विपन्नको घर मर्मतका लागि साढे तीन करोड रुपैयाँ

0
1119

बिर्तामोड।

झापाको निर्वाचन क्षेत्र नम्बर २ मा सात सय एक विपन्न परिवारका लागि आवास गृह मर्मत गरिने भएको छ । जसका लागि संघीय सरकार मार्फत तीन करोड ५० लाख ५० रुपैयाँ बजेट विनियोजन भएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत सुरक्षित नागरिक आवस कार्यक्रम मार्फत झापा क्षेत्र नम्वर २को अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, वुद्धशान्ति गाउँपालिका र कनकाई नगरपालिकाको ८ र ९ नम्वर वडाका विपन्न नागरिकको आवास मर्मत गरिन लागेको हो ।

अन्तर्राष्ट्रिय समन्वय समिति सभापति तथा झापा क्षेत्र नम्वर २बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलले तीन नगरपालिका र एउटा गाउँपालिकाका २५ वटा वडाका बासिन्दालाई ५० हजार रुपैयाँका दरले आवास गृह मर्मतका लागि रकम प्रदान गर्न लागिएको निरौलाका स्वकीय सचिव लीला आचार्यले जानकारी दिए ।

अतिविपन्न परिवारको घर वर्षेनि मर्मत गर्नुपर्ने भएकाले सरकारले उनीहरुलाई राहत स्वरुप रकम प्रदान गर्न लागेको बताइएको छ । अर्जुनधारा नगरपालिकामा १९३, बिर्तामोड नगरपालिकाको १– ९ वटा वडालाई १९७, वुद्धशान्ति गाउँपालिकाको १,२,३ नम्वर वडामा १५५ र कनकाई नगरपालिकाको ८ र ९ नम्वर वडामा १५६ घर मर्मत गरिन लागेको हो ।

अर्जुनधारामा सामुहिक आवाससहित १७७ विपन्न परिवारलाई घर

विपन्न परिवारका लागि सामुहिक आवाससहित अर्जुनधारा नगरपालिकाले एक सय ७७ वटा घर निर्माण गरेको छ ।
अर्जुनधारा नगरपालिका–३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरले नगरपालिकाभित्र एक सय ७७ वटा घर निर्माण गरेको हो ।

संघीय सरकार, प्रदेश र स्थानीय तह तथा सामाजिक संघ संस्थासँगको साझेदारीमा विपन्नका लागि घर निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले बताइन् ।

उनका अनुसार संघीय सरकारबाट २४ वटा, सहारा नेपाल सहकारी संस्थासंगको साझेदारीमा ३३ वटा, जनता आवास कार्यक्रम अन्तर्गत १५ वटा प्रदेश सरकारको सहयोगमा ३३ वटा नगरपालिका र सहारा नेपालसँगकै साझेदारीमा ३३ वटा र वडा नम्वर ५मा ८ वटा घर निर्माण गरिएको हो ।

त्यस्र्तै पहिरो पीडितका लागि ७ वटा घर निर्माण गरिएको छ । नगरपालिका भित्र २५ घरको छाना समेत फेरिएको उपप्रमुख खतिवडाले बताइन् । जनता आवास कार्यक्रमका लागि ५० लाख रुपैयाँ आएको र नगरपालिकाको समेत १० लाख रुपैयाँ लागतमा झेलेनीमा १५ वटा सामुहिक घर निर्माण गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here