कोरोनासँगै करको मार

0
610

सम्पादकीय

कोरोना भाइरसजन्य संकटले देशको नियमित जीवन अस्तव्यस्त भएको छ । यसले देशको जीवन सञ्चार गर्ने व्यापार–व्यवसाय, यातायात, उद्योग–धन्दा, कृषिजन्य उत्पादन र वितरण लगायतका आयमूलक कार्य अवरुद्ध भएका छन् । त्यस्तै ज्याला मजदुरी गरेर बिहान बेलुका चुल्हो बाल्ने वर्गको दैनिकी अत्यन्त कष्टकर भएको छ । महामारी रोकथामको प्रभावकारी उपाय भन्दै विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार गरिएको बन्दाबन्दीले देशको गति नै ठप्प हुँदा अर्थतन्त्र नै कमजोर हुन पुगेको छ । निम्न तथा मध्यम वर्गीय परिवार बन्दीका कारण बाँच्नकै लागि संघर्षरत् छ भने उपल्लो वर्ग साख जोगाउन र ‘लिक’ बाहिर गएको दैनिकीलाई नियमित गर्न प्रयत्नरत् छ ।

श्रमिक हुन् वा किसान, व्यापारी हुन् वा उद्योगी अथवा कर्मचारी वा आम जनता सबै कोरोनाका कारण उत्पन्न पीडाले आहत छन् । सबैको अभिभावकका रुपमा रहेको सरकारले यस्तो संकटको समयमा अभिभावकीय भूमिका निर्वाह गर्न सकेको छैन । उद्योगी–व्यापारीहरु बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न नसकेर हैरान छन् भने समयमा ब्याज तिर्न नसक्दा तिनले दिएको मानसिक यातनाले पीडित छन् । सरकार तिनको संरक्षण गर्नेतर्फ गम्भीर नभएको मात्र होइन सहानुभूति प्रकट गर्न पनि सकिरहेको छैन । बन्दव्यापारदेखि औद्योगिक प्रतिष्ठानहरु झण्डै चार महिनादेखि बन्द छन्, त्यहाँ कार्यरत मजदुर तथा कर्मचारी र तिनका आश्रित परिवारले बन्दको कस्तो पीडा भोगिरहेका छन् त्यसतर्फ सरकारको ध्यान गएकै छैन । किसानले ऋण लिएर गरेको कृषि व्यवसाय ठप्प हुँदा तिनलाई जोगाउने, आशा जगाउने र भरोसा दिने काम भएको छैन ।

होटल, पर्यटन, सवारी, निर्माण तथा अन्य पेशागत व्यवसायीहरु पनि बन्दाबन्दीको मारमा छन् । लाखौं, करोडौं ऋण लिएर सञ्चालन गरेका व्यवसाय बन्द हुँदा ऋणको बोझ एकातर्फ थामिनसक्नु भएको छ भने अर्कातर्फ भौतिक तथा मानसिक कष्ट उत्तिकै छ । उनीहरुलाई राज्यका तर्फबाट न सहयोग भएको छ न त संरक्षण, न कुनै राहत प्याकेज नै प्रदान गरिएको छ । यसले गर्दा कति पेशा–व्यवसायबाट पलायन हुने अवस्थामा छन् भने कति जीवन नै विघटन गर्ने कठोर निर्णय गर्न पुगेका छन् । तर, सरकार कोरोना संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणभन्दा आत्मरतिमा रमाएको छ । सरकारले आफूले उठाउने, लिने करमा कुनै सहुलियत त दिएन–दिएन समय सीमा समेत थप गरेन ।

यही समय असारे विकासको उत्कर्ष समय हो । यो वर्ष मनसुन छिट्टै शुरु भएकाले खेती किसानी गर्नेहरुलाई पनि कामको चटारो छ । तर, उनीहरुले पनि कृषि मल पाएनन् कतै बाढीले रोपेको खेत बगायो, कतै पहिरोले जीवन लग्यो, कतिलाई घरबारविहीन बनायो । किसानले उत्पादन गरेको वस्तु बजार पुग्न सकेन, बोेटमै कुहियो र सर्वत्र निराशा छायो । मन अशान्त बन्यो तर फेरि पनि उठेर हिँड्ने प्रेरणा र ऊर्जा कतैबाट पाएनन् । एकथरी कमाउन मै व्यस्त छन्, राज्यको ढिकुटी मास्ने होड छ, कतै बाँच्नका लागि संघर्ष हुँदैछ । भौतिक निर्माणको चटारोको यो समय सरकारले जनअपेक्षा पनि सम्बोधन गर्नुपर्ने हो । त्यसैले कोरोनाभन्दा करले दिएको पीडा असामान्य भएको छ जनतालाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here