खोटाङ अस्पतालमा डिजिटल एक्स–रे

0
1467

खोटाङ,

जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि मेनुअल एक्स–रे मेशिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेशिन जडान गरेर सेवा दिन थालेको छ ।

डिजिटल एक्स–रे मेशिन चलेपछि रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । सो मेशिन चलेपछि एक्स–रे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताउनुभयो । “डिजिटल एक्स–रे ले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ”, उहाँले भन्नुभयो, “ यसको रिपोर्ट कम्प्युटरमा आवश्यकताअनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्स–रे रिपोर्टभन्दा धेरै राम्रो र छिटो हुनेछ ।”

यसलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन विद्युत्को विकल्पमा ब्याकअपसमेत जडान गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रविनकुमार फुयाँलले बताउनुभयो । अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र भरपर्दो बनाउने लक्ष्यले प्रविधि स्तरोन्नति गर्दै लगिने निमित्त प्रमुख फुयाँलको भनाइ छ । अब एक्स–रे गर्न निजी क्लिनिक धाउनुपनेबाध्यता पनि हटेको छ । विद्युत् नभएको समयमा एक्स–रे गर्दा निजी क्लिनिक सञ्चालकले सेवाग्राहीबाट दोब्बर मूल्य लिने गरेका थिए ।

सो १५ श्याको जिल्लाको एकमात्र अस्पतलालाई ५० श्याको बनाउने तयारीसाथ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको छ । विसं २०४८ मा स्थापना भएको जिल्ला अस्पतालमा श्यया अभाव हुँदा कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ।

यहाँका जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ । दुई नगरपालिका र आठ गाउँपालिकाको जिल्लाको उत्तरी क्षेत्र ऐंसेलुखर्क र दक्षिणी क्षेत्र चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here