झिलझिले,

झापाको शिवसताक्षी नगरपालिका ५२ दिनपछि कोरोना मुक्त नगर भएको छ । जेठ २८ गते भारतको दिल्लीबाट आएकी एक महिलामा कोभिड १९ को संक्रमण देखिएपछि शिवसताक्षीले उच्च सतर्कता अपनाएको थियो ।
शुक्रबार अर्थात साउन १६ मा कतारबाट आएका युवकले कोरोना जितेर घर फर्किएपछि शिवसताक्षी नगर कोरोना मुक्त भएको नगरका क्वारेन्टिन स्वास्थ्य संयोजक रोषन अधिकारीले बताए । उनले भने, ‘आजदेखि शिवसताक्षी नगरपालिकामा कोरोना मुक्त भएको हो ।’ कोरानो मुक्त भएपछि शिवसताक्षी नगरका दुईवटा झरना र सतासी प्राविको क्वारेन्टिनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीले नाचगान गरेर खुसीयाली मनाएका छन् ।
५२ दिनपछि शिवसताक्षी नगर कोरोना मुक्त भएको हो । नगरले स्थापना गरेको क्वारेन्टिनमा रहेका र बिदेशबाट घर फर्किए र होम क्वारेन्टिनमा रहेकाको पीसीआर परिक्षण गर्दा २ महिला सहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । शिवसताक्षीमा पहिलो पटक जेठ २८ गते दिल्लीबाट आएकी महिलामा कोभिड १९ को संक्रमण देखिएको क्वारेन्टिनका स्वास्थ्य संयोजक अधिकारीले बताए । यस्तै असार ८, १५,२२,२८ र साउन ५ गते गरिएको परिक्षणमा १÷१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
शिवसताक्षी नगरमा कम्तिमा ४ सय ५० जनाको स्वाब संकलन गरेर कोरोना परिक्षण गरिएको थियो । परिक्षणका क्रममा पोजेटिभ देखिएकाकालाई आईसोलेसनका लागि कोभिड अस्पताल विराटनगरमा रेफर गरेर उपचार भएको थियो । शिवसताक्षी नगरको क्वारेन्टिन स्वास्थ्य साखाले संक्रमितलाई उचित व्यवस्थापन र सल्लाह दिएकाले रोग जितेको कोरोना जितेर घर फर्किएका मध्ये एकले बताए । उनले भने, ‘नियमित व्यायाम र अधिकाँस खानेकुरा तातो खाएकैले कोरोना जितिएको हो ।’































