भँडारेघाट लिफ्टिङ खानेपानी योजनाको काम अन्तिम चरणमा

0
346

खोटाङ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भँडारेघाटमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ । पिउने पानी तथा सिँचाइ गर्न आवश्यक पानीको अभाव रहेको भँडारेघाटमा नदीको पानी गाउँमा तान्न गाउँपालिकाले लिफ्टिङ योजना अघि सारेको हो ।

सुनकोशीको पानी भँडारेघाटको सिरानमा निर्माण गरिएको ४० हजार क्षमताको रिजर्भ ट्याङ्कीमा जम्मा गरेर घरघरमा वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको शुरु गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

“गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा विनियोजन गरेको रु ३० लाख बजेटबाट शुरु गरिएको खानेपानी योजनामा सुनकोशीको पानी बस्तीको सिरानमा बनाइएको रिजर्भ ट्याङ्कीसम्म निकालिएको छ”, उहाँले भन्नुभयो, “अब विद्युत् जडान र वितरण लाइनको काम सम्पन्न गरेर घर–घरमा पानी पु¥याउने काम बाँकी छ ।”

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने भण्डारेघाटमा बढ्दो बजारीकरणलाई ध्यानमा राखेर लिफ्टिङ योजनामार्फत पानीको व्यवस्थापनको काम शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “आर्थिक वर्ष २०७७÷७८ मा वितरण लाइन, विद्युतीकरणलगायतका काम पूरा गरेर घरघरमा पानी वितरण गरिनेछ”, उहाँले भन्नुभयो, “अधिकांश माझी समुदायको बसोबास रहेको भँडारेघाटमा शुरु गरिएको लिफ्टिङ योजनाले स्थानीय ६० घरभन्दा बढी स्थानीयवासी लाभान्वित हुनेछन् ।”

सुनकोशीबाट आठ इन्चको पाइपमार्फत रिजर्भ ट्याङ्कीमा पानी निकालेर वितरण गर्ने तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गाउँमा निकालिएको पानीलाई पिउनका साथै सिँचाइको काममा उपयोग गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । केही मिनेटको दूरीमा रहेको सुनकोशीमा कलकल पानी बगिरहँदा केही माथि रहेको भँडारेघाटमा पानीको अभाव चर्किँदो छ । अहिले भँडारेघाटका स्थानीय बासिन्दा बतासेकै हमारा भन्ने स्थानको पानी ल्याएर जीवन निर्वाह गरिरहेका छन् ।

पानी अभावमा कतिपय स्थानीयवासी नदीकै पानी पिउन बाध्य छन् । बतासेकै कालापानीमा सुनकोशीको पानी निकाल्ने योजना सम्पन्न भएको अवस्थामा भँडारेघाटमा पनि पम्पिङ योजनाको काम शुरु गरिएको हो ।

यसैबीच सिँचाइको व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको टारगाउँमा सुनकोशीको पानी निकाल्न लिफ्टिङ योजना शुरु गरिएको छ । सिँचाइ गर्ने पानीको अभाव पूर्तिका लागि नगरपालिकाले रु ६३ लाख बजेट विनियोजन गरेर सुनकोशी टारगाउँ डिकुवा लिफ्ट सिँचाइ योजना शुरु गरेको हो ।

टारगाउँस्थित ३५ घरका २५० रोपनी जग्गामा सिँचाइ सुविधा विस्तार गर्न लिफ्टिङ योजना शुरु गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “खेतीयोग्य जमीन रहेको टारगाउँमा कुनै पनि स्रोत नभएकाले सुनकोशीको पानी लिफ्ट गरेर किसानको जमीन सिञ्चित गर्ने विकल्प अघि सारेका हौँ”, उहाँले भन्नुभयो, “टारगाउँमा सञ्चालित योजनालाई हामीले गौरव र नयाँ प्रयोगका रूपमा समेत लिएका छौँ ।”

चारैतिर दूधकोशी र सुनकोशीले छोएको नगरपालिकाको तटीय क्षेत्र महादेवबेँसी, खोक्सेलीबेँसी, घोपाटार, बाइटार, डिकुवा, भाडबेँसीलगायतका स्थानमा समेत पानी लिफ्ट गरेर सिँचाइ विस्तार गर्ने सम्भाव्यताको अध्ययन भइरहेको नगरप्रमुख राईले बताउनुभएको छ । घोपाटारमा लिफ्ङि योजनाको सफल प्रयोग भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here