श्राद्ध होस् त यस्तो !

0
1325

विर्तामोड ।

सनातन धर्मशास्त्रमा आमाबाबु बाँचुञ्जेल श्रद्धापूर्वक उनीहरूको हेरविचार, पालनपोषण गर्नु, दिवंगत भएपछि पनि शास्त्रको विधान अनुसार शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवम् अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादी कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ ।

‘श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । आमाबाबुबाट लालनपालन भई हुर्कने, बढ्ने, संस्कार र शिक्षा प्राप्त गर्ने भएकाले प्रत्येक सन्तान मातापिताप्रति ऋणी हुन्छ । शास्त्र अनुसार यो ऋण तिर्नुपर्छ । त्यसैले आफू सक्षम भएपछि मातापिताको अन्त्यकालसम्म सेवा–सुश्रुषा पालनपोषण गर्नुपर्छ । साथै उनीहरूको मृत्युपश्चात् पनि काजक्रिया र वार्षिक श्राद्ध आदि पितृकार्य गर्नुपर्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाहिँ सोह्रश्राद्धको अवधिमा गरिन्छ । सामान्यतयः आ–आफ्नो गच्छे अनुसार आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले श्राद्ध गर्ने गर्दछन् । तर, बिर्तामोड–१ का मनुराम चिमरियाले भने वृद्धवृद्धालाई सहयोग गरेर पनि पितृकर्म अर्थात् श्राद्ध गरेका छन् । चिमरियाले कनकाई नपा वडा नं. ४ राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धालाई खाद्यान्न र नगद प्रदान गरेर पिता नन्दराम चिमरियाको श्राद्ध गरेका हुन् । पिता नन्दराम चिमरियाको स्मृतिमा ब्राह्मणहरूद्वारा भागवत गीताको पाठ गर्नुका साथै ब्राह्मणहरु र वृद्धवृद्धालाई भोजन समेत गराइएको थियो ।

विगत आठ वर्षदेखि कनकाई नपा वडा नं. ४ राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धालाई खाद्यान्न र नगद प्रदान गरेर पिता नन्दराम चिमरियाको श्राद्ध गर्दै आइरहेको उनले बताए । एचडी हेयर एण्ड डर्मा केयर प्रालि (स्कीन हस्पिटल) बिर्तामोडका सञ्चालक, सामुदायिक स्वास्थ्य सरोकार केन्द्र बिर्तामोडका अध्यक्ष लगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका चिमरियाले राधाकृष्ण मन्दिरमा आश्रय लिएर वसेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण, औषधि वितरण गर्नुका साथै खाद्यान्न समेत वितरण गर्दै आइरहेको बताए ।

सन्तानले पितृको सम्झनामा प्रत्येक वर्ष श्रद्धापूर्वक श्राद्ध गर्नुपर्छ तबमात्र त्यसलाई पितृले ग्रहण गर्छन् भन्ने शास्त्रीय भनाईलाई आत्मसात गर्दै वृद्धवृद्धालाई खाद्यान्न र नगद प्रदान गरेर पिता नन्दराम चिमरियाको श्राद्ध गर्दै आइरहेको उनले बताए ।

उक्त कार्यमा सहभागि क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पितले श्राद्ध गर्नाले पितृप्रतिको दायित्व बोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास भए पनि आधुनिकताका नाममा युवापुस्ताले यस्तो पूर्वीय संस्कार छोड्दै गएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले श्राद्धका नाममा हुने भोजभतेरमा फजुल खर्चले वृद्धवृद्धालाई सहयोग गरे उनीहरुले दिएको आशीर्वादले पितृ खुशी हुने बताउँदै चिमरियाले गरेको कार्यको प्रसंशा गरे ।

त्यस्तै राधाकृष्ण मन्दिर समितिकी संस्थापक सदस्य गायत्रीदेवी खतिवडा, राधाकृष्ण मन्दिरमा सञ्चालित गुरुकूलका प्राचार्य सन्दिप खतिवडाले श्राद्ध कर्म गरेर पितृलाई खुशी बनाउँदा नवीन र शक्तिमय ऊर्जा प्राप्त हुने भएकाले पितृ ऋणबाट पनि मुक्त हुन श्राद्ध गर्नुपर्ने बताउँदै चिमरियाले गरेको कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए । उनीहरु सबैको एउटै स्वर थियो– श्राद्ध होस् त चिमरियाले गरे जस्तो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here