झापा।
नेपाली कांग्रेसका सभापति उद्वव थापाले नेपाली राजनीतिमा दृढनिश्चयी, निडर उच्च मनोवल भएको नेताको आवश्यकता रहेको औंल्याउनुभएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा जी.पी. फाउण्डेशन झापाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सभापति थापाले संसद पुनस्र्थापना, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय गिरिजाप्रसाद कोइरालाका महत्वपूर्ण र दूरगामी निर्णय भएको बताउनुभयो ।
‘एकातिर माओवादीको बन्दुक, अर्कातिर राजाको बन्दुक, दोहोरो बन्दुकको मारमा जनता बाच्न सक्ने अवस्थामा थिएनन्’–नेता थापाले भन्नुभयो–‘त्यसवेला संसद पुनस्र्थापनाको कल्पना कसैले गरेको थिएन । तर गिरिजाबाबुले संसद पुनस्र्थापनाको कुरा उठाउनुभयो, पुनस्र्थापना गरेरै देखाउनुभयो ।’
कोरोना कहर रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै उहाँले ३३ किलो सून, फोरजी सेवा, एनसेल कर, सञ्चारमन्त्री–स्वास्थ्यमन्त्रीको घुसकाण्डले सरकारको असफलता प्रष्ट पार्ने धारणा राख्नुभयो । भ्रष्टचारीको संरक्षण, एक्लै अघि बढ्ने हठ, गुठी विधेयक, राजनीतिक दलसम्बन्धी विधेयक, सञ्चार विधेयक, अवैधानिक तवरबाट संसद स्थगनजस्ता विषयले के.पी.ओली असफल भइसकेको उहाँको टिप्पणी थियो ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा कार्यक्रमका विशेष अतिथि पूर्णानन्द शर्माले राजनेतामा हुने असल चरित्र गिरिजाप्रसाद कोइरालामा रहेको चर्चा गर्दै जस्तोसुकै संकटमा पनि देश र जनताका लागि हित हुने दूरगामी निर्णय लिने अद्भुत क्षमता उहाँमा रहेको चर्चा गर्नुभयो ।

‘गिरिजाप्रसाद कोइरालाको पालामा देश र जनताका लागि अति महत्वपूर्ण कामहरु भए, संसद पुनस्र्थापना, सहमति, सहकार्य र एकतामार्फत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, संवैधानिक राजतन्त्रको अन्त्य अत्यन्तै महत्वपूर्ण निर्णय थिए’–शर्माले भन्नुभयो–‘तर पार्टीभित्र अन्तर्घात गर्ने कुसंस्कार पनि कोइरालाकै पालामा शुरु भयो । अब त्यस कुसंस्कारको अन्त्य कार्यकर्ताले गर्नुपर्छ ।’
नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले गिरिजाप्रसाद कोइरालालाई भेट्दा छुट्टै ऊर्जा प्राप्त हुने बताउँदै कोइरालाले अनुशरण गरेको बाटोमा अहिलेको राजनीति नचलेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल, नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीलगायतले शुभकामना मन्तब्य राख्दै गिरिजाप्रसाद कोइरालाले बोलेको कुरा गरेरै पु¥याउने गरेको उल्लेख गर्नुभयो । अहिलेका प्रधानमन्त्रीको बोलेको केही पनि कुरा पूरा नगर्ने प्रवृत्तिले देशमा भ्रष्टाचार मौलाएको वक्ताहरुको धारणा थियो ।
जी.पी. फाउण्डेशन झापाका अध्यक्ष बुद्धि न्यौपानेको अध्यक्षता र सचिव महेन्द्र भटराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत दिपक काफ्लेले गर्नुभएको थियो ।

























