नमरी बाँचे कोरोनाले साँचे साँइली ! चाँडै भेटौँला

0
1056

(कथा)

भुवन तामाङ,

कोरोना आयो साँइली त्यै भर आइरन पाइन । तिमीलाई पोल्टा भरीभरीको मुया पिर्ती दिन पाइन । के असत्ती रछ हाउ यो कोरोना भाइरास । आँखाले देख्न नसकिने ढुँडीले गर्नु गर्यो दुनियालाई । बरु कुकुर बिरालो सँग बस्न मिल्ने तर मुन्छे मुन्छे भेट्न, बस्न नमिल्ने बनायो । हाव ! कस्तो दशा लाग्यो मुन्छेहरुलाई । सँगसँगै नारिएर मुया पिर्ती नि लाउन नपाइने । यो कस्तो बेथिति बसाल्यो पापी कोरोनाले ।

कोराना त आयो आयो । त्यै माथि महा बर्खा लागेर खोला, नदी, नाला, खहरे र झरना उर्लेर थामि नसक्नु भाको छ । हिउँदमा कमिला हिँड्ने खोलामा बर्खामा भेल बाढी उर्लेको छ । काल खोज्नु मात्तै हो बर्खा मासाको खोलामा पस्नु भनेको । नत्र त म आइ जान्थे नि मेरी साँइलीलाई भेट्न । यसो टडाई गरुँकी जस्तो त लाग्छ नि खोला तर्न । तर मलाई खोलाले बगाइ गयो भने तिमीलाई पर्नु पीर परिजाला । रुएर सिन्को भइजाउली । साँइली ! झुक्केर पनि तिमीलाई आँशु कोेशेली दिन चाहन्छ । अब तिमी नै बिछोडमा रोइजान्छौ भने त म के गर्नु ? तिमीलाई भेट्न पाए त झुम्के रुमालले पुछि दिन्थेँ मानेको पातमा अडिएका शितका थोपा जस्ता तिम्रो आँखाका आँशुहरु । तर, मलाई थाहा छ तिमी निक्कै जब्बरको छ्यौ भनेर । तिमी हत्तपत्त रुने मुन्छे होइन तर मुन्छेको जात मुया पिर्ती भनेसी तुरुक्कै आँशु झरी जाँदो रछ । हेर न होइ यी तिमीलाई सम्झदा सम्झदै म पनि रुनै आँटेछु तर मुन्छेहरु भन्छन् लोग्ने मुन्छे भर रुनु हुन्न ।

खोलाको डिलमा उभेर हेर्छु कतै खोला घटिहाल्छ कि भनेर तर सिङ्ग र जुरो पलाको डरलाग्दा धमिला भङ्गालाहरु छङ्गछङाएर ओरोलो कुदेका कुदेइ छन् । कहाँ पुग्नु हतार भाको होला । कतिको उठिबास पारिसको । कतिलाई बगाएर मारिसको । मानौ बर्खे भेललाई मुन्छेसँग रिस उठेको छ । मुन्छेको छाप्रो, झुप्रोहरुसँग रिस उठेको छ । गरीबसँग दुश्मनी छ । खेतबारीसँग दुश्मनी छ । भर्खरै रोपेको धानको रोपो बगाको छ । डुबाएर मारेको छ । मानौ उसलाई बाटोहरुसँग रिस उठेको छ । राजमार्ग बगाको छ । राजमार्गमा घरभन्दा ठूला चट्टान ठड्याइदिएको छ । सायद मुन्छेहरु हिँडेको बर्खालाई मन पर्दैन । पुलहरु बगाको छ । केही देख्नै नहुने भो सबै बगाएर लाँदो छ ।

जताततै मिसिन लगाएर बाटो खनेसी पहिरो आको भन्छन् मुन्छेहरु । खोला, नदी हिँड्ने बाटामा मुन्छेका बस्ति र विकास पसेसी बर्खामा बाढी नपसेर के पस्छ त ? भन्छन् बुढापाकाहरु । जमिन, हावा, पानी बिगार्र्ने विकास गरेसी बिनाश नभएर के हुन्छ त ? भन्छन् ज्येष्ठहरु ।

गोडा बारेक खोला तरेसी मात्तै तिम्रो गाउँ भाको पहाड आइपुगिन्छ । कुनै न कुनै खोलाले त मलाई बगाइहाल्ला । तर, साँइली ! जस्तो सुकै भेल आए पनि म कोशी खोला भने तर्न सक्छु । मैले तिमीलाई जति पल्ट भेट्न आँए त्यति पल्टै कोशी तरेर आको छु । कोशी मातालाई थाहा छ हाम्रो मुया पिर्ती । जय कोशी माता भनेर बाँकटे हानेसी एकैछिन्मा पारी डिलमा ।

कोरानाले रमितै पो पारो साँइली । बाली खाला भनेर बस्तुभाउको मुखमा बाँसको चोयाको म्वालो लाइँछ । तर, कोरोनाले गर्दा मुन्छेलाई नै म्वालो जस्तो मास्क लाउने बनायो । परिपरिको म्वालो । कुनै सेतो, कुनै कालो, कुनै रातो, कुनै हरियो, कुनै धर्र्के, कुनै छिरबिरे कुनै आँखी झ्याल भाको म्वालो । मुन्छे चिन्न अब निधार चिन्नु पर्ने भो । कि त हिँडाइको चाल, कि त कपाल, कि त कान चिन्नु पर्ने भो । कि त बोली सुन्नु पर्ने हो । कि त कुन चैँ घरमा छिर्दो रछ भनेर च्याउनु पर्ने भो ।

म्वालो लाएसी अरुले बोल्दा गनाउने सास चाहिँ सुँघ्नु नपर्ने भो । त्यो चाहिँ राम्रै भो तर आफ्नै गनाउने सास सुँघेको सुँघेइ गर्नु परेर पो सारो परो । म्वालो लाएसी पैसा चैँ बच्दो रछ । कसरी भने, म्वालो खोलिरहन झन्झट हुने भएसी अम्मल खाने बानी चैँ च्वाट्टै भो । म्वालो नलगाउँदा धेरैसँग बिनाबिच्चमा बोलिरहनु पथ्र्यो । ट्याम्को नाश । म्वालो लाएसी त चिन्नै गाह्रो अनि कसैसँग बोल्नै परेन । कति आनन्द । तर, म्वालो लाएसी कुकुरले भुकेर चैँ हैरान पारिसको । घरमा काखे नानीहरु तर्सेर सातै गइसक्यो । धामीलाई चामल, डिम्मा र पैसो दिँदा दिँदा जोगी भै सकियो ।

अर्कोतिर म्वालोले मान्छेको कान डाडुकाने बनाइसको । म्वालोको जुइनाले कानको लोती तान्दा तान्दा कान कोप्रिएर डाडु जस्तो पारिसक्यो । डाम बसेर, दुखेर हैरान । यो म्वालोको उपद्रो यति मै कहाँ सकिने रछ र ? यसले त सबैको नाक थेप्चो पारिदिइसको । चुच्चे नाकहरु म्वालोले थिच्दा थिच्दा त भ्यागुताको ढाडजस्तो सम्म बनाइदिइसको । पहिल्यै थेप्चे नाक चप्लेटी ढुङ्गगा बनाइदिइसको ।

म्वालोेले साँइली ! तिमी जस्तै तरुनाहरुलाई पार्नु पीर पार्यो होइन त ? ओठमा लाली घसेर राम्री हिरोनी बनेर हिँडन नदिने भो । म्वालोले ढपक्कै छोपेसी ओठमा कस्तो लाली घसेको छ ? भनेर केही नदेखिने भो । गालाको पाउडर पनि छोपिदिने भो । सुन्दरताको परिभाषा नै चेन्ज गरिदियो कोरोनाले । लाली बेच्नेहरुलाई सुकुम्बासी बनाइसको कोरोनाले । होइन त साँइली ?

साँइली तिम्रो पहाडका खेतहरुमा पनि यतिबेला रोपाइँको चटारो होला होइन त ? तिमी पनि धानको बिउ काड्दै होउली । तिमी पनि धान रोप्दै होउली । असारे गीतको भाका हाली हाली गाउँदै होउली । सिमसिम पानीमा रुझ्दै । पानीले रुझेको आफ्नै जीउको महक र हिले खेतको गन्धको मीठास महसुस गर्दै साथी सँगातीहरुसँगै छुपुछुपु धानको रोपो रोप्दै होउली ।

आच्यै होइना हाउ मुबाईलमा मुसेज थुप्रो पो ठुँगेछु त ? अरु मुसेज मुबाईलमा अँट्दैन होला । मेरो मुसेज पाउने वित्तिकै तिमीले नि मुलाई मुसेज गर है साँइली !

रोपाइँ सकेपछि, बर्खे झरी थामेसि, अक्काश खुलेर नीलो भएसी, खेतमा सङ्लो पानीमा हरियो धानको गाभो हुर्र्केपछि । त्यसको बासना हावामा छरिएपछि कति आनन्द हुन्छ होकी साइँली ? खोला नालामा पनि कलकल सङ्लो पानी बग्छ । कोशी पनि निलो देखिन्छ । अनि त्यै बेला भेट्न आउँछु है साइँली । सरखारले लकडाउन खुलायो भन्छ । अब त डाँडा बजारको हाट नि लाग्छ होला । डाँडा बजारमा धित मरुन्ज्याल घुमौला । मुया पिर्ती साटौँला । के के किनी खाऔँला । चोचोमोचो जोरेर धेरैधेरै कुरा गरुम्ला । मरुन्ज्याल हाँसुम्ला । तिमीलाई मुन पर्ने कोशेली दिउँला । तर, साँइली कोरानाबाट बच्ने नियम चैँ मानिराख है । मुइले पनि नियम मानिराछु । नत्र तिमीहामी कसोरी भेट्न पाऔँला र साँइली ? लकडाउन खुले पनि कोरोना सकिएको छैन रेन्त ! लु है त साँइली ! नमरी बाँचे कोरोनाले साँचे चाँडै भेटौँला । आइलेलाई एत्त्ती । उही तिम्रो चुइँस्स परेको चुइँसे साइँलो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here