तेस्रो विश्वयुद्ध हुने ठाउँ !

0
1606

भुवन तामाङ,

कोरोना भाइरसले संसारका शक्ति राष्ट्रहरुमा हमला गर्नुलाई मानिसहरुले तेस्रो विश्वयुद्ध शुरु भएको रुपमा ब्याख्या गर्न पुगेका थिए । मार्च महिनाको अन्त्यतिर कोरोना भाइरस हमलाले तीव्रता लिँदै गर्दा तेस्रो विश्वयुद्ध शुरु भएको मानिँदै थियो । तर, अप्रिल सकिएर मे महिना लाग्दासम्ममा यस्तो विचार कतै सुटुक्कै गायव भयो ।

बन्दुक, तोप, मिसाइल, मोर्टार, रकेट र छेप्यास्त्र नपड्किइकन र युद्धक विमानहरुले बम खसाएर शहरका शहर खण्डहर नबनाएसम्म कहीँ विश्व युद्ध हुन्छ ? यस्तो विचार बोक्नेहरुले चाहिँ अब वास्तविक तेस्रो विश्वयुद्ध हुन्छ भन्दै थिए । तेस्रो विश्वयुद्धको स्वाद लिन चाहनेहरु जिल्ल परे किनकि विश्व युद्ध शुरु भएन । तर, केही समयमै वास्तविक तेस्रो विश्वयुद्ध शुरु भै हाल्न पनि सक्छ । तेस्रो विश्वयुद्ध शुरु हुन पर्याप्त निहुँ पुगिसकेको छ । चीनले कोरोना भाइरस बनाएको अमेरिकी विश्वास छ र अमेरिका नै बढी पीडित भइरहेको छ । उसको आर्थिक नोक्सानी अब धान्न नसक्ने स्तरमा झर्दैछ । २१ ट्रिलियन डलर जिडिपि भएको अमेरिका हालका दिनमा १५, १६ ट्रिलियन डलर जिडिपिमा झरेको छ । कोरानाको नाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति गरिरहेका टिप्पणी सुन्दा तेस्रो विश्वयुद्ध शुरु भई हाल्छ जस्तो लाग्छ ।

अमेरिका र चीनबीच दूरी बढ्नुमा अर्को पनि ठूलो विषय छ । दक्षिण चीन सागरमा चीनको दाबीलाई अमेरिकाले ठाडै अस्वीकार गरिरहेको छ । दक्षिण चीन सागरबाट चीनलाई हटाउन अमेरिकाले हालै दुई ठूला लडाकु विमान वाहक युद्धक पानीजहाज दक्षिण चीन सागर नजिक तैनाथ गरेको छ । विध्वंसात्मक बम्बर विमान पनि पठाएको छ । इण्डो प्यासिपिक समुद्र क्षेत्रमा पनि चीनले बर्चस्व जमाउला भनेर चीनलाई रोक्न अमेरिकाले गठनबन्धन बनाएको छ । हङकङमा चीनको राष्ट्रिय सुरक्षा कानून लागू हुनुले पनि अमेरिकालाई चोट पुगेको छ । त्यसैले अमेरिकाले हङकङलाई दिँदै आएको विशेष आर्थिक दर्जा खारेज गरेको छ । बेलायतले चाहिँ बदला स्वरुप हङकङका तीस लाख जनतालाई बेलायत लाने घोषणा गरेको छ ।

अमेरिका र उसको चहेती मित्र बेलायतलाई के डर भइरहेको छ भने कतै चीन विश्वको एक्लो महाशक्ति बन्ने त होइन ? वल्र्ड अडर चीनको पोल्टामा पुग्ने त होइन ? भन्ने डरले गर्दा चीनलाई रोक्नु पर्ने अमेरिका र बेलायतको ठम्याइ छ । राजनीति, कुटनीति, व्यापार, उद्योग, प्रविधि आदिमा प्रतिबन्ध लगाएर चीनलाई रोक्न नसकिने अमेरिका र बेलायतको ठम्याइ बढ्दैछ । किनकि अमेरिका र बेलायतले प्रतिबन्ध लगाएका देशहरुमा चीनले सुटुक्कै सम्बन्ध स्थापित गरिरहेको छ । व्यापारका क्षेत्रमा चीन सबै महादेशमा व्यापक छाइसकेको छ । त्यसैले चीनको आर्थिक विकास निश्चित छ । कोरोना कालमा पनि अमेरिकाको तुलनामा चीनले आर्थिक उपलब्धि गरिरहेकै छ । १४ ट्रिलियन डलर जिडिपि भएको चीन अहिले कम्तिमा ११, १२ ट्रिलियन डलरको आसपासमा छ । यसैबीच अमेरिकाले दुश्मन ठानेको इरानसँग चीनले २५ वर्षसम्म सस्तोदरमा तेल किन्ने सम्झौता गरिसकेको छ । अमेरिकाको मुख्य आम्दानीको स्रोत तेलको व्यापार चाहिँ ठप्प छ ।
प्रकट नगरे पनि मुख्यतः अमेरिका तेस्रो विश्व युद्ध चाहन्छ । युद्ध बदला लिने भावनाबाट उत्प्रेरित भइरहेको छ । चीनले विश्वमा कोराना भाइरस पठाएर आर्थिक क्षति गरेको र स्वयम् चीन चाहिँ पैसा कमाइरहेको छ भन्ने अमेरिका ठान्दछ ।

युद्धमा होमिन एक्लैले सकिने होइन । त्यसैले अमेरिकाले गठबन्धन बनाइरहेको छ । निश्चय पनि तेस्रो विश्वयुद्ध अमेरिका र चीनबीच नै हुनेछ । अमेरिकी गठबन्धनमा अमेरिका, क्यानाडा, इजरायल, बेलायत, अष्ट्रेलिया, जापान र भारत हुनेछन् । चीनलाई सपोर्ट गर्नेमा प्रत्यक्ष रुपमा कुनै देश अगाडि नआए पनि पाकिस्तान, इरान, इराक, टर्की, उत्तर कोरिया, मध्य पूर्व र मध्य एशीयाका केही देशहरु चीनलाई सघाउन आउन सक्छन् । खतरा महसुस भयो भने रुस कुनै पनि रुपमा अमेरिकालाई रोक्न आउन सक्छ । हप्ता दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् कि चीनविरुद्धको कुनै पनि गठनबन्धमा रुस सामेल हुँदैन । चीन, रुसको भरपर्दो साझेदार भएको पुटिनले बताएका छन् । तेस्रो विश्वयुद्धको शुरुमा चीन एक्लै पर्नेछ । त्यसै भएर अमेरिका निकै विश्वस्त हुँदै दक्षिण चीन सागरसम्म पुगिसकेको छ ।

चीनको सुुदूरपूर्वी दक्षिणी सिमानादेखि दक्षिण, भियतनाम र पूर्वदिशामा रहेको फिलिपिन्सबीच हुँदै दक्षिणतिर मलेसिया र इण्डोनेसियाबीचको ३५ लाख वर्ग किमिको विशाल सामुद्रिक जल क्षेत्रलाई दक्षिण चीन सागर भनिन्छ । यस आसपासका देशहरु भियतनाम, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया आदिले बिरोध गरिरहेपनि दक्षिण चीन सागर ऐतिहासिकरुपमा हजारौँ वर्षदेखि आफ्नो भएको चीनले दाबी गर्दै आएको छ । दक्षिण चीन सागरको दक्षिणी सिमाना नजिक चीनले अभूतपूर्वरुपमा केही मानव निर्मित कृतिम टापु बनाइसकेको छ । दुई टापुमा त हवाईपट्टी नै बनाएको छ र रक्षा संरचना निर्माण गरेर सेना परिचालन गरेको छ । मानव आवादीका लागि चीनले ती टापुहरुमा जनताहरुलाई लगेर बस्ति बसाईसकेको छ । टापुहरुमा खेतीपाती, पशुपालन, मत्स्य पालन आदि गरिन्छन् । स्कुल, अस्पताल, किनमेल केन्द्र लगायत आवश्यक सेवा पनि स्थापना गरिएको छ । यी टापुहरु लगायत यस जलक्षेत्रमा रहेका पारासेल र स्प्रैट्ली टापुहरुमा धेरै पर्यटकहरु आउने गर्दछन् ।

अमरिकाको प्यासिपिक कमाण्डका पूर्व कमाण्डर एडमिरल, ह्यारी ह्यारिसले चीनले दक्षिण चीन सागरमा बालुवाको ग्रेटवाल बनाइसकेको बताएका छन् । यी सबले गर्दा दक्षिण चीन सागर चीनको अधिनमा पुगिसकेको अमेरिका ठान्दछ । त्यसैले अमेरिका जसरी पनि चीनलाई यहाँबाट धपाउन चाहन्छ । दक्षिण चीन सागर चीनको साम्राज्य होइन भनेर हालै मात्र अमेरिकी स्टेट सेक्रेटरी माइक पम्पेओले समेतले तिखो टिप्पणी गरेका छन् । यहाँ भौगर्भिक खजानाहरु भएको विश्वास छ । जसको उपयोगबाट चीन कालान्तरसम्म धनी बन्न सक्छ । यो जलक्षेत्र सामरिक र व्यापारिक हिसाबले अत्यन्त रणनीतिक भएकाले अमेरिका समेतले आँखा गाडेको हो, तर चीन टसकोमस हुन चाहँदैन ।

अमेरिकाले चीनलाई दक्षिण चीन सागरबाट सजिलै धपाउन नसक्ने हुनाले तेस्रो युद्धको साहारा लिनुपर्ने हुन्छ । यसका अलावा अमेरिका, इन्डो प्यासिपिक जलक्षेत्रमा प्रभुत्व जमाउन चाहन्छ । यस जलक्षेत्र हुँदै सबै देशले स्वतन्त्र र साझा रुपमा आउजाउ गर्न पाउनुपर्छ भनेर अमेरिकाले वकालत गरे पनि अमेरिका चीनविरुद्ध नै यस क्षेत्रमा उपस्थिति बढाइरहन चाहन्छ । यस क्षेत्रमा चीन घुस्यो भने अमेरिकाका लागि एट्लान्टिक सागर मात्र बाँकी रहन्छ । तर, युरोप, अफ्रिकाभरी चीन छाइसकेको छ । त्यसै भएर चीनलाई कमजोर बनाउन तेस्रो विश्व युद्धका लागि अमेरिकाले उक्साइरहेको छ । तर अमेरिकाको उद्देश्य पुरा हुने देखिँदैन किनकि अमेरिका यहाँसम्म आएर बर्चस्व जमाएको रुस मन पराउँदैन । यसको संकेत रुसले सिरियामा दिइसकेको छ । सिरियामा अमेरिकी चाल नाकाम भएको छ । त्यसैले रुसले चीनलाई सघाएर यहाँको भौगर्विक धनको उपयोग गर्न सक्दछ । चीनले पनि दक्षिण चीन सागरको धन एक्लै उपयोग गर्ने रणनीति लिएको होइन । आसपासका देशहरुसँग मिलेर नै उसले साझा उपयोग गर्नेछ ।

के चीन तेस्रो विश्वयुद्धमा टिक्न सक्छ ? चीनले सामरिक र अन्तरिक्ष क्षेत्रमा गरेको प्रगति हेर्दा चीन युद्धमा खरो उत्रने देखिन्छ । चीनसँग परमाणु हतियार पनि प्रसस्तै रहेका छन् । त्यसैले पनि अमेरिकाविरुद्ध पलटवार गरिरहेको छ । अमेरिकाले यसलाई प्रतिष्ठा माथिको हमला ठानिरहेको छ । उसो त युद्ध अनुभवका दृष्टिले अमेरिका नै अगाडि छ । त्यसैले अमेरिकाले चीनमाथि अवश्य हमला गर्ने सम्भावना छ । परिणामतः चाँडै दक्षिण चीन सागरबाट नै तेस्रो विश्व युद्धको पहिलो बन्दुक पड्कने छ । किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनमा हमला गरेर जनमत बटुल्न चाहन्छन् । दोस्रो कार्यकालका लागि नोभेम्वरमा ट्रम्प, राष्ट्रपति पदको चुनाव जित्न चाहन्छन् । त्यसैले चीनमा सैन्य हमलाले तेस्रो विश्वयुद्धको रुप लिने सम्भावना छ । तेस्रो विश्वयुद्धमा निकै रोचक दृष्यहरु देख्न सकिने छ । किनकि अहिलेसम्मका उन्नत प्रविधियुक्त हतियारले युद्ध लडिने छ । तेस्रो विश्वयुद्ध ठ्याक्कै कस्ले जित्ला ? बरु विश्वका शक्ति राष्ट्रहरुले विश्वशान्तिका लागि गहन चिन्तन गरुन् र तेस्रो विश्वयुद्ध कहिल्यै हुँदै नहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here