झापा ।

झापाको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल निलम्बित भएका छन् ।
अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्वित भएका हुन् । सप्तरीको सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा बिशेष अदालतमा आरोपपत्र दायर भएपछि प्रमुख प्रशासकीय अधिकृत निलम्बित भएको बताइएको छ । सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सिद्धिपुर चोक– सखुवनी रोड निर्माणमा मापदण्डविपरीत गुणस्तरहीन काम गरी कार्यकारी अधिकृत दाहाल र प्राविधिकसमेतको मिलेमतोमा अनियमितता गरेको भन्ने व्यहोराको उजुरी अख्तियारले दुरुपयोग अनुसन्धान आयोगमा परेको हो ।
त्यस सम्बन्धमा अनुसन्धान हुँदा ६ जना व्यक्तिहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।
http://www.ciaa.gov.np/pressrelease/1786?fbclid=IwAR1CN-0-0Fii6-FVS7efadlBfs_1c5JuvJDv8zHSKF1OIQUiYVArI4MRDb0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाद्घारा जारी विज्ञप्तिमा सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरीले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने चौध लाख उनान्सय हजार चार सय चौवन्न रुपैयाँको कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न नगरी गुणस्तरहीन कार्य गरेको अवस्थामा नगरपालिकाका सवइन्जिनियर चौधरी र इन्जिनियर चौधरीले लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भैसकेको भनी झुठ्ठा प्रतिवेदन तयार गरी पेश गरेको र निमित्त कार्यकारी अधिकृत दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी सम्झौताबमोजिमको रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी दिएको भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हानी नोक्सानीको बिगो चौध लाख सन्तानब्बे हजार नौ सय बहत्तर रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुल उपर गरी पाउन मागदाबी लिइएको आयोगले जनाएको छ ।
झापा गाउँपालिका निवासी दाहाल गत असोजमा तेह्रथुमबाट सरुवा भएर बाह्रदशी गउँपालिका आएका थिए । गाउँपालिकाको गाउँसभा चलिरहेका बेला उनलाई निलम्बन गर्नुपरेको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो । दाहाललाई निलम्बन गरिएपछि गाउँपालिकाले शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेललाई अर्को ब्यबस्था नभएसम्मका लागि निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष राजवंशीले बताउनुभयो ।






























