चालकको स्वास्थ्यजाँच बिनै मालबाहक सवारी नेपाल भित्रिँदै

0
1086

भद्रपुर।

सम्बद्ध निकायकै लापरबाहीले झापाको भद्रपुर नाकाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायमा फैलिने जोखिम बढेको छ ।

सम्बन्धित निकायले भद्रपुर नाकामा स्वास्थ्य चेक जाँचसहित भारतबाट आउने सवारीसाधनलाई स्यानिटाइजर गर्ने उपकरण जडान नगर्दा यस नाकाबाट कोरोना भाइरसको संक्रमण फैलिने र भित्रिने जोखिम बढेको हो ।

सीमा नाकाबाट आवतजावतमा रोक लगाएको सरकारले भन्सार आयात निर्यात खुलाएसँगै भद्रपुर भन्सार कार्यालयमा दिनहुँ भारतीय नम्बर प्लेटको गाडीमा सरसामान धमाधम भित्रिरहेको छ । तर, भारतको संक्रमित क्षेत्रबाट आउने सवारीसाधन र सरसामानलाई स्यानिटाइजर नगर्नु र चालकसहित गाडीमा आउने मजदुरको स्वास्थ्य परीक्षण नगर्नु जस्ता लापरबाही भद्रपुर नाकामा देखिएको छ । नेपालतर्फका प्रहरी, प्रशासन र भन्सार कर्मचारीसमेत भारतकै भर परेका छन् । अहिले भारतको पश्चिम बङ्गालस्थित शिलगढी र विहारबाट सरसामान आइरहेको छ । ती दुवै राज्यमा कोरोना संक्रमण समुदायमा फैलिसकेको छ । त्यहींबाट सरसामान लोड भएर आउने गरेको व्यापारीहरू बताउँछन् ।

भारतको विहारस्थित गलगलिया नाकामा त्यहाँका स्वास्थ्यकर्मीले चेकजाँच गरेकै आधारमा सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न दिइरहेका छन् । यो सरासर गलत भइरहेको स्थानीयले बताउँदै आएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले बजेट नै छुट्याएको छ । तर, सीमा नाकामा प्रहरीलाई खटाउनुबाहेक अरू कुनै स्वास्थ्य सुरक्षाको उपाय सम्बन्धित निकायले अपनाएको देखिँदैन । व्यापारी तथा कारोबारीले भारतबाट सरसामान भित्र्याएर कारोबार गर्न पाइरहेका छन्, भने भन्सार कर्मचारी राजश्व उठाउने काममा मात्र व्यस्त देखिन्छ । उनीहरूले पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि केही स्वास्थ्य सतर्कता अपनाएको देखिँदैन ।

यसैबीच भद्रपुर भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले भारतबाट सरसामान भन्सारमा आइरहेको बताएका छन् । सीमा नाकामा भन्सार कार्यालयले सरसामानसहित आउने गाडीको स्यानिटाइजर नगरेको बताउँदै भन्सार प्रमुख खतिवडाले भने– भारतको गलगलियामा स्यानिटाइजर गरेकै भरमा सरसामानसहित गाडी आइरहेका छन् । भन्सार गेटमा हात धुने साबुन पानीबाहेक अन्य कुनै सजगता नअपनाएको उनले स्वीकार गरे । त्यस्तै वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीका अनुसार सीमा नाकामा पहिला भद्रपुर नगरपालिकाले स्वास्थ्यकर्मीको टोली खटिएको थियो । तर अहिले कुनै स्वास्थ्यकर्मी खटिएका छैनन् ।

भारतबाट आउने गाडी सोझै भन्सारमा पठाउने गरेको र सामान अनलोड गरी तुरुन्त फिर्ता पठाउने गरेको उनले बताए । सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले भद्रपुर नाकामा खटाएका सशस्त्र प्रहरी निरीक्षक विभु दाहालले भने– म भर्खरै यहाँ आएको हुँ, म आउँदादेखि नै सामानसहित गाडीहरू भन्सार आइरहेका छन् । गाडी, सामान र चालकको नेपालतर्फ कुनै स्वास्थ्य चेकजाँच भएको छैन ।

दूरी कायम नगरी जाँचबुझ

भद्रपुर भन्सार कार्यालयमा आउने सरसामानमध्ये सबैभन्दा बढी लत्ताकपडा हुन् । झापामा यो भन्सारबाहेक अन्य नाकाबाट लत्ताकपडा भित्रिएको रेकर्ड पनि छैन । त्यसपछि मात्र अरू आवश्यक सामान आउने गरेको छ ।

ठूलो सङ्ख्यामा भित्रिने लत्ताकपडाको पोकाहरू भन्सार कर्मचारीले जाँचबुझ गर्दा कर्मचारी र कारोबारी कसैले सामाजिक दूरी कायम गरेको देखिँदैन । उनीहरूले मास्कसमेत लगाएका हुँदैनन् ।

एउटै ठाउँमा सामानको पोका छरपस्ट पारेर भीड गरेर कर्मचारीहरूले सामान हतारमा जाँचबुझ गर्दै आएका छन् । यसले राजश्व पनि चुहावट भइरहेको स्रोतले आशंका गरेको छ ।

काँकरभिट्टाबाट भित्रिएका सवारीसाधन भद्रपुर पठाउन थाल्यो

काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका सवारीसाधनलाई पश्चिम बङ्गाल सरकारले पुनः त्यही नाकाबाट जान नदिएपछि केही व्यापारीले सेटिङ मिलाएर भद्रपुर नाकाबाट पठाउन थालेका छन् । काँकरभिट्टा नाकाबाट भित्रिएका गाडी यसअघि विराटनगर– जोगबनी नाकाबाट भारत गइरहेका थिए ।

व्यापारीलाई ढुवानी खर्च बढी लाग्ने भएपछि सेटिङ मिलाएर सोमबारदेखि भद्रपुरबाट पठाउन थालेको व्यापारी स्रोतको दाबी छ । एक व्यापारीले भने– ‘एक त सीमा नाकामा कुनै स्वास्थ्य सुरक्षाको उपाय अपनाइएको छैन, त्यसमाथि गाडीहरू पनि भारत पठाउने थाल्यो, यसले कोरोना फैलिने जोखिम झन् बढ्यो ।’

भद्रपुर–गलगलिया नाकाबाट भित्रिने सरसामानका गाडी भद्रपुर भन्सार कार्यालयसम्म मात्र आउने अनुमति दिने झापाका प्रहरी प्रशासनले काँकरभिट्टाबाट प्रवेश गरेका गाडी किन पठाउन थाल्यो । यस विषयमा सम्बन्धित निकाय किन मौन छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here