देवी गौतम,
कहिलेकाही शिर्षक नै काफी भैदिन्छ ठ्याक्कै त्यस्तै भयो, यसपालाको एसइइको नतिजामा “आफ्नै हात जगन्नाथ”। इतिहासमा नै पहिलोपटक स्थगित भएको एसइइको परिक्षा अन्तिम समयमा आएर नेपाल सरकारले कोरोनाको संक्रमणका कारण समय अनुकुलतामा गर्ने भनि पछि सारेको थियो। तर, संक्रमणको गति घट्नुको साटो दिनानुदिन बढ्न थाले पछि सरकारले स्थगित परिक्षालाइ आन्तरिक मुल्यांकनका आधारमा विद्यालयले नै ग्रेडिंग शीट बनाउनु पर्ने र त्यसलाई नै आधिकारिक मान्ने निर्णय पछि भाद्र १ गते अन्तिम नतिजा घोषणा गरियो। नतिजा प्रकाशन पछि सर्बत्र यसका राम्रा र नराम्रा पक्षका बिचमा बहसहरु भै रहेका छन। यो लेखको उद्देश्य कुनै बिद्यालयसग सम्बन्धित भन्दा पनि भविष्यका कर्णधार विधार्थीलाई हामीले जसरि अगाडी बढाउनु पर्ने हो त्यसरी नै बिद्यालयले दिएका यी नतिजाहरु मुखरित छन् कि छैनन् भन्ने बिषयमा केन्द्रित हुनेछ।
आन्तरिक मुल्यांकन प्रणालीको विकृत रुप होला सायद एसइइ परीक्षाको नतिजामा झन्नै ९००० भन्दा बढी बिधार्थीको चार जीपीए आउनु। यसबाट के सहज अनुमान लगाउन सकिन्छ भने प्राय विधार्थीले क्षमता भन्दा बढी अंकभार पाएका छन् भन्दा अत्युक्ति हुदैन होला। यहाँ प्रश्न उठ्न सक्छ अंक विधार्थीलाई बढी दिदैमा के फरक पर्छ त ? गम्भीर यक्ष प्रश्न नै यहि हो बिधार्थीको जति क्षमता हो उसले अंकभार नि त्यति नै पाउनु पर्छ, घटी या बढी हुनुहुदैन यो सर्बब्यापी मान्यता पनि हो । यसमा दोषी बिधार्थी हुन् त पक्का पनि होइनन त्यसो भए दोषी कसलाई मान्ने र किन मान्ने अर्को टड्कारो प्रश्न हो। के यस्ता कुराले गुणस्तरीय शिक्षामा प्रभाब पार्छ या बढावा दिन्छ यावत प्रश्नहरु जन्माई दिएको छ विधार्थीलाई दिएको बढी नम्बरले।
बिधालयलाइ यसपाला एउटा अवसर थियो, आफैले आफ्ना विधार्थीलाई अंकभार दिन मिल्ने त्यो पनि एसइइ परिक्षामा जसले सधैभरिलाइ एउटा मानक शृजना गर्न सक्थ्यो, गुणस्तरीयता कायम गर्न उल्लेखनीय भूमिका खेल्न सक्थ्यो, विधार्थीले आफुमा गर्बबोध गर्न सक्थे, बिधार्थीमा कम अंक ल्याएर होइन बढी अंक प्राप्त भएकोमा अप्ठेरो महशुस भैरहेको छ। राम्रा बिधार्थी अझ बढी मारमा परेका छन् किन कि उसलाई राम्रोसंग थाहा हुन्छ कि आफुसंगै प्रतिस्पर्धा गर्ने साथी कस्तो छ भनेर, बिडम्बना अंक बढी दिने बहानामा औसत बिधार्थीको अंकभार बढी आउदा उत्कृस्ट विधार्थीले कति हिनताबोध भयो होला सहजै अनुमान लगाउन सकिन्छ।
मैले सामाजिक संजालमा यसै बिषयमा आफ्ना धारणा राख्दै बिधालय प्रशासनले बढी अंक दिएर लाजको पसारो गर्ने काम गर्यो भनेर लेखेको थिए। एकजना मेरा मित्रले तुरुन्तै यो प्रश्न म तर्फ नै यसरि नै तेर्साउनु भयो, ३६५ दिनको सिकाइ लाई ३ घण्टामै प्रस्तुत गर्ने र त्यस्को नापजोख अर्थात मुल्याङ्कनचै जम्मा २ -३ मिनेटमा गर्ने पुरानै परिक्षा प्रणाली नै ठिक भन्ने हो देवी जी ? पुरानो परीक्षा प्रणालीको त म झन् पक्षपाती हुदै होइन तर के चाही हो भने साठी चालीसको औसतमा परम्परागत परीक्षा नियन्त्रण प्रणालीलाई लानुपर्छ भन्ने चाही हो फेरी पनि। संगसंगै सैदान्तिक र घोकन्ते विधा भन्दा प्राक्टिकल कुराहरुमा बढी ज्ञान दिनेखालको पेडागोजीको विकास गर्नु शिक्षामा अर्को अपरिहार्यता हो।
यहाँ आन्तरिक मूल्यांकनको पनि धज्जी उडाएका आशंका प्रसस्त नै गर्न सकिन्छ भनाइको मतलब के हो भने कक्षा १० मा (टर्मिनल) विधार्थीलाइ जति अंक प्रदान गरिएको थियो त्यसलाई मात्र कायम गर्न सकिएको भए यसप्रकारको ग्रेडिंगम़ा नियन्त्रण हुन् सक्थ्यो। यहाँ त यस्तो अघोषित र अस्वस्थ प्रतिस्पर्धा कायम भयो कि यहि बेलामा हो मौकामा चौका हान्ने भने जसरि बिद्यालयहरुले तछाड मछाड गरेको पाइयो जुन कति घातक निर्णय थियो भनेर भबिस्यले बताउला।
अन्त्यमा, शिक्षालाइ जसरि ब्यापारीकरण गर्न अंकभारको व्यापार गर्न खोजिएको छ यसले सुखद नतिजा ल्याउदैन। १० कक्षा भन्दा माथिका कक्षाहरु अझ बढी चुनौतिपूर्ण छन्। शिक्षाम़ा प्रतिस्पर्धा जहिल्यै नि आकर्षित हुन्छ, हुनु नि पर्छ यसका लागि नियामक निकायले बढी चासोको साथ् क्रस चेक गर्नुपर्छ। झन्नै पाँच लाख संख्याम़ा उत्तीर्ण भएका आम विधार्थीहरुलाई हृदयदेखि नै बधाई छ। आशंका गरिएको बढी अंक साँच्चै नै आम बिधार्थीले मेहनतका साथ आगामी शैक्षिक खुड्किलाहरुमा सधै सधै ल्याउन सकुन शुभकामना ।।।
(लेखक- सूर्योदय टेलिभिजनमा कार्यक्रम प्रमुख हुनुहुन्छ )


























