पूर्वी पृतनाले ३४०० जनालाई स्वास्थ्य परीक्षणपछि घर पुर्यायो

0
1090

झापा।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड–१९को सक्रमण रोक्न नेपाली सेनाले उल्लेख्य भूमिका निर्वाह गरेको छ ।

वैदेशिक रोजगार तथा विभिन्न कामका लागि विदेशमा रहेको र विदेशबाट फर्किएकाहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्नेदेखि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने जस्तो कार्यमा नेपााली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हो ।

विदेशमा रहेका तथा अलपत्र परेका र स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित रुपमा स्वदेश ल्याउने, क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण एवम् स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई व्यवस्थापन गर्ने कार्यमा गत जेठ २३ गतेबाट नेपाली सेनाले प्रदेश नम्वर १ मा सो कार्य गर्दै आएको थियो ।

विदेशबाट फर्किएकाहरुलाई घर पुर्याउने कार्यका लागि सूर्य विनायकमा नेपाली सेनाले तयार गरेको होल्डिङ्ग एरियामा आवश्यक दर्ता प्रक्रिया पश्चात प्रदेश नं. १ले व्यवस्थापन गरेको यातायातको साधनद्वारा तयार गरिएका विभिन्न ३ वटा रुटबाट उनीहरुलाई सुरक्षित रुपमा घर पुर्याइएको बताइन्छ । जसमा सोलुखुम्बु, खोटाङ्ग र ओखलढुंगा पहिलो रुट, झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग दोश्रो रुट तथा बाँकी रहेका जिल्लाहरु तेश्रो रुटमा लैजाने व्यवस्था गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रदेश नं. १ले सञ्चालनमा ल्याएको सुनसरीको चतराधामस्थित होल्डिङ्ग एरियाको सञ्चालन नेपाली सेना पूर्वी पृतना हेडक्वाटर अन्तर्गत कालीशक्ति गण (इञ्जिनियर) ले गर्दै आइरहेको बताइएको छ । प्रदेश नं. १ अन्तर्गत विभिन्न जिल्लाका कूल ३ हजार ४ सय ७६ जनालाई स्वास्थ्य परीक्षण गरी घर पुर्याइएको छ । जसमा महिला ७ सय ७८ र पुरुष दुई हजार ६ सय ९८ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here