झापामा ३५००० स्मार्ट लाइसेन्स बितरण

0
666

झापा ।

यातायात व्यवस्था कार्यालय झापाले हालसम्म ३५ हजार स्मार्ट लाइसेन्स बितरण गरेको छ । सरकारले सबारी चालक अनुमति पत्रलाई स्मार्ट कार्डका रुपमा अनिवार्य गरेपछि पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङका गरी ३५ हजार एक सय २८ वटा स्मार्ट कार्ड बितरण गरिएको कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन थोरै भएकाले सीमित संख्यामा मात्रै स्मार्ट लाइसेन्स आउने गरेकाले समस्या भएको उनको भनाइ छ । उनका अनुसार अझै ४० प्रतिशत सवारी चालकले चिटको भरमा सवारी सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसका कारण हाल नयाँ आवेदन लिने काम बन्द भएकाले यातायात कार्यालयमा आउन बाँकी पुराना लाइसेन्सहरु धमाधम प्रिन्ट हुने क्रममा रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । लक डाउनको समयमा १४ हजारको स्मार्ट लाइसेन्स आएको पौडेलले बताए ।

यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्सको अवधारणा ल्याए पनि ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स जाँच्ने उपकरणको अभाव हुँदा समस्या भएको बताइएको छ । मादक पदार्थ सेवन गरेर पाँच पटकसम्म सवारी चालक अनुमति पत्र प्वाल गरिए उक्त लाइसेन्स स्वतः खारेज हुने व्यवस्था भएकोमा मापसे गरेर सवारी सञ्चालन गर्ने स्मार्ट लाइसेन्स भएका चालकलाई भने कारवाहीको दायरामा ल्याउन समस्या भएको यातायात व्यवस्था कार्यालय झापाका प्रमुख पौडेलको भनाइ छ ।

पूर्बका चार जिल्लामा एक लाख ४० हजार ७ सय ७७ वटा सवारी दर्ता छन् । जसमध्ये सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी रहेको कार्यालय प्रमुख पौडेलले बताए । उनका अनुसार दुई पाङ्ग्रे सवारी मोटरसाइकल र स्कुटरको संख्या एक लाख १३ हजार छ ।

यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०७६÷०७७मा ५२ करोड ८५ लाख ८१ हजार ५ सय ९४ रुपैयाँ ९० पैसा राजश्व संकलन गर्न सफल भएको पौडेलले जानकारी दिए । कोरोना भाइरसका कारण जोखिम बढे पनि यातायात कार्यालयले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here