आमाको सक्रियताले रोकियो छोरीको बालविवाह

0
811

टिस्टुङ,

आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो ।

वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्नुभएको हो । अर्को गाउँको २० वर्षीय केटाले १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउने बित्तिकै उहाँ बालविवाह विरुद्ध उत्रिनुभयो ।

छोरीको बालविवाह हुन लागेको भन्दै उहाँले वडाध्यक्ष दीपकसिं लामालाई फोन गर्नुभएको थियो । वडाध्यक्ष लामाले आफ्नै वडामा बालविवाह भएको सूचना पाउने बित्तिकै सामाजिक विकास मन्त्रालयमा खबर गर्नुभयो । लगत्तै मन्त्रालयले बालविवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालविवाह रोकियो ।

बालविवाहमुक्त वाग्मती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, शिविन बाल हेल्पलाइन हेटौंँडाका प्रमुख झविन्द्र ज्ञवाली, वडाध्यक्ष लामा, थाहा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिव पाल्साङ लामा, लेकाली बसिफाँट माविका अध्यक्ष विनोदकुमार लामालगायतको टोली गाउँमै पुगेर सम्झाइबुझाई गरेपछि बालविवाह रोकिएको छ ।

तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ (सगुन) नस्वीकारेसम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर विवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो विवाहलाई मान्यता दिइँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here