तीज संस्कृति अक्षुण्ण रहोस्

0
1490

सम्पादकीय

नेपाली नारीहरुले आज तीजको ब्रत बसेका छन् । देवी पार्वतीले शिवजीलाई वर पाउँ भन्ने मनोकामना राखेर व्रत बसेको दिनका रुपमा आजको दिनलाई तीज भनिएको जनविश्वास छ । यही विश्वासमा प्रारम्भ भएको तीजको प्रचलनमा विवाहपश्चात पति, परिवार र सन्तानको रक्षाको कामना गरी व्रत बस्ने चलन छ । व्रतको अघिल्लो दिन राति मीठो मसिनो खाने चलन छ जसलाई दर खानु भनिन्छ । विवाहित नारीहरु चाड मनाउन माइतीघर गएका हुन्छन् र आमासँग बसेर आफ्ना भोगाइहरु साझा गर्दै पाकेको विशेष परिकार खाने परम्परा आज पनि कायम छ । तर, आज उहिलेको जस्तो निराहार र निर्जला व्रत बस्ने चलन छैन र महिना दिनभरि नै घुमेर दर खाने, समूहमा नाचगानसहित मनोरञ्जन गर्ने नयाँ प्रचलन शुरु भएको छ । यसले सांस्कृतिक परम्परामा विचलन ल्याउने टिप्पणी समेत हुन थालेको छ ।

तीजको व्रत बसेर शिव मन्दिर र शिवालयहरुमा गएर भगवानको दर्शनसहित विशेष पूजा गरिन्छ । त्यसैले भगवान पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा व्रतालुहरुको घुइँचो रहन्छ । रातो रंगमा सजिएका किशोरी, युवती लगायत विवाहित नारीहरु तीजका गीतमा नाचगान गरेर वर्षभरि भोगेका नरमाइला क्षणहरु बिर्सिने गर्दछन् । लोकभाकाका गीतहरुमा मौलिक संस्कृतिको प्रदर्शन गरिने यो परम्परामा द्विअर्थी र अश्लील शब्द र भाकाको प्रयोग हुन थालेको अवस्थाले भने सनातनी मान्यतालाई कमजोर पार्न थालेको हो कि जस्तो आभाष हुन थालेको छ ।

नारी सृष्टिको सुन्दर उपहार हो । शक्तिका केन्द्र हुन् र सृष्टिका कारक पनि । त्यसैले नारी जातिको यो विशेष पर्वलाई पुरुषहरुले पनि सम्मान गरेका छन् । चेली–माइतीको विशेष सम्बन्ध रहेको यो पर्वले एकापसमा प्रेम, सद्भाव, स्नेह बढाओस् । आमा–बाबुको चिर अनुपस्थितिमा पनि माइती जान सकिने हार्दिकता नमरोस् । टाडा–टाडा भएका माइती, माइती गाउँका साथीहरु आफन्त र प्रियजनसँगको भेटघाट, नाचगान र अनुभव र अनुभूतिहरु साटासाट गर्न पाउने यो चलन जीवन्त होस्, संस्कृति अमर रहोस् । वर्षा सकिए पछि आउने यो पर्वले सामाजिक, पारिवारिक र चेली–माइतीको सम्बन्ध र सद्भाव अक्षुण्ण राखोस् । यो वर्ष परिस्थिति फरक छ । कोरोना महासंकटले सर्वत्र अनिश्चय र त्रास सृजना गरेको छ । कतै बन्दाबन्दी, कतै सिल त कतै निषेधाज्ञा नै जारी भएको छ । जसका कारण विगतको जस्तै निर्वाध गतिविधि गर्ने, सांस्कृतिक परम्परा धान्ने अवस्था छैन । तर, पनि सकारात्मक बनेर संकटसँगै परिस्थितिको सामना गरांै । सबै चेलीहरुको मनोकांक्षा पूरा होस्, संस्कृति नमरोस्, सबै चेलीहरुको जय होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here