निर्माण कम्पनीको लापरबाहीले भद्रपुरको कमलधाममा तीन जना बालकको डुबेर मृत्यु

0
1214

पार्थ मण्डल / भद्रपुर।

निर्माण कम्पनीको लापरबाहीले झापाको भद्रपुरमा तीन जना बालकको डुबेर मृत्यु भएको छ । तीन जना बालकको मृत्यु भएसँगै वडावासी नै शोकमा डुबेको छ । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको डिएसपी थापाले जानकारी दिए । मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

प्रहरीका अनुसार बुधवार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तीनै जना बालक पौडी खेल्नुसँगै माछा मार्न गएका थिए । घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेर सम्म घर नफर्किएपछि उनीहरूको आफन्तजनले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधवार साँझ ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरे ।

खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका विपतका प्रहरी टोलीले बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट फेला पारेको डिएसपी थापाले जानकारी दिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

नगरपालिका र निर्माण कम्पनीप्रति स्थानीयको आक्रोश

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीन जना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको हो । निर्माण कम्पनी आर.एन्ड.सी.\नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५ ७९ रुपैयाँमा २०७८ साल असार २४ गतेसम्म गर्ने गरी ठेक्का लिएको हो । कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशको काका आशिस तामाङले आक्रोश पोखे ।

‘भतिजसहित अन्य दुई जना बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरबाहीको कारण भएको हो,’ उनले भने, ‘निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन, र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।’ तीन जना बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताए । उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीले नै गाउँमा यस्तो ठुलो घटना भयो, यसका लागि स्थानीय कानुनी उपचारमा जान्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here