झिलझिले ।

कनकाई नदीको बाढीले घर खेत बगाएर घरबारबिहीन भएकी झापा शिवसताक्षी–१०की तारा सेर्माको घर निर्माण शुरु भएको छ । शिवसताक्षी नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि मेची अभियानले सेर्माको घर निर्माण शुरु गरेको हो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र मेची अभियानका संयोजक विजय डालमियाले वैदिक विधि अनुसार घरको शिलान्यास गरेका हुन् । डालमियाका अनुसार सेर्मा तिहार अघिनै ३ कोठाको आरसीसी एटेच शौचालय र बाथरुम भएको घरमा आफ्ना तीन छोराछोरीका साथ बसाइँसरी जाने छिन् । उनको घर सात लाखको लागतमा निर्माण हुनेछ ।
असार १२ गते आएको अबिरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले सेर्माको घर खेत बगाएको थियो । प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासीन्दाले सेर्माको परिवारलाई तत्काल उद्धार गरेर अस्थाई छाप्रामा राखेका थिए । यो घटना सञ्चारमाध्यमले महत्वका साथ प्रकाशन प्रशारण गरेपछि झापाको मेची अभियानले चासो देखाएको थियो ।
अभियानका संयोजक डालमियाले भने– ‘हामीले स्थानीय पालिकाले सेर्माको लागि जग्गा दिने भए त्यसमा मेची अभियानले घर निर्माण गर्ने भनेका थियौं ।’ मेची अभियानको प्रस्तावलाई शिवसताक्षी नगरपालिकाको बोर्ड बैठकले सकारात्मक भनेपछि कार्यपालिका बैठकले नै जनता आवास क्षेत्रमा सेर्माकालागि घर निर्माणको मेची अभियानलाई अख्तियारी दिएको थियो ।
पतिको २ वर्ष अघि निमोनियाका कारण मृत्यु भएपछि तीनवटा छोराछोरीलाई पढाउने हुर्काउने जिम्मा सेर्माको काँधमा आइलागेको थियो । श्रीमान् रहुञ्जेल दैनिक ज्याला मजदुरी गरेर उनले आफ्ना परिवारको गुजारा चलाउँदै आएकी थिइन् । जब, श्रीमान्को मृत्यु भयो अनि सेर्मा बेसाहारा भइन् । उनको घरको चुल्होमा आगो बल्न छोड्यो । काखमा नानी भएकाले काम गर्न जान सकेकी थिइनन् । उनले काम नगरेपछि अन्नपात पनि घरसम्म आउन सकेन ।
छोराछोरी र आफ्नो बिहान बेलुकाको छाक टार्ने उनको एउटै विकल्प बन्यो, हात थाप्ने । माईखोलामा पूजा गर्न आएकाले दिएको चामल र केही रुपैयाँले उनका छोराछोरीले खान पाएका थिए । बिहान घरबाट एउटा बोरा लिएर आउँथिन् , त्यही बोराको एक कुनामा उनी बस्थिन् । काखमा सानो छोरा हुन्थ्यो । सबैले त्यो दूधेबालक र आमाको अवस्था हेरेर ल्याएको अन्न र केही रुपैयाँ दिन्थे । उनले भनिन्– ‘सातामा मंगलबार र शनिबार धेरै तीर्थालु आउँथे । उनीहरुले दिएको चामलले घरमा भात पाक्थ्यो । सागसब्जीका लागि थापेकै केही चामल बेच्थेँ ।’
सेर्माले मागेरै भए पनि गुजारा चलाउँदै आएकी थिइन् । कोभिड–१९का कारण मुलुक ०७६ चैत ११देखि लकडाउन भयो । त्यसको मार सबैभन्दा धेरै सेर्मा जस्ताको परिवारलाई प¥यो । कनकाई नदीमा पूजा गर्न सर्वसाधारण आउन लकडाउनले रोकेपछि त्यसको असर उनको भान्सासम्म प¥यो । सरकारले ७ दिनका लागि दिएको राहत सञ्चित गर्दे दुःखले सेर्माले १० दिनसम्म पु¥याइन् ।
खानलाई जसोतसो चल्दै थियो, फेरि कनकाईको बाढी उनका लागि अभिशाप बन्यो । घामपानी छेक्ने घर थियो । बाढीले बगायो । त्यसपछि उनको बास खुला आकाशमुनिको त्रिपाल टाँगेको छाप्रामा पुग्यो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले भने– ‘पत्रकारले उठाएको बिषयले अति विपन्नबर्गकी एक निरीह महिला र उनका अवोध छोराछोरीले बस्नका लागि घर पाउने भए ।’ नगरले अति विपन्न र क्षमताहीन नागरिकका लागि बस्ने व्यवस्था मिलाउन जनता आवास कार्यक्रम अन्तर्गत १२ वटा घर निर्माण गरिसकेको छ । योसँगै शिवसताक्षी–११ को बच्चाबगरमा १३ वटा जनता आवास क्षेत्रमा घर निर्माण हुने भएका छन् ।
साबिकको सतासीधाम–८ माइधारमा पति शेरबहादुरसंगै ०६६ सालमा तारा सेर्मा बसाईँसरी आएकी थिइन् । उनको नागरिकता मोरङको तत्कालीन राजघाटबाट बनेको थियो । राजघाटमा उनीहरु पाँचथरको माङ्जाबुङबाट आएका थिए । सतासीधामको डुँडामारीमा कामदारको रुपमा एउटा घरमा २ वर्ष बसेका थिए । सेर्माका अनुसार उनले जेठी छोरी त्यही जन्माएकी थिइन् ।
डुँडामारीमा घरेलु कामदारका रुपमा बसेका बेला घर साहुसँगको विवादपछि सेर्माको परिवार कनकाई खोलोको बगरमा गयो । उनका श्रीमान् शेरबहादुरले स्थानीयसँग एक लाखमा कनकाई नदीको बगरमा १० कट्ठा जग्गा किनेका थिए । त्यही जग्गामा छाप्रो हालेर बस्ने गर्थे सेर्मा परिवार । उनका एउटी छोरी र काखको छोरा त्यहीँ जन्मिएका हुन् । निमोनियाले श्रीमान्को मृत्यु भएपछि छोराछोरीको पनि राम्ररी पालनपोषण गर्न सकिनन् । उनकी जेठी छोरीलाई स्थानीय एक समाजसेवीले पढाउने, हुर्काउने गरी लगेका छन् ।
उनी भन्छिन्– कर्ममा पक्की घरमा बस्न जुरेको रहेछ । मिल्ने छिमेकी भइदिए भने पशुपन्छी पालेर पनि परिवारको गुजारा चलाउँछु ।’ अन्य सिप सिक्छु र कुशल उद्यमी हुन्छु । मेरा छोराछोरीलाई उच्च शिक्षा दिन्छु । मेची अभियान र शिवसताक्षी नगरपालिकाले यो बेला लगाएको गुन त्यो बेला तिर्छु जति बेला मेरा लालाबाला यो मुलुकको सक्षम नागरिकको रुपमा दरिन्छन् ।
सेर्माको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले श्रीमती कविताको जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेर अभियानको खाता खोलेका थिए । शर्मा पनि अभियानका सदस्य हुन् । संयोजक डालमियाका अनुसार तारा सेर्माको घर निर्माणका लागि रकम जुटन थालेको छ । उनले भने– ‘जबरजस्ती माग्ने र हात थाप्ने काम मेची अभियानले गर्दैन । स्वतःस्फूर्त संकलन भएको रकमनै शेर्माको घर निर्माण हुने मुख्य श्रोत हो ।’





























