प्रतिबन्धित भारतीय ब्रान्डका रजनीगन्धा र खैनीसहित तीन कारोबारी झापामा पक्राउ

0
984

भद्रपुर ।

नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका रजनीगन्धा र खैनीसहित तीन कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले आइतबार मध्यरातमा उनीहरूलाई मेचीनगर १५ स्थित ज्यामिरगढी नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ बस्ने १९ वर्षीय किरण विश्वकर्मा, मेचीनगर नगरपालिका १५ बस्ने ४० वर्षीय राम सोरेन र सोही ठाउँका ३५ वर्षीय भगन मर्डी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार भारतबाट भन्सार छलेर तस्करीको माध्यमबाट उनीहरूले प्रतिबन्धित रजनीगन्धा र खैनीको कारोबार गर्दै आइरहेका थिए ।

तस्करी भइरहेको सूचनाको आधारमा उनीहरूलाई सामानसहित पक्राउ गरिएको डिएसपी थापाले बताए । प्रहरीले उनीहरूको साथबाट १२०८ पिस रजनीगन्धा, ११० प्याकेट खैनी, ६ कार्टुन सलाई र निलो रङको रेडबुल ७५ डिब्बा बरामद गरेको हो । तस्करीको सामानसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सोमबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको उनले बताए ।

यता भन्सारले बुझेका तीनै जनासँग मङ्गलवार बयान लिने र धरौटी रकम तोक्ने भद्रपुर भन्सारका कर्मचारी विकास दाहालले जानकारी दिए । नेपाली बजारमा भारतीय रजनीगन्धा र खैनीको माग उच्च रहेकोले अहिले सीमा नाकाबाट धमाधम तस्करीको माध्यमबाट यसको कारोबारी भइरहेको छ ।

सीमा नाका सिलसँगै लकडाउनको फाइदा उठाउँदै कारोबारीले स्थानीय प्रहरीको मिलेमतोमा रजनीगन्धा र खैनी भित्राइरहेका छन् । अहिले बजारमा रजनीगन्धा ६० देखि ७० सम्म बिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here