दुई सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

0
963

सोलुखुम्बु,

यहाँबाट सोमबार एकै दिन दुई सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर १ र खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ बाट एकएक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीका अनुसार नेचासल्यान –१ की २५ वर्षीया मनिषा तामाङको शिशुको अवस्था अत्यन्त जटिल भएको तथा खुम्बु पासाङल्हामु –२ की ३५ वर्षीया कामिनी तामाङको साल अड्किएकाले उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।

दुवै महिलालाई राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिषाको सामान्यावस्था भए पनि शिशुलाई भने कृत्रिम श्वास दिएर बचाइएको स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डा अभिषेक सुमनले बताउनुभयो ।

शिशुको अवस्था अति जटिल भई तत्काल सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने भएकाले कान्ति बाल अस्पताल काठमाडौँ लगिएको छ । यस्तै खुम्बु पासाङल्हामुबाट उद्धार गरिएकी महिलाको भने प्रसूतिगृह थापाथलीमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here