३३ किलो सुन प्रकरणमा रेड नोटिस् जारी गरिएका खड्का विमानस्थलमा पक्राउ

0
594

काठमाडौं,

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीको मुख्य योजनाकारमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले हरिशरण खड्कालाई नियन्त्रणमा लिएको हो। युएईको अबुधाबीबाट नेपाल आएको जानकारी पाएपछि उनलाई अध्यागमनले नियन्त्रणमा लिएको हो।

प्रहरीले खड्कालाई रेड कर्नर नोटिसमा राखेर खोजी गरिरहेको थियो। शनिवार चार्टर फ्लाइटबाट नेपाल आएका उनलाई विमानस्थलमा पक्राउ गरिएको हो। ‘यही नाम गरेको मानिसलाई नियन्त्रणमा लिएका छौं। हामीले प्रहरीलाई बुझाएका छौं। तर उहाँका अभियोग के के हो थाहा भएन,’ त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख सागर आचार्यले भने। उनलाई आज बिहान १० : ४० बजे युएईको अबुधाबीबाट हिमालयन एयरलायन्सको चार्टर फ्लाइटबाट आउने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करीबीच विवाद भएपछि ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकएक घटनाका प्लटहरु बाहिरिएका थिए।

यही घटनामा प्रहरीको समेत संलग्नता देखिएको भन्दै एसएसपीसम्म लाई कारबाही गरिएको थियो। तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती ‘गोरे’लाई २०७५ जेठमा पक्राउ पछि सार्वजनिक गरिएको थियो। उनी अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्।

करिव १४ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका खड्का सुन तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखाएको थियो।उनी यसअघि केन्द्रीय अनुसन्धान व्यूरो ( सिआईबी)को टोलीले २०७३ पुस २१ गते विमानस्थल बाहिरबाट बरामद गरेको ३३ किलो सुन प्रकरणमा मुख्य योजनाकार भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।-पहिलोपोष्टबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here