‘परिवर्तनका पाइलाहरु’ लोकार्पण

0
1178

झापा।

प्रदेश नं. १का सामाजिक विकासमन्त्री जीवन घिमिरे ‘परिवर्तनका पाइलाहरु’ नामक पुस्तक लोकार्पण गरेका छन् ।

झापाको बिर्तामोडस्थित नेकपा पार्टी कार्यालयको सभाहलमा मंगलवार आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री घिमिरेले पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले पार्टीभित्र एकता, सहकार्य र सद्भावमा ह्रास हुँदै गएको बताए ।

पहिला–पहिला कमरेडहरुमा एकता, सद्भाव र समर्पणको भावना थियो तर अहिले खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको छ– उनले भने । परिवर्तनलाई संस्थागत गर्न आपसी एकता र सद्भाव अपरिहार्य भएको उनले बताए । उनले पार्टीमा अवसर मात्र खोज्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै समर्पणको भावनाको विकास हुन जरुरी रहेको औँल्याए ।

नेपाली महिला आन्दोलनकी सशक्त नेतृ स्व. लीला कट्टेलको नाममा स्थापित लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको झापाका महिला जनप्रतिनिधिहरुको विवरण समेटिएको परिवर्तनका पाइलाहरु ४१८ पृष्ठको रहेको छ । जसमा जिल्लाभरका २८५ जना महिला जनप्रतिनिधिको व्यक्तिगत विवरण समावेश गरिएको छ भने प्रमुख, उपप्रमुख पदमा रहने महिला जनप्रतिनिधिहरुको संघर्षका कथाहरु समेटिएको पुस्तकका सम्पादक सन्तोष आचार्यले जानकारी दिए ।

मुलुकको विभिन्न आन्दोलन र क्रान्तिमा होमिएकी स्व. कट्टेलको योगदानलाई चिरस्थायी बनाउन र समग्र महिलाको उत्थान गर्न प्रतिष्ठान गठन गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् झापा क्षेत्र नं. २का सांसद् पवित्रा निरौला खरेलले बताइन् । राजनीति परिवर्तनका लागि पहिलो नारीका रुपमा लीला कट्टेल भूमिगत हुनुभएको थियो– उनले भनिन्– नेपाली जनताको मुक्तिका लागि उहाँको योगदान अतुलनीय छ ।

२०२५ सालदेखि २०३० सालसम्म समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण र दमनको विरुद्ध जनतालाई जागृत र संगठित गर्ने आन्दोलनमा सक्रिय रहेकी कट्टेल २०३० साउन २१ गते पञ्चायती शासकहरुको दमन उत्पीडनको क्रममा गिरफ्तार भइ २०३३ साउन २१ गते रिहा भएकी पुस्तक प्रकाशन समिति सदस्य भीमा शिवाकोटीले बताइन् ।

प्रतिष्ठानकी अध्यक्ष पवित्रा निरौला खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल, प्रदेश सांसद् झलकसिंह दर्लामी, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासी, भद्रपुरका नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here