कोटीहोमको पीसीआर ल्याब छिट्टै सञ्चालनमाः मन्त्री कार्की

0
1283

बिर्तामोड।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनस्तरबाट झापाको कोटीहोममा स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनको जिम्मा सरकारले लिने बताएका छन् ।

मन्त्री कार्कीले आफू, आफ्नो मन्त्रालय र सामाजिक विकास मन्त्रालयसंग कुरा भएरै सामाजिक अभियन्ताहरुले एकका लागि एक अभियान सुरु गरेको बताउदै अभियानले सरकारलाई सहयोग र जनहितका लागि गरेको काममा कसैले अवरोध पुर्याउन नसक्ने बताए ।

शुक्रबार साँझ अन्तर्राष्ट्रिय झापाली समाजले आयोजना गरेको भच्र्युअल बैठकमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले ल्याब स्थापनामा कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरिसकेको छ भने अहिले सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पतालमा मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको बताइएको छ । मन्त्री कार्कीले ल्याबको संख्या बढाउनुपर्नेमा स्थापना भइसकेको ल्याब चल्न नदिने भनेर भ्रमपूर्ण कुरा आउनु गलत भएको बताए ।

‘यो ल्याब कुनै हालतमा रोकिदैन, छिट्टै सञ्चालनमा आउछ’, मन्त्री कार्कीले भने, ‘ यदि त्यस्तो पत्राचार भएको हो भने त्यो गलत हो, यो सच्याउनुपर्छ ।’ प्रदेश १ मा कम्तिमा पाँचवटा ल्याब हुनुपर्नेमा हाल तीनवटा मात्र रहेको र स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याइने कार्कीको धारणा छ ।

मन्त्री कार्कीले भने, ‘यो पवित्र अभियानलाई कसैले मनोबल कमजोर पार्ने गर्नु हुँदैन । तपाईंहरु (एकका लागि एक) अघि बढ्नुहोस्, कहाँ के मिल्दैन म कुरा गर्छु ।’

मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई पनि न्यूनतम शुल्क लिएर ल्याब सञ्चालनको अधिकार दिइसकेकाले सञ्चालनमा अवरोध आउन नसक्ने प्रस्ट पारे । मेची अस्पतालको मातहतमा ल्याब सञ्चालन हुन नसके एकका लागि एक अभियानलाई कानुन संशोधन गरेर भए पनि अनुमति दिनुपर्ने उनको भनाइ छ ।

अभियान सुरु हुनुभन्दा अगाडि आफूसँग पटकपटक छलफल भएको कार्कीले बताएका थिए । ल्याबका विषयमा पनि आफू र सामाजिक विकास मन्त्रालयलाई अगाडि नै जानकारी गराइएको र कोटिहोम क्षेत्र भौगोलिक तथा अन्य हिसाबले पनि उपयुक्त स्थान रहेको उनको भनाइ छ ।

त्यस्तै, मन्त्री कार्कीले समर्पण भवनमा सञ्चालनमा आउने ल्याबका लागि प्राविधिक खोजेर भए पनि ल्याउन जरुरी रहको बताए । ‘प्राविधिक कहाँ छन्, मेचीमा, धरानमा वा विराटनगर, उनीहरुलाई ल्याउनुपर्छ’, मन्त्री कार्कीले बैठकमा भनेका छन्, ‘गाँठो कहाँ परेको छ, सरकारले फुकाउनुपर्छ ।’

समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा भएको बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी थिए । उनीहरुले कोटिहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथासक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा अभियानका संयोजक महेन्द्रकमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउने स्पष्ट पारेका थिए । हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको गिरीले बताएका थिए ।

त्यस्तै, बैठकमा समाजका संरक्षक तथा निवर्तमान अध्यक्ष दिनेश पोखरेलले केही भ्रामक समाचारका कारण अन्योलता सिर्जना भए पनि यथार्थ त्यस्तो नरहेको प्रस्ट पारेका थिए । उनले अभियानका नेतृत्व र सदस्यहरु चिनिएका सामाजिक व्यक्तित्व भएकाले नडगमगाई काम गर्न अनुरोध गरेका थिए ।

समाजका उपाध्यक्ष दिपक ओलीले सहजीकरण गरेको बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु, राष्ट्रिय समितिका सदस्यहरु, अभियानका सहसंयोजक बिनोद बस्नेत तथा सदस्यहरु तथा पत्रकारको सहभागिता रहेको थियो ।

यसैबीच, समाजका तर्फबाट पिसिआर ल्याब खरिदका लागि रकम संकलन संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमका बीच अभियानलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिने बताए । वैठकमा उक्त रकमको डिजिटल चेक सार्वजनिक गरिएको थियो । त्यो संगै डिजिटल माध्यमबाटै हस्तान्तरणको घोषणा समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here