३९% आत्महत्याको कारण घरायसी, विवाद विवाहित ५२%
बिर्तामोड।

झापाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा आत्महत्याका घटना बढी हुने गरेको पाइएको छ ।एक आर्थिक वर्षमा झापामा आत्महत्या गर्नेको तथ्याङ्कलाई आधार मान्दै जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रतिवेदनमा ग्रामीण क्षेत्रमा ३५ प्रतिशत, शहरी क्षेत्रमा ६५ प्रतिशतले आत्महत्या गरेको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६÷०७७मा आत्महत्या गर्नेको संख्या घटे पनि शहरी क्षेत्रमा आत्महत्या गर्नेको संख्या धेरै छ ।प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷०७७मा २२३ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६मा २८८ जनाले झापामा अत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४÷०७५भन्दा आर्थिक वर्ष २०७५÷०७६मा आत्महत्याका घटना १७ प्रतिशतले वृद्धि भए पनि आर्थिक वर्ष २०७६÷०७७मा झापामा आत्महत्या गर्नेको संख्या २३ प्रतिशतले घटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७मा मेचीनगरमा सबैभन्दा धेरैले आत्महत्या गरेका छन् । मेचीनगरमा मात्रै आत्महत्या गर्नेको संख्या ४० छ । गाउँपालिकातर्फ बुद्धशान्ति गाउँपालिकामा धेरैले आत्महत्या गरेका छन्, जहाँ एक आर्थिक वर्षमा २१ जनाले आत्महत्या गरेका छन् । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भद्रपुरमा २८, दमकमा २३, कनकाईमा ८, अर्जुनधारामा ४, बिर्तामोडमा १४, शिवसताक्षीमा ८ र गौरादह नगरपालिकामा २० जनाले एक आर्थिक वर्षमा आत्महत्या गरेका छन् ।
उता गाउँपालिकातर्फ कमल गाउँपालिकामा ११, गौरीगञ्जमा ८, वाह्रदशीमा ७, झापामा ८, हल्दिवारीमा १७ र कचनकवलमा ६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पनि दमक–३मा ७ जना र वुद्धशान्ति–४मा ७ जना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भद्रपुर–७मा ४ जना, मेचीनगर–७मा ५ जना, मेचीनगर–१५मा ४ जना, बाह्रदशी–२ र हल्दिवारी–२मा ४÷४ जना रहेका छन् । असारमा आत्महत्या धेरैले गरेका छन् । असारमा ३५ जनाले आत्महत्या गरेका हुन् । प्रहरीको विवरण अनुसार जेठमा १९, वैशाखमा २७, चैतमा ३४, फागुनमा १७, माघमा १५, पुसमा १९, मंसीरमा २०, कात्तिकमा १३, असोजमा १३ भदौमा १९ र साउनमा १५ जनाले आत्महत्या गरेका छन् ।
उमेरको आधारमा हेर्ने हो भने १८–२५ वर्ष उमेर समूहका धेरैले आत्महत्या गरेको देखिन्छ । १८ वर्षमुनि २० जना, १८– २५ उमेर समूहका ५७, २५देखि ३५ वर्षसम्मका ४३ र ३५देखि ४५ वर्ष उमेर समूहका २५ जनाले आत्महत्या गरेका छन् । ४५देखि ६० वर्ष उमेर समूहका ४२ जनाले आत्महत्या गरेका छन् भने ६० वर्षमाथि ३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये ५९ प्रतिशत पुरुष छन् । १३२ जना पुरुषले आत्महत्या गर्दा ९१ जना महिलाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा ज्याला मजदुरी गर्ने धेरै छन् । एक वर्षमा ६५ जना ज्याला मजदुरी गर्नेले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने कूल संख्याको २९ प्रतिशत ज्यालामजदुरी गर्ने रहेका छन् । पेशाका आधारमा हेर्ने हो भने कृषि पेशामा संलग्न ४४ जना, गृहिणी ४४ जना, वेरोजगारी २१ जना, बिद्यार्थी २८ जना, व्यापार गर्ने एक जना र नखुलेका १२ जनाले आत्महत्या गरेका छन् ।
कूल आत्महत्या गर्नेमध्ये ६५ प्रतिशत साधारण लेखपढ गर्ने नै रहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार १४५ जना साधारण लेखपढ गर्ने मानिसले एक आर्थिक वर्षमा आत्महत्या गरेका छन् । लेखपढ गर्न नजान्ने २१ जना, एसएलसी पास गर्ने र प्लस टु पढ्ने ४४ जना र सो भन्दा माथिको शैक्षिक योग्यता भएको ५ जनाले आत्महत्या गरेका छन् ।
५२ प्रतिशत आत्महत्या गर्ने विवाहित छन् । मानसिक बचलनका कारण आत्महत्या गरेका मृतकले डिप्रेसन सम्वन्धी औषधि सेवन गर्ने गरेको र घरायसी कारण ३९ प्रतिशत मानिसले आत्महत्या गरेका छन् ।































