विराटनगर,

प्रदेश नं १ को राजधानी विराटनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या १६८ पुगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको बुधबार कार्यालय प्रमुखको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले अघिल्लो दिन विराटनगरमा १५४ जना सङ्क्रमितमा ५२ जना महिला रहेको जानकारी गराउनुभयो ।
उहाँले विराटनगरमा १४ जना सङ्क्रमित थपिएको छ जसमध्ये ५५ जना महिला छन् भन्नुभयो । अहिले मोरङमा सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ हिजोसम्म ३८९ जना सङ्क्रमित थिए । प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या एक हजार १८९ पुगेको स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कोरोनाका कारण मृत्यु हुनेका सङ्ख्या चार पुगेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सेवाप्रदत्त कार्यालयले कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न नहुने भन्दै जनतालाई सेवाको भावले काम गर्न प्रमुखलाई निर्देशन दिनुभयो ।
उहाँले वर्तमान अवस्थामा कोरोनाको महामारी फैलिरहेको र यस्तो अवस्थामा पनि जनतालाई सेवा दिन कर्मचारीले आलटाल गर्न नहुने भन्दै सबै काम पारदर्शी ढङ्गले सम्पादन हुनुपर्छ भन्नुभयो ।
प्रजिअ निरौलाले जनतालाई सर्वाेपरी ठानेर काम गरेमा सङ्घीयताको विश्वसनीयता बढ्ने भन्दै कार्यालयको सरसफाइ, लिलामी, बेरुजुतर्फ र बजार अनुगमनको कार्यालयलाई तीव्र दिन निर्देशन दिनुभयो । कोशी अस्पतालका प्रमुख चुमनलाल दासले कोरोना भाइरसबाट जोगिन सकेसम्म वस्तु कम छुने, भौतिक दूरी कायम राख्ने, स्यानिटाइजमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
अर्का सहायक प्रमुख जिल्ला अधिकारी धु्रव खड्काले कोरोना समुदायतर्फ लम्की रहेको अवस्थामा सबैले विशेष सतर्कता अपनाउनुपर्ने भन्दै कुनै समस्या भएमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।































