हल्दिवारीमा यस कारण भएको थियो कुटाकुट(भिडियोसहित)

0
6723

बिर्तामोड,

झापाको हल्दिबारी गाउँपालिकाको पाँचौँ गाउँसभामा तोडफोड भएको छ । सडक नामकरणको विषयमा उत्पन्न विवादमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताहरूले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका घेराउ गर्दै तोडफोड गरेको बताइएको छ ।

सोही क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेसका गाउँपालिका उपाध्यक्ष गंगाप्रसाद प्रसाईँ र राप्रपा वडा नम्बर २का अध्यक्ष भीमराज फ्याक रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले समेत कुर्सी तोडफोड गरेको बताइएको छ ।

यस्तो थियो घटना

साबिक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरूबीच विवाद शुरु भएको थियो । सो सडकको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्व. द्रोणाचार्य क्षेत्री राख्नुपर्ने बताउँदै आएकोमा नेपाली कांग्रेस र राप्रपाले स्व. केशवकुमार कन्दङ्वा राख्नुपर्ने अडान लिएका थिए । दुवै जिल्लाका स्वर्गीय चर्चित नेता हुन् । सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँ सभाबाटै नामकरण टुङ्गो लगाउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम बुधवार दिउँसो गाउँ सभा शुरु भएको थियो । गाउँ सभा शुरु भए लगत्तै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुति सकिएपछि कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रवीन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए । तर, अध्यक्ष लिङ्देनले ज्ञापनपत्र बुझ्न मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए । ज्ञापनपत्र नलिएको भन्दै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू सभा बिथोल्दै एक्कासी तोडफोडमा उत्रिएका थिए । गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेको थियो । प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहौल शान्त बनाएका थिए ।

गाउ“पालिकाका अध्यक्षसहित
६ जनाद्वारा सभा बहिष्कार

राप्रपाबाट जितेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनसहित ६ जना जनप्रतिनिधिले गाउँ सभा बहिष्कार गरेका छन् । सडक नामकरणको विषयमा बल्झिएको विवादपछि गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँसभा बहिष्कार गरेर हिँडेका हुन् । अध्यक्ष लिङ्देनसहित वडा नम्बर ५ का वडाध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडाध्यक्ष होमप्रसाद चुडाल र अन्य तीन जना वडा सदस्य रहेका छन् । राप्रपाका पाँच जना र कांग्रेसका एक जना जनप्रतिनिधिले बहिष्कार गरेका हुन् । यता घटनाको विषयमा गाउँपालिकाका अध्यक्ष लिङ्देनले विवाद तोडफोडको क्रममा आफूलाई नेकपाका केही कार्यकर्ताले हातपात गरेको भन्दै मेची अञ्चल अस्पताल भद्रपुर स्वास्थ्य जाँचका लागि आएको बताए ।
यता गाउँपालिका उपाध्यक्ष गिरीले अध्यक्ष लिङ्देन आफैँ सभा छाडेर गएको दाबी गरेका छन् । अमर्यादित ढङ्गले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्दा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेको उनले बताए ।

यता बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको बुधवार शुरु भएको पाँचौ नगर सभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभामा आगामी आ.व. ०७७÷७८मा नगरपालिकाको आन्तरिक आम्दानी १२ करोड ४७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन (मालपोत कार्यालय) ९ करोड, लागत सहभागिता १ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण २० करोड ४७ लाख, राजश्व बाँडफाँड ११ करोड १ लाख ७० हजार, सशर्त अनुदान ३७ करोड १ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ८२ लाख ७ हजार, राजश्व बाँडफाँड १ करोड २५ लाख ६१ हजार, सामाजिक सुरक्षा १७ करोड, विशेष अनुदान ३ करोड, समपूरक अनुदान २ करोड गरी कूल १ अरब १५ करोड ४ लाख ८८ हजारको आय–व्यय अनुमान प्रस्तुत गरिएको छ ।

जस अन्तर्गत चालू खर्च रु. ३९ करोड ८१ लाख ८६ हजार र पूँजीगत खर्च ५८ करोड २३ लाख २ हजार तथा सामाजिक सुरक्षा वापत रु. १७ करोड गरी कूल १ अर्ब १५ करोड ४ लाख ८८ हजारको व्यय हुने गरी प्रस्ताव गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ को (१) र (२) मा भएको व्यवस्था अनुरुप स्थानीय राजश्व परामर्श समिति, स्थानीय सरोकारवालाहरु, उद्योग वाणिज्य क्षेत्र तथा करदाताहरु समेतको सुझावका आधारमा राजश्व परिचालन गर्ने गरी आन्तरिक आयको अनुमान गरिएको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान समेतलाई नगरपालिकाको आयको रुपमा पेश गरिएको छ । नगरपालिकाको प्रस्तावित बजेटलाई नीति तथा कार्यक्रमसँग आवद्ध हुने गरी बजेट विनियोजन हुने व्यवस्था मिलाइएको छ ।

चालू आ. व. ०७६÷७७मा आन्तरिक आम्दानी ११ करोड २७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन (मालपोत कार्यालय) ८ करोड, लागत सहभागिता २ करोड ८० लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण २० करोड ९६ लाख, राजश्व बाँडफाँड १३ करोड ८ लाख, सशर्त अनुदान २४ करोड ८२ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ८२ लाख ९४ हजार, राजश्व बाँडफाँड १ करोड ५७ लाख २ हजार, सामाजिक सुरक्षा १० करोड गरी कूल ९३ करोड ३३ लाख ४६ हजारको आय–व्यय अनुमान अनुमान प्रस्तुत गरिएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणबाट तेस्रो नगर सभाबाट प्रस्तावित गरिएको आन्तरिक स्रोत संकलनमा कठिनाई उत्पन्न भएको उपप्रमुख प्रसाईंले बताइन् ।

यता झापाको कनकाई नगरपालिकाले अनलाईनबाटै आर्थिक बर्ष २०७७÷०७८को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । क्वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक युवतीले आफ्नै बच्चालाई म्वाई खाँदा नगरका ७ वटा वडा शिल गर्न बाध्य कनकाई नगरपालिकाले बुधवार अनलाइन ‘जुम एप्प’को प्रयोग गरी बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गरेको हो ।

झापाका अधिकांश स्थानीय तहले कम्तीमा पत्रकारहरुको उपस्थितिमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कनकाई नगरपालिका उपप्रमुखले भने आफ्नै कार्यकक्षबाट अनलाइनबाटै बजेट प्रस्तुत गरेका थिए । उपप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नगरपालिकाका ९ वटै वडाध्यक्ष, सदस्यहरु जम्मा भएर प्रत्यक्ष हेरेको र पछि लकडाउन खुलेपछि यसवारेमा थप छलफल गर्ने तयारी रहेको कनकाई नगरपालिका वार्डनम्बर ४का सदस्य रोशन सुवेदीले बताए ।
कनकाई नगरको यस बर्ष ५३ करोड, ८१ लाख, ५० हजार रुपैँया बराबरको बजेट पेश गरिएको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा २० करोडले कम्ती हो । यस बर्ष प्रत्येक वार्डमा जाने बजेटको सिलिङ समेत आधाले घटेको छ । अघिल्लो बर्ष कनकाईका ९ वटा वडामा ९ करोड रुपैँयाँ बजेट बिनियोजन गरिएकोमा यसबर्ष सो रकम आधा घटेर ४ करोड ५० हजार बनाइएको छ । यस बर्ष नगरको शिक्षा, खेलकुद, कृषि र स्वास्थ्य क्षेत्रमा बजेट रकम बढाइएको छ भने अन्य क्षेत्रको रकम घटाइएको छ । लोकप्रिय कार्यक्रममा नगरभित्र लामो समय बसोबास गरिरहेका घरविहीन नागरिकहरुका लागि मेयर आवास कार्यक्रममा समेत यथेष्ट रकम बिनियोजन गरिएको छ ।

यता स्थानीय सरकार सञ्चालन ऐन २०७४मा उल्लेख भए अनुसार झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगर सभामा पेश गरेको छ । उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय(बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं. १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सातौं नगर सभामा उपप्रमुख एवम् योजना तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले आगामी आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्ताबाहेक अनुमानित ७९ करोड ६३ लाख ४१ हजार बराबरको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत गरिएको बजेटमध्ये आन्तरिक आयबाट पाँच करोड ५० लाख, नेपाल सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत सशर्त अनुदानबाट २४ करोड ५५ लाख, वित्तीय समानीकरणबाट १६ करोड ७४ लाख, विशेष अनुदानबाट दुई करोड र समपुरक अनुदानबाट ८० लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्तर्गत सशर्त अनुदानबाट एक करोड, वित्तीय समानीकरणबाट ७७ लाख ४१ हजार, विशेष अनुदानबाट दुई करोड र समपूरक अनुदानबाट एक करोड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी नेपाल सरकारको राजश्व बाँडफाँड अन्तर्गत मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट दश करोड २० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँड अन्तर्गत प्राकृतिक स्रोत बाँडफाँडबाट चार करोड, यातायात कर बाँडफाँडबाट एक करोड २६ लाख र घरजग्गा रजिष्ट्रेशनबाट तीन करोड, विभिन्न साझेदारी निकायहरु अन्तर्गत सडक बोर्ड नेपालबाट ३५ लाख, नेपाल पर्यटन बोर्डबाट २५ लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५० लाख, खेलकुद मन्त्रालय वा अन्तर्गत निकायबाट ६० लाख र तराई मधेश सम्वृद्धि कार्यक्रमबाट ६२ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दुई करोड ३४ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुई करोड ११ लाख र स्थानीय तह क्षमता विकास कार्यक्रमबाट चार लाख प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै चालू आर्थिक वर्ष ०७६÷०७७को लागि एक अर्ब पाँच लाख ९० हजार बराबरको बजेट प्रक्षेपण गरिएकोमा आन्तरिक आय, राजश्व बाँडफाँड र संघीय अनुदान अपेक्षितरुपमा प्राप्त हुन नसकेको कारण उक्त बजेटमा संशोधन गरी सामाजिक सुरक्षा भत्ता बाहेक ७६ करोड नौ लाख ७३ हजार रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही आर्थिक वर्षमा स्वीकृत भएका ६२ वटा नगरस्तरीय योजनामध्ये ११ वटा र तीन सय ४१ वटा वडास्तरीय योजनामध्ये २३० वटा सम्पन्न भएको नगर तथा वडास्तरीय योजनाहरुको भौतिक प्रगति ७०.९६ प्रतिशत रहेको छ ।
उता दमक नगरपालिकाले पनि आर्थिक बर्ष २०७७÷०७८ को लागि बजेट प्रस्तुत गरेको छ । ७औं नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले एक अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ ।
नगरसभामा नगरपालिकाको उपप्रमुख तथा बजेट नीति तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक गीता पौडेल अधिकारीले बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटको चालू खर्चतर्फ ७७ करोड ७७ लाख ६५ हजार छुट्याइएको छ । जुन प्रस्तुत बजेटको ५९.२३ प्रतिशत हो । त्यस्तै पूँजीगत खर्चतर्फ ५३ करोड ५२ लाख ७ हजार छुट्याइएको छ । यो बजेटको ४०.७७ प्रतिशत हो ।

त्यस्तै गौरीगञ्ज गाउँपालिकाको छैठौ गाउँसभामार्फत आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम बुधवारै प्रस्तुत भएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले छैठौं गाउँसभामार्फत नीति तथा कार्यक्रमको दीप प्रज्ज्वलन गरीे औपचारिक उद्घाटन गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष दिपीन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वय पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यता झापाको शिवसताक्षी नगरपालिकाले छैटौं नगरसभा बुधबारदेखि शुरु गरेको छ । सभाको प्रदेश नम्बर १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।

नगरसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नगरको चौतर्फी बिकासमा नगरपालिकासँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा पूर्व सांसद तारासम याङ्या, प्रदेश सांसद झलकबहादुर दर्लामी मगर, हिरा थापा, जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेल, जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगर उपप्रमुख भोजकुमारी नेपालले आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक वर्ष २०७७÷०७८ को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त चालू खर्च, पुँजीगत खर्च र वित्तीय समानीकरणको रकम समेत गरी १ अर्व १ करोड ७५ लाख ६५ हजार २ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरेकी थिइन् ।

उपप्रमुख नेपालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरका विपन्न परिवार केन्द्रित छ । नगरभित्र रहेका घरका फुसका छाना हटाएर जस्तापाता लगाउनेदेखि विपन्नलाई सिप र रोजगार उपलब्ध गराई बेरोजगार समस्या समाधान गर्ने कार्यक्रम रहेका छन् ।

कृषिलाई आधुनिकीकरण, सामुहिक खेती, व्यवसायिक खेती, यान्त्रिकीकरण र अग्र्यानिक खेतीमा जोड, कृषिसँग सम्बन्धित घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन तथा स्थापना समेत गरिने कार्यक्रम सार्वजनिक भएका छन् । व्यवसायिक पशुपालनलाई प्रोत्साहन, कृषि तथा पशुजन्य खेतीमा हुने दैबी प्रकोपबाट हुने क्षतिलाई राहत कोषको स्थापना, कोभिड–१९ नियन्त्रणलाई प्राथमिकता, बिदेशबाट फर्किएकालाई कृषि, पशु तथा घरेलुु उद्योगमा प्रोत्साहन, पशु बिमा कार्यक्रम, दीर्घकालीन भौतिक संरचना, सडक, पुल, ढल, भवनमा जोड दिने, लक्षितबर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारिने पनि उनले बताइन् । कृषि उत्पादनलाई प्राथमिकता, कृषिबाली तथा पशुपालनलाई प्रोत्साहन, संघ तथा प्रदेश सरकारसंग सहकार्य गरी भौतिक बिकासमा जोड दिने, भूमि व्यवस्थापनका लागि नीति नियम बनाई आयमूलक कार्यमा किसानलाई प्रोत्साहन दिइने कार्यक्रममा उल्लेख छ ।

नगर गौरवका आयोजनाहरु यथावत राखी आगामी आर्थिक वर्षदेखि पूर्व पश्चिम राजमार्गको झिलझिले उत्तर मा अत्याधुनिक बसपार्क निर्माणको थालनी कार्यक्रममा समावेश भएको छ । नगरको रिङरोड कालोपत्रे, ट्रंक रोडको स्तरीय ग्राभेल र सडकहरुको स्तरोन्नतिका लागि पर्याप्त बजेट बिनियोजन भएको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माको अध्यक्षतामा भएको सभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले गरेकी थिइन् ।
यसैवीच लामो समयदेखि कार्यरत राष्ट्रसेवक कर्मचारीका रुपमा वडा नम्बर २का सचिव पदम कँुवरलाई नगद १० हजारसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

उता कचनकवल गाउँपालिकाले स्वास्थ्य, कृषि, सिञ्चाई र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ५३ करोड ८९ लाख ६ हजार एक सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशीले जानकारी दिइन् ।

यता बाह्रदशी गाउँपालिकाले कोरोना नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीका अध्यक्ष कृषि, स्वास्थ्य, शिक्षासहित लक्षितवर्गलाई प्राथमिकतामा राखेर ४१ करोड ६९ लाख ७८ हजार सात सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो ।

इ पेप यहाँबाट हेर्नुहोस् ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/11-ashar.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here