सांस्कृतिक अतिक्रमणबिरुद्ध लिम्बूहरु एक हुँदै

0
759

ताप्लेजुङ । 

ताप्लेजुङका लिम्बू समुदायका सांस्कृतिक र भाषिक अतिक्रमणविरुद्ध एकजुट भएका छन् ।

फुङ्लिङमा बृहत् भेला आयोजना गरी जिल्लामा रहेको धार्मिकस्थल तथा शक्तिपीठ ‘मुक्कुमलुङ’ लगायत बिभिन्न ठाउँलाई एकल जातीय राज्यसत्ताले सांस्कृतिक र भाषिक अतिक्रमण गरेको ठहर गर्दै, अतिक्रमित स्थानका नाम पुर्नस्थापित गर्ने प्रतिबद्धतासहित सम्पूर्ण थरी याक्थुङ्बा लिम्बूहरू एक भएका हुन् ।

भेलाले मुक्कुमलुङ नामको सन्दर्भमा, प्राचीनकालदेखि याक्थुङ लिम्बू आदिवासीहरूले मानी, पुजेर ल्याएको प्राकृतिक, मौलिक, ऐतिहासिक, पुरातात्विक शक्तिपीठ यसै ताप्लेजुङ जिल्ला साविकको गाविस तापेथोक, लिङ्खिम, फुरुम्बू, फावाखोला, सिकैचाको संगमस्थलमा रहेको ‘मुक्कुमलुङ’लाई पहिलो पटक राज्यले लिएको, एक भाषा, एक धर्म, एक संस्कृतिको नामबाट अतिक्रमण गर्ने क्रममा जबरजस्ती र नियोजित ढंगबाट पाथीभरा बनाइएको अस्वीकार गर्दै, परापूर्वकालदेखि पूजेर ल्याएको ‘मुक्कुमलुङ’को नाम पुनस्र्थापित गर्ने निर्णय गरेको छ ।

उक्त भेलाले श्री लिङखिमको संयोजकत्वमा तत्काल ३० सदस्यीय र बाँकी थरलाई समेट्दै लाने गरी मुक्कुमलुङ संयुक्त संघर्ष समिति गठन गरेको छ । किरात याक्थुङ चुम्लुङ, फुङ्लिङ नगर कार्यसमिति सचिब ज्ञानु फुरुम्बो चरपेले मुक्कुमलुङको ऐतिहासिक, प्राचिन र मुन्धुमी आधारका प्रमाणहरू पेश गरेका थिए । त्यसपछि भेलामा फ्लोर खुल्ला गरिएको थियो । बिभिन्न थरका संस्थागत प्रतिनिधिहरूले सांस्कृतिक अतिक्रमणको बिरोध गरेका छन् ।

उनीहरूले, सेन्छेलुङलाई कञ्चनजंघा, फक्ताङ्लुङलाई कुम्भकर्ण, चमजमलुङलाई सगरमाथा, मुक्कुमलुङलाई पाथीभरा, शेम्सेमलुङ वा शेवालुङलाई मानाभरा आदि, राज्यको एकल जातीय, धार्मिक, सांस्कृतिक, भाषिक र लिपीगत तरिकाले अतिक्रमण गरेको आरोप लगाए ।

त्यस्तै, भेलामा सहभागीहरूले, आइएलओ एक सय ६९ मा सरकारले हस्ताक्षर गर्ने, तर पालना नगरेकोप्रति वक्ताहरूले आपत्ति जनाए । मुक्कुमलुङ संरक्षण समिति, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा, ताप्लेजुङ लगायतले यसअघि नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालयसहित सम्पूर्ण सरोकारवाला निकाय समक्ष ज्ञापनपत्र बुझाइसकेको स्मरण गराउँदै, राज्य र सरोकारवालाले बेवास्था गरेको खण्डमा राष्ट्रिय र अन्तर्राष्ट्रिय न्यायिक बाटो अवलम्वन गर्नुपर्ने सुझाए ।

भेलालाई अडियो सन्देश मार्फत सम्बोधन गर्दै, कृष्ण भट्टचनले नेपालका आदिवासीमाथि शताब्दीऔंदेखि राज्यले एकल भाषा, संस्कृति, धर्म लादेको बताए । उनले, समय आएपछि आफैं ती स्थान र सांस्कृतिक अतिक्रमणहरू वास्तविकतामा आउने धारण राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here