नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने गिरोह झापामा पक्राउ

0
2677

झापा।

कोराना भाइसरका कारण नेपाल भारत सीमा नाका बन्द रहेपनि भातीय नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको तथ्य खुलेको छ ।

झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने गिरोह पक्राउ परेसंगै अहिले पनि नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको विशेष टोलीले एक लाख ४४ हजार नक्कली भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई शनिबार राति कनकाई नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको र आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ बर्षीय मौसम श्रेष्ठ, कनकाई नगरपालिका ४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका ५ निवासी २४ वर्षीय एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका रहेका छन् । गत शनिबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार नै छापा मारेको जनाएको थियो ।

श्रेष्ठका घरबाट पाँच सय दरका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली नोट एक हजारका ४ र पाँच सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैंयामा १५देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ ।

लकडाउनको समयमा प्रहरीले यस तर्फ ध्यान नदिने भन्दै मौका छोपेर कारोबार गरेको हुन सक्ने प्रहरीको आशंका छ । ५०० र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाए पनि अझै नेपालमा भने यसको कारोबार हुने गरेको पाइएको छ ।

झापा सीमावर्ती जिल्ला भएको र यहाँ गाँउ तथा शहरमा लुकिछिपि यसको कारोबार हुने गरेका छ । पक्राउ परेका तीनै जनालाई खोटाचलनसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here