रत्नबहादुर बस्नेत,
थुप्रै खोपडीहरु अगाडि सजाएर
परिश्रमको पसिनाले भिजाउँदै
अधिकार र कर्तव्यको हत्तेउडीले
काँचो माटो जस्तै कड्दै पिड्दै
अनुशासनको चक्रमा घुमाउँदै
माटोको भाँडा बनाउने
ज्ञानविज्ञानको बुट्टा भर्दै खटिरहने
कुमाले जस्तै शिक्षकको जिन्दगी ।
उपरोक्त कवितामा भनिए जस्तै आदर्श शिक्षकको भूमिका निर्वाह गरेर अवकाश प्राप्त शिक्षकको रुपमा रहेका एक पूर्व शिक्षक हुन्– मखनबहादुर गुरुङ । यो भोगाइ शिक्षक कविता मार्फत स्वयम् गुरुङले व्यक्त गरेका हुन् । झापाको बिर्तामोड नगरपालिका–१० सैनिक (चमरधाप) निवासी मखनबहादुर गुरुङ स्थानीय महेन्द्रज्योति माविका चार दशक लामो शिक्षण पेसाबाट निवृत प्रधानाध्यापक हुन् । धनकुटा क्याम्पसमा शिक्षाशास्त्रमा स्नातक (बीएड)सम्म अध्ययन गरेका उनको जन्म स्व. माता मञ्जुरी गुरुङ र स्व. पिता रामबहादुर गुरुङको कोखबाट वि. सं. २००८ साल बैशाख १५ गते इलाम जिल्लाको साखेजुङ्गमा भएको थियो ।
झापाकै पुरानो विद्यालय आदर्श मावि घैलाडुब्बाबाट माध्यमिक तहको शिक्षा हासिल गरेका उनी यतिबेला आफूमा निहीत ज्ञान, सीप तथा अनुभवलाई साहित्य लेखनमा उपयोग गर्दैछन् । विद्यार्थी अवस्थामै धनकुटा क्याम्पसमा हुने विभिन्न साहित्य गोष्टी (कविता प्रतियोगिता)मा प्रथम स्थान हासिल गर्न सक्षम प्रतिभाशाली व्यक्तित्व उनले केही समय पहिले ‘घिडघिडो’ नामक एक कविता संग्रह प्रकाशित गरिसकेका छन् । यस्तै अनेकौं फुटकर रचनाद्वारा साहित्यिक झुकाव दर्शाएको पाइन्छ । सानै छँदा मातृ वियोगमा परेका उनी अत्यन्त दुःख गरेर पालनपोषण गरी शिक्षादीक्षा प्रदान गर्ने जन्मदाता मातापितालाई सुखपूर्वक सेवासुश्रुसा गर्ने सपना पूरा नभएकोले त्यही ‘घिडघिडो’ कविता संग्रहका रुपमा प्रकाशित गरेको बताउने उनले विद्यालय तथा अन्य संघ–संस्थाद्वारा आयोजित कार्यक्रमहरुमा विभिन्न कविता, गीत सुनाएर दर्शक–श्रोतालाई मन्त्रमुग्ध पार्ने समेत गर्छन् । उनले गुरुङ तमू भाषामा समेत केही कविता रचना तथा प्रकाशन गरेर मातृभाषाको संरक्षणमा योगदान दिएको पाइन्छ । अरुलाई शिक्षा र आफ्नो आत्मसन्तुष्टिका लागि साहित्य लेख्ने उनको भनाइ छ ।

शिक्षण पेशाको लामो अनुभव सँगालेका उनी असल शिक्षकका रुपमा सबैसामु परिचित र सम्मानित छन् । विभिन्न संघ–संस्थामा आबद्ध उनी नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय काठमाडांैबाट दीर्घसेवा पदक, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा, नेपाल शिक्षक संघ झापा, शिक्षा कार्यालय झापालगायत एक दर्जनभन्दा बढी संघ–संस्थाबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् । करिब चार दशक लामो शिक्षण सेवा गरेर देशको सेवामा सम्पूर्ण जीवन व्यतित गरेकोले देशको लागि केही गर्न पाएकोमा खुशी लागेको बताउने उनी यतिबेला सिर्जनात्मक कार्य साहित्य लेखनमा सक्रिय छन् ।
केही समय पहिले एउटा कविता संग्रह प्रकाशित गरिसकेका उनी हाल आफ्नो दोस्रो कृति ‘बाडुली’ सामाजिक कथा संग्रह प्रकाशनको तयारीमा रहेको बताउँछन् । कतिपयले जागिरपछिको सरकारी सेवानिवृत्त जीवनका सम्बन्धमा राज्यले अवकाश प्राप्त निवृत शिक्षक लगायत अन्य कर्मचारीलाई उनीहरुको ज्ञान, सीप र अनुभवको उपयोग गरेर राष्ट्रले फाइदा लिन सक्ने भए पनि केही नगरेको गुनासो गरिरहेको र जीवन पट्यारलाग्दो भएको भन्दै यसरी बवास्ता गरेकोमा दुःख लागेको, नैराश्यपूर्ण र एकाकी जीवन व्यतित गर्न विवश हुनुपरेको जस्ता अभिव्यक्ति दिइरहेका बेला उनमा भने त्यस्तो आभाष पाइँदैन । उनी समयको सदुपयोग स्वयम् गर्छन् साहित्य सिर्जनामा ।
विभिन्न संघ–संस्थामा आवद्ध उनी त्यस्ता संघ–संस्था मार्फत सामाजिक कार्यहरुमा सक्रिय छन् । विभिन्न शिक्षा र उपदेशका चोटिला कविता सुनाउने समेत गरेका छन् उनले । अनि शैक्षिक अनुभव तथा विभिन्न वर्तमान परिस्थितिका विकृति विसंगतिमाथि तिखो प्रहार गर्छन् कविता मार्फत उनी । स्थानीय महेन्द्रज्योतिमा स्थापना कालको केही समयपश्चात् वि.स.२०२९ देखि शिक्षण पेशा शुरु गरेका गुरुङले २०६९ सालमा अनिवार्य अवकास लिएका हुन् । भौतिकरुपमा सम्पन्न रहे पनि विद्यार्थी संख्या न्यून रहेको आजको महेन्द्रज्योतिको विगतलाई सम्झँदै भन्छन्– ‘प्रारम्भमा स्थापनाकालमा विद्यालयको अवस्था नाजुक थियो । स्याउला–स्याउली, छाहारी, कटेरोमा बालबालिकालाई स्याहार सम्हार गर्दै पढाउनु पथ्र्यो ।’ वर्तमानमा सुविधासम्पन्न भवनले सु–सज्जित जुन विद्यालयले २०७३ सालमै स्वर्ण महोत्सव मनाइसकेको छ ।
शिक्षण शुरु गर्दाको अवस्थालाई सम्झँदै आफूले जिम्मेवारी समाल्दा विद्यार्थी संख्या ८५ जना रहेको र एक समय एक हजार तीन सयसम्म पुगेको अनुभव सुनाए । हाल त्यहाँ पाँच सयभन्दा पनि कम संख्यामा विद्यार्थी रहेको पाइन्छ । ‘त्यतिबेला विद्यालयमा पठनपाठनको अवस्था राम्रो र अनुशासित हुन्थ्यो ।’ पूर्व प्रधानाध्यापक गुरुङ भन्छन्– ‘हाल विद्यार्थी तथा शिक्षकमा अनुशासन र जिम्मेवारीबोधको कमीका कारण पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको हो ।’
निकै उत्साही मुद्रामा सामाजिक कार्यमा सक्रिय उनी उच्च नैतिक आचरण र स्वच्छ छवि भएका, पेशामा इमान्दार र निष्ठावान् शिक्षासेवी एवम् मार्ग दर्शक गुरुका रुपमा अझ पनि त्यतिकै प्रतिष्ठित छन् । शिक्षा नै मानिसको उन्नतिको मूल हो भन्ने धारणा राख्ने उनी सभ्य र समृद्ध जीवनका लागि मानिसले शिक्षा आर्जनमा अग्रसर बन्नपर्ने विचार राख्छन् । ६९ वर्षको पाको उमेरमा पनि जोश, जागर र उत्साहका साथ सार्वजनिक सभा समारोहमा सहभागिता जनाउनु शिक्षासेवी गुरुङको विशेषता र दिनचर्या बन्ने गरेको छ । पेशाप्रति निष्ठा, लगन, नैतिक चरित्रद्वारा असल शिक्षक बनेर देशको समृद्धिमा योगदान पु¥याउन वर्तमान समयमा शिक्षण पेशामा प्रवेश गरेकाहरुलाई शिक्षासेवी गुरुङको सुझाव छ ।



























