

खुला विश्वविद्यालयको काम अघि बढिसकेपछि हाल विद्यामान विश्वविद्यालयहरुमा रहेको विद्यार्थी चापमा सन्तुलन हुने र शैक्षिक गुणस्तर कायम हुन सहज वातावरण तयार हुने प्रबल सम्भावना छ । खुला विश्वविद्यालयले अनुसन्धान तहको पनि कार्यक्रम सञ्चालन गर्ने भएबाट रोजगारीमा रहेका र विश्वविद्यालय नियमित जान नसक्नेका लागि उच्च शिक्षाको अवसरको ढोका खोल्दछ । नेपालमा खुला शिक्षाको महत्व र गरिमालाई नेपाल सरकारले बुझेर यस सम्बन्धी कानुन निर्माण गरी नेपाल खुला विश्वविद्यालय स्थापना गरिसकेको अवस्था छ र अब यो विश्वविद्यालयलाई राष्ट्रिय परिस्थिति र अन्तर्राष्ट्रिय अनुभवलाई आत्मसात गर्दै विकसित गर्नु आवश्यक छ । यसलाई सुचारु गरेपछि यसले गति लिनेमा विश्वास गर्न सकिन्छ ।

कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिन त्यति सजिलो छैन । चीनको वुहान शहरबाट प्रारम्भ भएको भनिएको कोभिड–१९ को संक्रमण तिब्र रुपमा विश्वव्यापी बनिरहेकोछ । यस भाइरसको विरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपालसहित विश्वका धेरै जसो मुलुुकहरु लकडाउनको अवस्थामा रहेकाछन् । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुमा मनोवैज्ञानिक सन्त्रास व्याप्त रहेकोछ । यसैगरी सामुदायिक विद्यालयमा पढ्ने धेरै जसो विद्यार्थीहरु दैनिक ज्याला मजदुरी गर्ने न्यून आय वर्गका परिवारका छन् ।

लकडाउनको यस परिस्थितीमा उनीहरुको परिवारमा हातमुख जोर्नेसमस्याले विद्यार्थीहरुमा पर्ने मनोवैज्ञानिक असर र त्यस पछिको सिकाइमा यसले पार्ने गम्भीर असर अर्को महत्वपूर्ण पक्ष हो । यसैगरी, शहरबजार तथा उद्योग धन्दा बन्द भएपछि बसेको स्थानबाट अभिभावकसँगै पुरानै थाँतथलो जाने विद्यार्थीहरुको संख्या धेरै नै छ । पूर्ववत रुपमा उनीहरु पुरानै विद्यालयमा कति फर्कन सक्छन् कतिले बिचैमा पढाइ छाड्छन गम्भीर ध्यानाकर्षणको विषय हो । समस्याहरु धेरै छन्, तर समाधान सीमित छन् । कोरोनाको महामारी छिट्टै रोकिने परिस्थिति पनि देखिँदैन । जे भए पनि अनलाइन शिक्षाको महत्व धेरै बढेर गएको छ । बहुआयामिक सहयोग, साथ र समर्थनबाट मात्र अनलाइन शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । शिक्षकहरुले मात्र यसलाई सफलतामा पु¥याउन सक्ने परिस्थिति छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here