वरिष्ठताका आधारमा प्रअ नियुक्तिको माग

0
1138

सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिले नगरभित्रका सामुदायिक विद्यालयमा तहगत र श्रेणीगत वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको माग गरेको छ ।

कनकाई नगरपालिकामा संगठनका तर्फबाट मागपत्र पेश गर्दै सो माग गरिएको हो । नगरभित्रका केही सामुदायिक विद्यालयमा तहगत र श्रेणीगत वरिष्ठताको आधार विपरित प्रधानाध्यापक कार्यरत रहेकोमा विरोध स्वरुप संगठनले उक्त माग राखेको बताइएको छ । ११ सूत्रीय उक्त मागपत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उनकै कार्यकक्षमा हस्तान्तरण गरिएको थियो ।

कनकाई नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार तहगत र श्रेणीगत वरिष्ठताका आधारमा प्रधानाध्यापकको नियुक्ति गर्न, कनकाई नगरपालिकालाई शिक्षाको हब बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन, कोरोनाको महामारीले सृजना गरेको विषम परिस्थितिमा वैकल्पिक शिक्षाको प्रयोगद्वारा सबै विद्यार्थीहरू लाभान्वित हुने गरी कार्यक्रम अघि बढाउन, विद्यालय कर्मचारी तथा बाल शिक्षकहरूको तलब भत्ता नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड अनुसारको उपलब्ध गराउन, कनकाई नगरपालिकालाई कमसेकम बन्दाबन्दीको अवधिभर विद्यार्थीहरूलाई अनलाइन कक्षाहरू लिनसक्ने वातावरण सृजना गर्न कनकाई नगरपालिकाभरि इन्टरनेट फ्रि जोन बनाउन माग गरिएको थियो ।

त्यसै गरी, कनकाई नगरभित्र आयुर्वेद शिक्षालयको स्थापनाको लागि पहल गर्न, निजी दरबन्दीका शिक्षक, कर्मचारीहरू भएका विद्यालयहरुमा मापदण्ड तयार गरी अनुदान दिने व्यवस्था गर्न, नगरभित्र रहेका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको शिक्षा निःशुल्क गर्न, निश्चित मापदण्ड तयार गरेर मात्र शिक्षक, कर्मचारी सम्मान तथा अभिनन्दन गर्ने पद्धतिको विकास गर्न, नगरपालिकाबाट निरक्षरता उन्मुलन अभियानलाई अघि बढाउन, नगरलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न अनुसन्धान केन्द्र तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्न संगठनले नगरसँग माग गरेको छ ।

नगर समितिका अध्यक्ष हरिप्रसाद तिम्सिना र सचिव चन्द्रप्रसाद पोखरेलद्वारा हस्ताक्षरित सो मागपत्र हस्तान्तरण गरिएको कार्यक्रममा नगरप्रमुख पोखरेल, संगठनका नगर उपाध्यक्ष डम्बरप्रसाद फुयाँल, प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपाने, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, शाखा अधिकृत हरिप्रसाद मिश्र लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here