डाइनो छैन आज

0
1398

 

                                                                    कविता : मन्दाक्रान्ता छन्द  

 

 

मूसो आयो सदन घरमा मेचमा भ्वाङ पार्ने
सेतो हात्ती ढसमस बसी मेच मै स्वाङ पार्ने
लाप्पा खेल्छन् गज र चितुवा हेर्न आनन्द आयो
हेर्दै पल्लो घर दलिनको माइलो झन् रमायो ।

सोझा बाख्रा चरन तिर नै स्यालले हाल्छ घेरा
भेडा बस्छन् गगन मुनि नै छैन छानो र डेरा
खोजी गर्दै मृग हरिणको बाघ आयो सिकारी
गोठालो त्यो नगरपुरको सिंह आफै भिखारी ।

ब्वासो आयो शहर बिचमा बाल चल्ला हराए
को को हो लो गजब मचियो माउ बाछा कराए
को गर्ला खै जतन यिनको डाइनो छैन आज
साँढेलाई खटपट भयो देखदा कामकाज ।

कर्मी मौरी परिश्रम गरी खाद्य जोगाड गर्छ
भाले डाका ठग घर बसी धेर खाएर मर्छ
हड्डी भुत्ला पनि हसुरने जन्तु निस्के धरामा
सोझा सीधा पशु जति सबै थन्किए पिञ्जरामा ।

घोर्ले बोको बलि हुन गयो युद्धको अग्रदूत
यस्तै यस्तै अझ कति मरे नाम मात्रै सपूत

माछो मर्दा धुरुधुरु रुदै आँसु झार्दैछ गोही

नौलो योद्धा यस धरतिमा जन्मिने होकि कोही

तुलसीप्रसाद भट्टराई

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here