धार्मिक र वैज्ञानिक दृष्टिमा नाग पञ्चमी

0
1225

भानु शिवाकोटी,

आजको विश्व मानव जो जहाँ पुगे पनि त्यसको मूल श्रेय हाम्रो पूर्वीय दर्शन वेदादी शास्त्रले नै पाउनु पर्दछ । किनभने यो विज्ञानको पनि विज्ञान हो । यद्यपि वर्तमानका धार्मिक मानवहरुले यसको वैज्ञानिक तथ्य खुलाउन नसके पनि वैज्ञानिकहरुले भने नाग तथा सर्प जातिको विशेष महत्व विश्वसामू राखिसकेका छन् । यही परिप्रेक्षमा यो पंक्तिकार पनि आफ्नो ढंगले बुझेका सार विषय संक्षेपमा राख्न चाहन्छ ।

विशेष गरेर सनातनी आध्यात्मिक मूल्य–मान्यतालाई धेरै तिथि र पर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यिनै तिथिहरुका समयका पिञ्जडाभित्र मानवका दुई दिन जन्म र मृत्युहरुले पनि निरन्तरता पाइरहेका छन् । त्यसमा पनि आजको मेरो विषय पञ्चमी तिथि र नाग महिमा भएको हुनाले म त्यतातिर मात्र फर्कन चाहन्छु । पञ्चमीमा पनि श्रावण महिनाको नाग पञ्चमी तिथि अलि बढी महत्वको पाइन्छ । संसारका विषैला वस्तुहरुलाई पान गरिदिएर हामीले लिने हावा अर्थात् अक्सिजनलाई शुद्ध गरी दिएर प्राणी अस्तित्वलाई जीवन दिने काम नाग तथा सर्प जातिहरुले गरी दिएका कारण पनि भगवान ब्रम्हाले नाग तथा सर्प जातिको सृष्टि गरेर अभयदान दिएको दिन पनि यही पञ्चमी तिथिलाई नै मानिएको हुँदा यो दिन विशेष महत्वको छ । अनि जन्मेजयले गरेको विशाल सर्प मृत्युयज्ञबाट सम्पूर्ण नाग र सर्प जातिलाई आस्तिकमुनिले बचाएको दिन पनि पञ्चमी नै परेको हुनाले यो तिथिलाई नाग वंशका लागि कल्याणकारी तिथि मानिन्छ । यो दिन विश्वका धेरै समूह र जातजातिले नागहरुको पूजा आराधना भव्यरुपले गरेको पाइन्छ । वर्तमानमा लोप भई सकेको निकै वैज्ञानिक मायावी सभ्यताका मानिसहरुले समेत सर्प तथा नाग जातिको भव्य सम्मान गरेको पाइन्छ ।

नागहरु द्येव जातिका समूहमा पर्दछन् । यी हेर्दा सर्प समूह जस्तै देखिए पनि केही भिन्नता छ । अष्ट नागको महिमा पृथकरुपमा राखिए पनि नागहरु धेरै प्रजातिमा पाइन्छन् । विशेष गरेर यदुर्वेद, महाभारत, भविष्यपुराणदेखि सबै पुराणहरुमा नाग महिमा सुन्न पाइन्छ । यो यत्तिकै राखिएको भने पक्कै होइन । यो संसार विष र अमृतले भरिएको छ । समुन्द्र भनेको संसार हो । देव, दानव भनेको दिन र राति, जन्म मृत्यु प्रवृत्ति र निवृत्ति, सुख र दुःखलाई संक्षेपमा लिन सकिन्छ । यो जीवन दर्शनको बृहद शुभकार्यमा पनि नागलाई मध्यस्त बनाइएको छ यी विष र अमृतले भरिएको ब्रम्हाणलाई सुखद् उपयोगी बनाउने युगान्तकारी संकल्पका साथ परमात्माले पञ्चमी तिथिका दिन नाग तथा सर्पहरुको सृष्टि गर्नुभयो भन्ने प्रमाण दर्शन शास्त्रहरुमा पाइन्छ । अनि समुद्र मन्थनबाट वातावरणमा फैलिएको विषपान गर्न आज्ञा दिनुभयो । नागहरुले पनि सो आज्ञा मानेकै कारण विशैला जातिमा परेका हुन् । जो आजसम्म पनि नाग तथा सर्प जातिहरुले निरन्तर पालना गरिरहेका छन् । अन्य प्राणी जगतलाई जीवनदान दिइरहेका छन् । वायुबाट, पृथ्वीबाट, जलबाट र अग्निबाट निस्केको विष सर्प जातिहरुले पान गर्ने र सूर्यबाट, आकाशबाट निस्केन विषय अर्थात् भाइरस (जिवाणुहरु) नागहरुले पान गरेर यो संसारका प्राणीहरुलाई अमृतको भागी बनाई दिएको हुँदा, कृतज्ञता स्वरुप सनातन धर्मले नाग जातिको पूजा आरजना गर्दै आएको हो ।

त्यसैले नमोस्तुः सर्पभ्यः भनेर वेदमा पनि भनिएको छ । अरु अघिका महामानवहरुका जीवन पढ्दा र हेर्दा पनि लामो आयुसँग नाग तथा सर्प जातिको तादभ्यता पाइन्छ । जस्तो भगवान शिवले गलामा धारण गर्नु, भगवान विष्णुले सयन बनाउनु, गणेशजीले जनैको रुपमा धारण गर्नु आदि धेरै–धेरै छन् । यही भएर पनि नाग तथा सर्प जाति अनि पञ्चमी तिथि विज्ञान र धर्म दुबैतर्फबाट स्वीकारोक्त छ । हामीले वर्तमानमा पनि सुन्यौं कि केही समय पहिला मलेसिया देशमा सम्पूर्ण सर्पहरुलाई खोजीखोजी समाप्त गर्ने काम गरियो । तर, त्यसको केही समयपछि त्यहाँ हजारौं प्रकारका रोगहरु निस्किए । त्यसको खोजी हुन थाल्यो । निधानतः सर्प नभएको कारण यी भाइरसहरुले मानवलाई रोगको शिकारमा बनाएको तथ्य बाहिर आएपछि फेरि अन्य मुलुकबाट प्रशस्त सर्प भित्र्याइयो । त्यसपछि ती रोगहरु क्रमशः हराउँदै गए । यसबाट पनि पुष्टी हुन्छ कि नाग तथा सर्प जातिको महत्व प्राणी समाजमा कति ठूलो रहेछ भन्ने कुरा हो । हाम्रो पञ्चमी तिथिले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा नाग तथा सर्प जातिहरुको सम्मान र सुरक्षा गर्नु भनेको । समग्रमा भन्नुपर्दा जसले लामो जीवन जिएका छन् तिनका नजिकमा सर्प या नागहरु छन् । अझ वैज्ञानिक भाषामा भन्नुपर्दा भाइरस तथा जिवाणुहरु नाग र सर्पहरुले खाइदिँदा रहेछन् र मानव तथा देवताले लामो जिन्दगी पाउँदा रहेछन् । यस मानेमा पनि यो तिथि र नागको महत्व छ ।

यो त भयो नाग तथा सर्प जातिको संक्षिप्त परिचय र पञ्चमी तिथिको महत्व । अब लागौं पूजा र ब्रतबिधितर्फ ः
यो तिथिको पूजा तथा ब्रतबिधि भन्नुपर्दा अघिल्लो दिन अर्थात् चतुर्दशीकै दिनदेखि शुरु गर्नु पर्दछ । अनि यो मन्त्र जप गर्नुपर्छ । ॐ कालीं नाग देवता हुँ फट स्वाहा । अनि भोलिपल्ट पञ्चमी तिथिका दिन विभिन्न सामग्री, सुगन्धित पुष्प, चन्दन, अक्षता, धूप, नैवेद, गाईको काँचो दूध लगायत सामग्रीद्वारा पूजा गर्नु पर्दछ । त्यसपछि नाग प्रतिमाहरुमाशुद्ध गाईको काँचो दूग्धधारा दिनु पर्दछ । यसरी विधिपूर्वक पूजा गरिसकेपछि सबै आकाश, पाताल र सवै दिशमा रहेका नागहरुलाई सम्झिएर केही समय ध्यान गर्नु पर्छ । ध्यान पश्चात यी मन्त्ररु उच्चारण गरेर नागको पूजा विसर्जन गर्नुपर्छ ।

सर्वे नागाः प्रियन्तांमे ये केचितः पृथ्वी तले
इे चः हेलिमरी चिस्था ये न्तरे दिवें संस्थिताः
इे नदिषु महानागाः ये सरस्वती गामिनः
ये चः वापितडागेषु सर्वोष वै नमः

त्यसपछि यथासक्य ब्रम्हाण दक्षिण तथा खिरको भोजन ब्रम्हाण तथा पुजारीलाई गराएर आफूले पनि शुद्ध निरामाष भोजन गर्नु पर्दछ । अन्ततः बासुकी, शंखा, पद्म, कम्बरल, कर्कोकट, अश्वतर, धृतराष्ट्र, शंखपाल, कालीया, दक्षक र पिंगला यी १२ नागलाई क्रमशः गरेर १२ महिनामा पूजा गर्नु पर्दछ । तब मात्र नागको व्रत पूरा हुन्छ । त्यसैले यी विविध कारणहरुले गर्दा धार्मिक तथा वैज्ञानिक दुबै दृष्टिकोणले पञ्चमी तिथि र नाग महिमाको निकै ठूलो महत्व झल्कन्छ । यसै सन्दर्भमा पूर्वको पशुपतिनाथ अर्जुनधारा धाममा अवस्थित नाग मन्दिरमा बर्षेनि नाग पञ्चमीको अवसरमा ठूलो पूजा आरधाना हुने गरेको छ । शिवाकोटी वंशहरुको कूल देवताको रुपमा मान्दै आएको कालीया नागको पूजा नाग पञ्चमीका दिन बन्धुबान्धवहरु भेला भएर अर्जुनधारामा धुमधामसँग मनाउने गरेका छन् ।

यसअघि शिवाकोटी वंशहरुले अर्जुनधारामा नाग पञ्चमीका दिन पूजा आर्जा मात्र नभएर विभिन्न सामाजिक कार्यहरुसहित नागको पूजा आरधना गर्ने गरेका थिए । आचार्य पण्डित पुष्पलाल निरौलाको अगुवाईमा श्रावणी पर्व तथा नाग पूजा धुमधामसँग मनाउने चलन थियो । तर, आचार्य पण्डित पुष्पलाल निरौलाको स्वर्गारोहणपछि भक्तजनहरुले श्रावणी पर्व तथा नाग पञ्चमीका समयमा अर्जुनधारा धामले गुरु पुष्पलाललाई गुमाउँदाको पीडा र उहाँ बिनाको श्रावणी पर्व तथा नाग पञ्चमी अधुरो महशुस गर्ने गरेको पाइन्छ ।

अर्जुनधारा धाममा अहिले पनि श्रावणी पर्व र कालीया नागको पूजा धुमधाम हुने गरेको छ । हाम्रो प्रकृतिलाई दुषित वातावरणबाट बचाई हामी प्राणी जातिलाई लामो समयसम्म बाँचिरहनका लागि सहयोग गर्ने नाग तथा सर्प जातिहरुको संरक्षणमा हामी सबैले जुट्नुपर्ने आजको आवश्यकता छ । केही गर्न नसके पनि वर्षमा एकपटक हामीले नाग देवताको पूजाआजा गरी नागहरुको सम्मान गर्नु हामी सबैको कर्तव्य हुन जाने विश्वास प्रकट गर्दछु ।

(शिवाकोटी पूर्वाञ्चल दैनिकका प्रकाशन सहयोगी तथा अञ्जली ओभरसिजका प्रबन्ध निर्देशक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here