चन्द्रमणि अर्याल/झापा।

पूर्वी नेपाल हँुदै नेपाल प्रवेश गरेको मनसुन अहिले देशव्यापी सक्रिय छ । बहुसंख्यक नेपालीहरु अहिले पनि कृषिमा निर्भर भएता पनि देशको धेरै भागमा नहरमा आधारित सिञ्चाई प्रणाली नभएकाले मनसुनी वर्षाले नेपाली कृषकका लागि वेग्लै महत्व राख्दछ ।
अझ कोभिड महामारीका कारण वैदेशिक रोजगारी, पर्यटन जस्ता क्षेत्रमा व्यापक असर गर्ने प्रक्षेपणका बीचमा कृषि र मनसुनको महत्व यस समय अझ बढ्ने देखिन्छ । सायद कृषि जस्तै मनसुनसंगै जोडिएर आउने अर्को विषय उभयचर त्यसमा पनि भ्यागुताहरु हुन् । भ्यागुताको आफ्नै महत्व भएता पनि नेपालमा भ्यागुताहरुले उचित महत्व पाउन सकेको देखिँदैन् जसका कारण धेरै भ्यागुताको अस्तित्व संकटमा पर्दै गएको छ । नेपाली भ्यागुताको अध्ययन र संरक्षणमा ठोस् कार्य गर्नुपर्ने देखिन्छ ।
कति छन् भ्यागुताका प्रजाति ?
विश्वभरका उभयचरहरुको अध्यावधिक तथ्यांक राख्ने एम्फिविया वेभका अनुसार विश्वभर (जून १८, २०२० सम्म) ८१७६ प्रजातिका उभयचरहरुको अभिलेख गरिएको छ जसमध्ये बहुसंख्यक भ्यागुता (७२१२ प्रजाति)हरु रहेका छन् । उक्त साइटले सन् २००३ पछि उभयचरहरुको प्रत्येक वर्ष करिब १०० प्रजाति थपिने गरेको देखाउँछ ।
उक्त वेभसाइटले नेपालमा ५७ प्रजातिको उभयचर को अभिलेख देखाउछ जसमा ५४ प्रजातिका भ्यागुता रहेका छन् । पुराना अध्ययनका साथै वातावरण अध्ययन तथा संरक्षण केन्द्रको नेतृत्वमा गरको अध्ययनले काठमाडौं उपत्यकामा मात्रै १२ प्रजातिको भ्यागुताहरुको अभिलेख भइसकेको परिपेक्षमा देशभर ५४ प्रजातिका मात्रै भ्यागुता अभिलेख हुनुले विस्तृत रुपमा अध्ययन गर्ने हो भने नेपालका प्रजातिको संख्यामा वृद्घि हुन सक्दछ भन्ने तर्फ नै इगिंत गर्दछ ।
भ्यागुता संरक्षण किन गर्ने
भ्यागुताले परिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । खाद्य चक्रको मध्य भागमा रहने भ्यागुताहरुले पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्ने अहम् भूमिका निर्वाह गर्दछन् । उनीहरुले खाद्य उत्पादन बढाउन र मानिसहरुलाई रोगको जोखिम कम गर्न मद्दत गर्दछन् । भ्यागुताले बालीनालीमा लाग्ने किराहरु नियन्त्रण गर्न विशेष भूमिका निर्वाह गर्दछन् । जसको प्रत्यक्ष सम्बन्ध कृषि उत्पादनसँग जोडिन्छ ।
यसका अलवा, भ्यागुताले मानिसमा विभिन्न रोगहरु सार्ने लामखुट्टे जस्ता किराहरु नियन्त्रण गर्न मद्दत गर्दछन् । भ्यागुताहरुको महत्व यतिमा नै सीमित छैन् । मनपाहा वा सिर्के पाहा भनिने भ्यागुताको एक प्रजाति केही ठाउँमा खाने गरेको पाइन्छ भने खालाहरुमा भेटिने पाहाका प्रजातिहरु र नजिकका अन्य नेपालका पहाडी क्षेत्रमा विशेषतः जनजातिहरुका लागि प्रोटिनको राम्रो स्रोत हो ।
यसका अलावा, नैतिक पक्ष वहसको विषय भएतापनि, विज्ञानका विशेषतः +२का विद्यार्थीहरु र माथिल्लो तहमा जीव विज्ञानको अध्ययन गर्ने विद्यार्थीले अध्ययनका लागि भ्यागुताहरुको प्रयोग गर्दछन् । भ्यागुताहरु वातावरणमा आउने परिवर्तनका कारण धेरै प्रभावित हुने भएकाले वातावरणीय सूचकका रुपमा कार्य गर्न सक्दछन् । नेपाल जस्तो देश जहाँ जलवायुसँग सम्बन्धित धेरै तथ्यांक छैनन्, यस्तो अवस्थामा भ्यागुताहरु जलवायु परिवर्तनका लागि सुचकका रुपमा कार्य गर्न सक्दछन् । यसरी मानवीय जीवनका विविध आयाममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएता पनि भ्यागुताहरुको अस्तित्वमा खतरा उत्पन्न भएको छ । विश्वभरि ढाड भएका जीवजन्तुहरु मध्ये उभयचरहरु (जसमा अधिकतम भ्यागुताहरुका) सवैभन्दा बढी संकटमा रहेका छन् । सन् २००४मा गरिएको अध्ययनले विश्वभरका करिव एकतिहाई उभयचरहरु संकटमा रहेको देखाएको थियो । सन् २०१९मा प्रकाशित अर्को अनुसन्धानमूलक लेखले यथेष्ट तथ्यांक नभएका उभयचरहरुको अवस्थालाई समेट्ने हो भने विश्वभर भएका मध्ये करिब आधा भ्यागुताका प्रजातिहरु संकटमा रहने अनुमान गरेको छ ।
किन संकटमा पर्दैछन् भ्यागुताहरु ?
मानवीय क्रियाकलाप नै भ्यागुताको अस्तित्व संकटमा पार्ने मुख्य कारक तत्व हो । वासस्थानको विनाश, पानीका स्रोतहरुको प्रदुषण, बालीनालीमा हालिने रसायनिक मल तथा किटनाशक औषधि र विद्यालय तथा क्याम्पसहरुमा चिरफारका लागि गरिने भ्यागुताहरुको संकलन, बढ्दो शहरीकरणका साथै जलवायु परिवर्तन आदि भ्यागुतालाई संकटापन्न अवस्थामा पु¥याउने कारक तत्वहरु हुन् । केही ठाँउमा भ्यागुता घरमा आयो भने सर्प आउन सक्छ भनेर पनि उनीहरुलाई मार्ने गरेको पाइन्छ । यसका साथै सामाजिक अन्धविश्वासका कारण पनि धेरै प्रजातिहरुको अस्तित्व संकटमा परेको छ ।
यही मे १५ गतेका दिन बुटवल नजिकैको एक जना साथीले फेसशुक म्यासेञ्जरमा रुखमा चढ्न सक्ने प्रजातिको भ्यागुतोको फोटो पठाउनु भयो । केही समय पछि त्यो भ्यागुतो मारिएको खबर आयो । स्थानीय स्तरमा विषखपटा भनिँदोरहेछ । त्यो भ्यागुतामा विष हुने कुरा अहिलेसम्म प्रमाणित नभए पनि सामाजिक अन्धविश्वासका कारण उक्त भ्यागुतो मारियो । वर्षेनि विभिन्न वहानामा नेपालमा थुपै्र भ्यागुताहरुले ज्यान गुमाउँछन् । तर नेपालमा भ्यागुता संरक्षणका लागि ठोस कार्य हुन सकेको छैन् ।
नेपालमा भ्यागुताको अध्ययन
नेपालमा विभिन्न कालखण्डमा भ्यागुताहरुको अध्ययनहरु भएका छन् । मुलतः विदेशि अनुसन्धानकर्मीहरुले विभिन्न कालखण्डमा भ्यागुताको अध्ययन गरेको केही ठाउँमा सीमित छन् । नेपाली अनुसन्धानकर्मीमध्ये प्राध्यापक कालुराम खुम्बू (के आर) र करणबहादुर शाहको योगदान विशिष्ठ छ । पछिल्लो समय उभयचर र सरिसृपको अध्ययन तथा संरक्षणमा केन्द्रित भएर कम्प्यानियनस् फर एम्फिवियन एण्ड रेप्टाइल्स अफ नेपाल करिव एक दशकभन्दा बढी समय कार्य गरिरहेको छ ।
साथै विभिन्न अनुसन्धानकार्मीहरुले व्यक्तिगत रुपमा भ्यागुताहरुको अध्ययन गरिरहेका छन् । तर पनि देशभरको भ्यागुताको समष्टिगत अवस्थाका बारेमा अनुसन्धान हुन पाएको छैन् । जसले गर्दा हामीसंग भ्यागुताका बारेमा पर्याप्त जानकरीको अभावमा छ । साथै उनीहरुका संरक्षणमा लागि कार्य गर्न सकिएको छैन् ।
आगामी बाटो
यसैबीच वातावरण अध्ययन तथा संरक्षण केन्द्रले विभिन्न संस्था तथा निकायहरुको सहयोगमा देशभरिका भ्यागुताहरु र उनीहरुको वासस्थानका बारेमा अध्ययन गर्ने साथै उनीहरुको संरक्षणका लागि जनचेतना अभिवृद्घि गर्ने उद्देश्यले क्रोकिङ्ग मनसुन २०२० शुरु गरेको छ । यो अभियान मूलतः नागरिक वैज्ञानिक अवधारणामा आधारित छ र सवैले आ–आफ्नो ठाउँबाट यो अभियानमा सहभागी हुन सक्ने छन् ।
कोरोना महामारीका बीचमा भ्यागुता अध्ययन किन ?
कोरोना महामारीका कारण शहर बजारमा अध्ययन गर्ने बिद्यार्थी धेरै जसो गाँउघरमा पुगेका छन् । यसका साथै अध्ययन अध्यापनका कार्यहरु ठप्प भएको छ । कुनै पनि परिस्थितिमा सिक्ने र सिकाउने क्रमलाई नियमित राखिनु पर्छ ।
क्रोकिङ्ग मनसुन २०२० अभियान पनि कोरोनाका कहरका बीचमा घर गएका विद्यार्थीलाई उनीहरुको वरपरको वातावरणका वारेमा विशेषत उनिहरुको वरपर पाउने भ्यागुताका प्रजातिका बारेमा जानकार गराउने अभियान हो । यो अभियानले सिकाई प्रकृयालाई जीवन्त राख्न टेवा पु¥याउँछ । साथै भ्यागुता संरक्षणको सन्देश गाउँसम्म पु¥याउन मद्दत गर्नेछ । भ्यागुताहरु हाम्रै नजिकमा नै भेटिने भएकाले कोभिडका कारण अपनाउन पर्ने सवै सतर्कता अपनाएर भ्यागुताको अध्ययन गर्न र अभियानमा सहयोग पु¥याउन सकिन्छ ।
भ्यागुताका प्रजातिहरुले नेपालको सामाजिक आर्थिक र वातावरणीय क्षेत्रमा विभिन्न योगदान दिए पनि उनीहरु संरक्षणको मूलधारमा अटाउन सकेका छैनन् । नेपालमा भ्यागुताहरुको बारेमा यथेष्ट जानकारीको अभाव पनि संरक्षणमा पहल हुन नसक्नुको एउटा कारण हो । सबैले आ–आफ्नो ठाउँबाट स–सानो योगदान गर्ने हो भने प्रत्यक्ष रुपमा भ्यागुताको र परोक्ष रुपमा मानव सभ्यताको रक्षा गर्न सकिन्छ ।





























