चारपाने।

कनकाई नगरपालिका–४ कोटीहोममा जनस्तर (एकका लागि एक अभियान)बाट स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबको तयारीको सम्पूर्ण काम पूरा भइसक्दा पनि सहयोगी संस्था तथा व्यक्तिहरुबाट सहयोग जुटनेक्रम रोकिएको छैन ।
बिहीबार कोटीहोमस्थित ल्याव स्थल कर्मयोग भवनमा आयोजित एक कार्यक्रमकाबीच केही संस्था तथा व्यक्तिहरुले एकका लागि एक अभियानलाई करिब आठ लाख रुपैयाँ प्रदान गरेका छन् । पीसीआर ल्याव स्थापनाका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडले एक लाख, कनकाई नगर सहकारी समन्वय समितिले ५१ हजार, नेपाल भेनियर उत्पादक संघले ५० हजार, झापा इँटा उद्योग संघले ५१ हजार, दमक–६ निवासी भगवान बस्नेतले २१ हजार र सुरुङ्गा निवासी नमिता बस्नेतले दुई हजार रुपैयाँ प्रदान गरे । कार्यक्रममा एक्सेल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेश पोखरेल, बैंकका कर्जा असुली विभाग प्रमुख पंकज घिमिरेले चेक प्रदान गरे ।

त्यस्तै ग्लोबल आइएमई बैंकका बिर्तामोड शाखा प्रमुख पवन पौडेल र कर्जा अधिकृत मनोज बोहोराले चेक प्रदान गरे । त्यस्तै, कनकाई नगर सहकारी समन्वय समितिको तर्फबाट संयोजक चम्पा सुवेदी र सहसंयोजक कुमारमणि पोखरेलले, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे र उपाध्यक्ष श्याम न्यौपानेले चेक प्रदान गरेका थिए ।
झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापा, उपाध्यक्ष मदनकुमार अग्रवाल र सचिव दीपककुमार शाहले चेक प्रदान गरेका थिए । उनीहरुले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेतलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगर प्रमुख ध्र्रुवकुमार शिवाकोटी, हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, अर्जुनधारा नगर उपप्रमुख कमला आचार्य, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेल, अर्जुनधाराकी जनप्रतिनिधि सकुन्तला घिमिरेले समेत दाताले प्रदान गरेको चेक ग्रहण गरेका थिए ।
कार्यक्रममा सहभागीले समर्पण भवनमा स्थापना गरिएको पीसीआर ल्यावको समेत अवलोकन गरेका थिए । अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानको उद्देश्यबारे अभियानका सहसंयोजक बिनोद बस्नेतले प्रस्ट्याएका थिए ।

ल्यावको आवश्यकता र सञ्चालनको विषयमा झापाका धेरै स्थानीय निकायबाट आर्थिक व्यवस्थापन खर्चमा बार्षिकरुपमा रकम उपलब्ध गराउने प्रतिबद्धता भइसकेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा सहभागी पालिका प्रमुख, उपप्रमुुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतले व्यवस्थापनमा साझेदारी गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सिंगो झापाको सम्पत्तिको रुपमा रहेको पीसीआर ल्यावलाई जिल्लाका १५ वटै पालिकाले अपनत्व ग्रहण गर्ने प्रस्ताव राखिएको छ । जसका लागि नगरपालिकाले कम्तिमा १० लाख र गाउँपालिकाले पाँच लाख व्यवस्थापन खर्चवापत बार्षिक छुट्याउनुपर्ने जनाइएको छ ।

हालसम्म अभियानमा करिब एक करोडको लागतमा ल्याव स्थापना गरिसकेको छ । मेची अस्पतालको मातहतमा सञ्चालनमा आउने ल्याब केही दिनमा शुरु हुनेछ । एकदिनमा चार सय ५० नमूना परीक्षण गर्ने क्षमता भएको ल्याब नागरिकस्तरबाट निर्माण गरिएको हो ।
कार्यक्रममा अभियानका सदस्यहरु केदार गिरी, कुमार भट्टराई, शिव कँडेल, गजेन्द्र पौडेल, मिजास पोखरेल, मदनगोपाल सुब्बा, सञ्जिव घिमिरे, लीला चिमरिया लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अभियन्ता एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।





























