कोरोना समुदायमा फैलिने जोखिम बढ्दै,एक साताका लागि कनकाई नगर बन्द

0
620

बिर्तामोड।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नजिक पुगेको छ । लामो समयसम्म लकडाउन कडाई गरेको सरकारले लकडाउन खुकुलो बनाएसंगै संक्रमणको जोखिम उच्च बन्दै गएको हो ।

बितेका चार महिनामा देशभित्र कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन् । लकडाउनको पूर्णपालना नगर्दा संक्रमितको संख्या बढिरहेको र अवस्था थप खराब हुन नदिन सर्वसाधारण सचेत हुनुपर्ने विज्ञहरूले बताइरहेका छन् ।

यो महामारीमा नागरिक स्तरबाट पर्याप्त जिम्मेवारीपन नदेखाइएको र लकडाउनको पालना नभएको भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । भारत तथा अन्य विभिन्न देशबाट आएका कतिपय ब्यक्तिहरु पहिला घरपुगेको र पछि मात्रै क्वारेन्टाइनमा आएका घटनाहरु पनि देखिएको छ ।

क्वारेन्टाइन रहेकाहरुको पीसीआर टेस्ट गर्दै पोजेटिभ रिपोर्ट आएकाहरुलाई अस्पताल पु¥याउने गरिएको छ भने नेगेटिभ रिपोर्ट आएकाहरुलाई घरमा एक सातासम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा छाड्ने गरिएको छ । पश्चिमका केहि जिल्लामा घरभएको केहि दिन पछि मात्रै स्वास्थ्यको रिर्पोट आएका घटनाहरु पनि रहेका छन् । यस्तो अवस्थामा संक्रमित ब्यक्तिले समुदायमा संक्रमण फैल्याउने जोखिम पनि उच्च रहेको चिकित्सकहरुले बताए ।

झापामा भारत तथा अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य जाँचपछि कोरोना पोजेटिभ आएकालाई प्रदेश–१ अन्र्तगतका कोरोना अस्पतालमा लगेर उपचार गरिएको छ भने नेगेटिभ रिपोर्ट आएकाहरुलाई घरमा एक सातासम्म होम क्वारेन्टाइनमा बस्ने सर्तका साथ घर पठाईने गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैबीच झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ । क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले सोमबारदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो । नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको सोमबार बसेको बैठकको सो निर्णय गरेको हो ।

नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको भेटघाट श्रीमान्सँग भएको र श्रीमान्को सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो ।

नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दुरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ ।

सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ । त्यसैगरी मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ ।

संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिइन् । सङ्क्रमित महिला भारतको युपीबाट गत जेठ ३० गते काँकडभिट्टा आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here