आधुनिकतामा संस्कृत शिक्षाको महत्व

0
1365

गीता निरौला भण्डारी,

हिमवत्खण्डमा हिमालयका धवल श्रृंखलाका काखमा, प्रकृतिको अनुपम सौन्दर्ययुक्त सुन्दर शान्त र पवित्र वातावरणमा बसेर हाम्रा ऋषिमुनिहरूले कठोर तपस्याद्वारा वेदका मन्त्र देखे र सुने । यी देखे सुनेका मन्त्रलाई लिपीबद्ध गर्न उनीहरूलाई यस्तो भाषाको आवश्यकता भयो जसले मन्त्रको शक्ति र शुद्धतालाई बहन गर्न सकोस् । जुन सर्वसाधारणको पहुँचमा सजिलै पुग्न सकोस् । यसका लागि उनीहरूले आफूले प्राप्त गरेको देववाणीलाई नै परिष्कृत गरे । त्यसलाई ब्याकरणका शुत्रमा आबद्ध गरी सरल बनाए ।

यहीँ हिमालय क्षेत्रको पवित्र भूमिमा बसेर अथक साधनाद्वारा आफूले देखे सुनेका मन्त्रलाई उक्त परिष्कृत भाषामा लिपिबद्ध गरी थुप्रै ग्रन्थ तयार पारे र तिनमा वैज्ञानिक शोध, अनुसन्धान, इञ्जिनियरिङ, वास्तु, ज्योतिष, खगोल, राजनीति, अर्थ, साहित्य र दर्शन जस्ता अनेकौं विधाहरूको ज्ञान प्रशस्त पोखी दिए । यिनै ग्रन्थमध्येको सबभन्दा प्राचीनग्रन्थ ऋग्वेद आज संसारकै सबभन्दा प्राचीनग्रन्थ र संस्कृतभाषा सबभन्दा प्राचीनभाषा प्रमाणित भएको छ । हिमालयक्षेत्रमा अवस्थित विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको हाम्रो देश नेपाल त्यो पवित्र भूमि मध्येको एक हो, जहाँबाट ज्ञानको मूल फुटेर निस्केका अजस्र ज्ञानधाराले विश्वलाई नै सिञ्चित गरिरहेका छन् ।

संस्कृतको अर्थ नै संस्कार गरिएको, शुद्ध पारिएको, परिमार्जन गरिएको, संशोधित, अलंकृत भन्ने हुन्छ । त्यसैले परिष्कृत गरिएकोले देवभाषालाई संस्कृत भनिएको हो । यो माधुर्य र लालित्यले भरिपूर्ण छ । यो अति शुद्व र वैज्ञानिक छ । यो ब्रह्माण्डमा व्याप्त ध्वनिमा आधारित छ । संस्कृतका विद्वानहरूका अनुसार ब्रह्माण्डबाट निस्कने १०८ ध्वनीमा संस्कृतको वर्णमाला आधारित छ । यसमा अथाह शब्द भण्डार छ र थोरै शब्दमा अनन्त अर्थ समेट्न सक्ने वाक्य गठनको क्षमता छ । संस्कृत बोल्दा र लेख्दा एउटै संरचना हुने भएकोले यसमा द्विअर्थी वाक्य हुँदैन । सबभन्दा महत्वपूर्ण कुरा त यसमा लेखिएका ग्रन्थहरूमा सृष्टिको रहस्यदेखि आधुनिक टेक्नोलोजीसम्मका सम्पूर्ण ज्ञान निहित छ । यिनै ग्रन्थका आधारमा पूर्वीय सभ्यताबाट विश्वले शून्य अंक प्राप्त ग¥यो । यसपछि मात्र नौ अंकमा सीमित रहेको गणितले पूर्णता पाएको हो ।

आज विज्ञानका हरेक चमत्कारमा शून्यले महत्वपूर्ण भूमिका खेलेको छ । अहिले आएर अन्तरिक्ष सम्बन्धी खोज अनुसन्धान गर्ने केन्द्र (नासा)ले ब्रह्माण्डको ध्वनि पत्ता लगाएको छ र यो ध्वनि संस्कृतको अति शक्तिशाली मन्त्र ॐसँग मिल्दोजुल्दो भएको बताएको छ । नासाले संस्कृतको महत्व बुझेर यस सम्बन्धी अध्ययन अनुसन्धान अघि बढाएको छ । थोरै शब्दमा वाक्य बन्ने, द्विअर्थी वाक्य नहुने र ध्वनीमा आधारित भएकोले आउँदा दिनमा अन्तरिक्षमा कुनै पनि सन्देश पठाउनका लागि सबभन्दा उपयोगी भाषा संस्कृत हुनसक्ने अनुमान नासाका वैज्ञानिकहरूले गरेका छन् र यसको लागि विभिन्न खोज अनुसन्धान भइरहेका छन् । उनीहरूले भविष्यमा कम्प्युटरको भाषा संस्कृत हुने प्रवल सम्भावना रहेको बताएका छन् ।

विद्वानहरूका भनाइ अनुसार संस्कृत सबै भाषाको जननी हो । संसारका धेरै भाषाको नसा संस्कृतसँग जोडिएको हुनाले यसलाई विश्वभाषा मान्न सकिन्छ । संस्कृतको महिमा बुझेका पश्चिमाहरूले संस्कृत शिक्षाबाट ज्ञान आर्जन गर्नका लागि थुप्रै विश्वविद्यालयहरू स्थापना गरेका छन् । हाल विश्वमा ४० देशका दुई सय ५४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ । जर्मनीमा मात्रै १४ वटा विश्वविद्यालय तथा धेरै विद्यालयहरूमा संस्कृत पढाइन्छ । अमेरिकामा पनि केहीँ विश्वविद्यालयहरूमा संस्कृत अध्ययन अध्यापनको कार्य हुने गरेको छ । यस्तै अरू धेरै देशका विश्वविद्यालयहरूमा पनि संस्कृतको पठनपाठन भइरहेको छ । पश्चिमाहरूले हाम्रा ग्रन्थको अध्ययनबाट खगोल, गणित, वैज्ञानिकशोध तथा अनुसन्धान जस्ता विषयहरूको ज्ञान हाँसिल गरी त्यसलाई सूचना, प्रविधि र अनुसन्धानमा प्रयोग गरेर एकपछि अर्को अभुतपूर्व सफलता प्राप्त गरिरहेका छन् । हाम्रै ग्रन्थका अध्ययनबाट प्रभावित भएर धेरै कवि, साहित्यकार तथा दार्शनिकहरूले आ–आफ्ना क्षेत्रमा यसको प्रयोग गरेर ख्याती प्राप्त गरेका छन् र संस्कृत साहित्यको व्यापकताको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

तर, दुःखका साथ भन्नुपर्छ हामी यति भाग्यमानी भएर पनि, यिनै ऋषिमुनीका सन्तान भएर पनि यो विशाल ज्ञानको भण्डारको स्रोतमै बसेर पनि यो गौरवगाथा गाउनु शिवाय अहिले हामीसँग केहीँ छैन । हामी रित्तो भएका छौं । हामीले संस्कृतको विराटता र वैज्ञानिकतालाई बुझ्नै सकेनौं । संस्कृतलाई धर्मसँग मात्र जोडेर यसको व्यापकतालाई साँघुरो बनाइदियौं । पश्चिमी सभ्यताको चकाचौंधमा फसेर हामीले यो ज्ञानको भण्डारको उपेक्षा ग¥यौं र यसलाई बिस्तारै छोड्दै गयौं । नेपालमा लिच्छिविकालसम्म आइपुग्दा पनि संस्कृतभाषाको अत्यधिक प्रचलन रहेको पाइन्छ । लिच्छविकालका सबै अभिलेखहरू संस्कृतमै लेखिएका छन् । मल्लकालमा पनि यसको स्थिति मजबुत नै देखिन्छ ।

त्यसपछि समाजमा बिस्तारै अन्य भाषाहरू जन्मिँदै गए र संस्कृतलाई प्रतिस्थापन गर्दै गए । राणाशासनकालसम्म आइपुग्दा संस्कृत निकै कमजोर बन्न पुग्यो । यद्यपि राणाहरूले ठाउँ–ठाउँमा संस्कृत विद्यालयहरू खोलेका थिए । तर, यसले कर्मकाण्ड बाहेक खासै उपलब्धि दिलाउन सकेन । २८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि सरकारका तर्फबाट संस्कृत शिक्षाका लागि कुनै महत्व दिइएन जसले गर्दा कुनै–कुनै विद्यालयमा ऐच्छिक विषयको रूपमा र गुरूकुलहरूमा मात्र यो सिमित भयो र झन्–झन् ओझेलमा प¥यो । २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना त भयो । तर, यसले पनि संस्कृतको ज्ञानपक्षलाई उजागर गर्न सकेन ।

माओवादी जनयुद्ध शुरू भएयता त झन् संस्कृत विद्यालयहरूमा नियोजित आक्रमण गरी त्यसलाई ध्वस्त बनाउने काम नै शुरू भयो । संस्कृत शिक्षा कै कारण जातपात छुवाछुत जस्ता कुप्रथा जन्मिएको हो, संस्कृत भनेको बाहुनहरूको मागीखाने भाडो हो, यो मरिसकेको भाषा हो भन्ने दुष्प्रचार गरियो र संस्कृत पढने पढाउनेमाथि शत्रुको व्यवहार गरियो । फलस्वरूप २०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातान्त्रिक सरकारले सरकारी स्तरमा पढाइहुने सम्पूर्ण संस्कृत पाठ्यक्रमलाई नै खारेज गरिदियो । त्यसपछि केहीँ गुरूकुलहरूमा मात्र संस्कृत पढाइ हुन थाल्यो जसले संस्कृतलाई बेहोसी अवस्थामा भएपनि जिवित राख्ने काम ग¥यो ।

अन्तर्राष्ट्रिय जगतमा संस्कृतको महत्वले तरंग पैदा गरेपछि नेपालमा जनस्तरबाट संस्कृतप्रति चासो देखाउन थालिएको छ । युवाहरू संस्कृततर्फ आकर्षित हुन थालेका छन् । अनलाइन कक्षाको माध्यमबाट संस्कृत सिकाउन थालिएको छ । सरकारले पनि संस्कृत शिक्षालाई पुनः स्वीकृति प्रदान गरेको छ र कक्षा १ देखि ८ सम्म आधारभूत तहको पाठ्यक्रम निर्माण गरेको छ । तर, यसलाई अनिवार्य भने गरेको छैन । अन्य मातृभाषाका पाठ्यक्रम निर्माण गर्ने क्रममा संस्कृतलाई पनि एउटा भाषाको रूपमा समावेश गरी ऐच्छिक बनाएको छ । विश्वले संस्कृतलाई खोज अनुसन्धानको विषय बनाइरहेको बेला संस्कृत शिक्षाले पुनः प्रवेश पाउनुलाई सकारात्मक लिनुपर्छ । यसले संस्कृतको महत्व बुझेका र संस्कृतलाई प्रेम गर्नेहरूमा खुशीको सञ्चार गरेको छ ।

हामी नेपालीहरूको त मूल नै संस्कृत हो । हामीले ज्ञानका लागि विगतमा लेखिएका शास्त्र पुराण पढ्नमात्र होइन आफ्नो इतिहास जान्न पनि संस्कृत जान्न आवश्यक छ । राष्ट्रिय अभिलेखालयमा रहेका धेरैजसो अभिलेखहरू संस्कृत मै रहेका छन् । बुद्धका देशका हामीले बुद्धलाई जान्नका लागि पनि संस्कृत जान्न आवश्यक छ । बुद्ध धर्मका ग्रन्थहरू पनि प्रायः संस्कृतमै लेखिएका छन् । नेपालका सबै मातृभाषाको जननी संस्कृत भएकाले यिनको शुद्धताको लागि पनि संस्कृत अति आवश्यक छ । आफ्ना सन्तानलाई संस्कारी र नैतिकवान बनाउन पनि संस्कृत सिकाउन जरुरी छ । अहिलेको स्वार्थी र संकुचित सोच भएको समाजमा आफ्ना सन्तानलाई (बसुधैव कुटुम्बकम) र (विश्व बन्धुत्व) को अर्थ बुझाउन पनि संस्कृत आवश्यक छ ।

अब त झन् नासाले नै संस्कृतको महत्वलाई स्वीकारिसकेको अवस्थामा भविष्यमा प्रविधिमैत्री हुन र अन्तरिक्षको अध्ययनमा सहभागी हुन समेत संस्कृत जान्न अत्यावश्यक भइसकेको छ । यस परिप्रेक्षमा आशा गरौँ ज्ञान विज्ञानमा संस्कृतको महत्व र उपादेयतालाई ध्यानमा राखी आउँदा दिनहरूमा सरकारले आफूले चालेको यो सानो कदमलाई अझ फराकिलो बनाउने छ र संस्कृतको उद्गमस्थलकै बासिन्दाद्वारा विश्वलाई संस्कृत सिकाउने वातावरण तयार पार्नेछ । कामना गरौँ जनस्तरबाट पनि उत्साहका साथ संस्कृत शिक्षाको माग बढ्ने छ र संस्कृत आउँदा दिनहरूमा कक्षा १ देखि विश्वविध्यालयसम्म कै अनिवार्य विषयमा गनिने छ । अस्तु । जयतु संस्कृतम् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here