अवैध गतिविधि रोक

0
828

सम्पादकीय

कोरोना भाइरससँगै बाढीपहिरोले सबैको ध्यान तानिरहेका बेला झापाको कन्काई नगरपालिकाबाट नक्कली नोटको कारोबारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले भारतीय नक्कली रुपैयाँ एक लाख चालीस हजारसहित कनकाई नगरपालिकाका मौसम श्रेष्ठ, खुर्सेद आलम र झापा गाउँपालिकाका एराजुल हकलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये श्रेष्ठ सुरुङ्गाका सुनचाँदी व्यवसायी हुन् । उनीहरु मध्ये आलमले पाँच सय रुपैयाँ दरको भारतीय नोटको कारोबार गरेका थिए । त्यही नोटका आधारमा प्रहरीले सुन व्यवसायी श्रेष्ठको घरमा लुकाएर राखिएको नक्कली नोट बरामद गरेको थियो ।

सरकारले पाँच सय र एक हजार रुपैयाँ दरको भारतीय नोट प्रतिबन्ध लगाएको छ । तर, नेपालका शहर बजारमा भने लुकिछिपी ती दरका नोटहरु कारोबारमा रहेका छन् । त्यही आधारमा प्रहरीले विशेष सूचनाको आधारमा नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको बताइन्छ । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय अनामरनीले खोटा चलन सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ । बरामद भारतीय नोटमध्ये केही नोटमा एउटै नम्बर रहेको प्रहरीले जनाएको छ । नक्कली नोटको यो परिमाण झापामा सम्भवतः पहिलो हो । यसले नक्कली नोटको कारोबार व्यापक रहेको हुनसक्ने देखाएको छ ।

देश अहिले असामान्य परिस्थितिबाट गुज्रिदैँछ । कोरोनाले समाज, अर्थ व्यवस्था र जनजीवन पूर्णतः प्रभावित भएको छ । यही समय वर्षाले हिमालदेखि तराईसम्मका जिल्लाहरु अस्तव्यस्त भएका छन् । कोरोनाभन्दा दुई गुणा बढी मानिसको पहिरोमा परेर निधन भएको छ भने बेपत्ता हुनेको संख्या अझ धेरै छ । सयौं परिवार पहिरो कै कारण विस्थापित भएका छन् भने पशु चौपायको समेत क्षति भएको छ । यही प्राकृतिक विपद्को सामना गरिरहेका बेला राजनीतिक तरंगले अर्को मानव निर्मित समस्या उत्पन्न भएको छ । जसका कारण प्राकृतिक विपदामा सरकारको सक्रिय र प्रभावपूर्ण उपस्थिति हुन सकेको छैन ।

शान्ति सुरक्षाको जिम्मेवार निकाय भनेको गृहमन्त्रालय र उसको मातहत रहेको प्रहरी संगठन हो । प्राकृतिक विपद्का घडीमा सुरक्षा संयन्त्र सम्पूर्णरुपले उद्धार तथा राहतका संलग्न हुनपर्छ । कोरोना कहरमा पनि त्यही संगठन अग्रपंक्तिमा छ भने थपिएको वर्षाका कारण उत्पन्न विपद्मा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुन् । यही कहरलाई मौकाका रुपमा उपयोग गर्ने समूह जहाँसुकै हुनसक्ने यिनको पक्राउले संकेत गरेको छ । नेपाल–भारत सीमानाका बन्द रहेको बेला भारतीय नक्कली नोटको कारोबार हुनुले ती नेपालमै छापिएको हुनसक्ने देखिन्छ । होइन भने सीमा बन्द हुँदा कसरी भारतीय नोट नेपाल ल्याइए ? प्रहरीका लागि चुनौति बनिएको छ । त्यसैले पनि प्रहरीको सक्रियता र पहुँच बढ्नुपर्ने यो घटनाले प्रमाणित गरेको छ । नक्कली नोटका कारोबारीबाट थप तथ्य अनुसन्धानले खोल्ने नै छ । तर, चेतावनी र चुनौति दुबैको सामना गर्दै अवैध गतिवधि गर्नेहरुलाई कानूनको दायरामा ल्याउनै पर्छ । यसले मात्र प्रहरीको साख र धर्मको रक्षा गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here