आज ऋषिपञ्चमी

0
1684

ज्यो. मधुसूदन रिजाल,

आज ऋषिपञ्चमी व्रत, सप्तर्षीको पूजा गरिन्छ । यो पर्व पनि तीज अन्तर्गत नै पर्दछ । यो पर्व विशेष गरेर हिन्दू महिलाहरुले गर्ने गर्दछन् । आजको दिनमा महिलाहरु विहानै उठेर नदीकिनारामा गएर वर्षभरिको (३६५) दिनको दतिउनले दात माझ्ने र स्नान गर्ने परम्परा रहेको छ । विशेष गरेर महिनावारी भएका महिलाहरुले यो पर्वलाई विशेष गरेर मनाउने गरेको पाइन्छ किनभने महिनावारीको समयमा कुनै त्रुटी हुन गएको भए आजको दिनमा पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइन्छ भन्ने कथा प्रसंग रहेको छ ।

भविष्य पुराण अनुसार विदर्भ देशमा बस्ने उत्तड नामका ब्राम्हणका एक छोरा एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत थियो भने छोरी पूर्व जन्मको पापको कारणले सानै कलिलै उमेरमा विधवा भइछन् । एकपटक छोरीको शरीर भरि खटिरा आएर कीरा परेछ । यस्तो बज्रपात छोरीमाथि किन भयो भनी बुझ्दा छोरी रजस्वला भएको बेलामा छुवाछूत वार्दिन थिइ र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थी । व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्दथी यसै पुण्यले उसको जन्म ब्राम्हणको परिवारमा भएको थियो । यस्तो थाह पाएपछि माता पिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उ पाप मुक्त भएर सुखी जीवन विताउन थाली ।

रजश्वला नारीलाई प्रथम दिनमा चण्डाल्नी, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रो दिनमा धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । पञ्चमीको दिन तिन सय पैसठ्ठी वटा अपमार्गले दत्तिवन गर्नुपर्दछ । माटोले नुहाउनु पर्दछ । पञ्चकब्य सेवन गर्नुपर्दछ भन्ने विधान गरिएको छ ।यो सप्तर्षिको पूजा हो । सप्तर्षिमा गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, अत्रि, कश्यप, विश्वामित्र पर्दछन् । यिनका साथमा अहिल्याको समेत पूजा गरी शौभाग्यका वस्तु समेत चढाइन्छ ।

यसै विश्वासलाई आधारमानी अहिलेको एक्काइसौ शताब्दिमा ऋषिपञ्चमीको पूजा गरिन्छ । यो पूजा गर्दा प्रयोग गरिने सरसामानहरु पौराणिक रुपमा मात्र नभएर वैज्ञानिक रुपले पनि महिलाहरुलाई अति प्रभावकारी र स्वस्थ्यवर्धक मानिएको छ । यसरी हाम्रो संस्कार संस्कृतिमा नै वैज्ञानिक तथ्य जोडिएर ल्याएको हुँदा यसको अनुशरण गर्दा हाम्रो संस्कृति र परम्पराको जगेर्ना हुनाका साथै हाम्रो स्वास्थ्य र जीवन पनि निरोगी बन्न सक्छ । यसरी कन्या कुमारीहरुले असल पतिको कामना लिएर यो पर्व मनाउनका पछाडि पनि परोक्ष रुपमा यही नै आशय रहेको छ कि जुन घरका पति–पत्नी मिलेर बसेका छन् ।

जसका आपसमा प्रगाढ प्रेम र सद्भाव रहेको हुन्छ र जहाँ एकअर्काप्रति पारस्परिक सहयोगी बन्नेगरेका छन् । वास्तमा त्यो घर–घर मात्र नभई आफैमा मन्दिर बनिरहेको हुन्छ त्यस्ता घरमा भगवान्ले आफै आएर निवास गरिरहेको पनि हुन्छ । अनि जुन घरमा भगवानको निवास हुन्छ त्यस्तो घरमा सुखभोग लगायतका चाहेका कुरा सँधै पुगिरहेको हुन्छ ।
भाद्र शुक्ल पञ्चमी तिथिमा ऋषिहरुलाई पूजा गरिने हँुदा दुबैलाई मिलाएर ऋषि पञ्चमी भनेर भनिएको हो । यस पञ्चमीमा रजश्वला भइसकेका हिन्दू नारीहरुले मात्र सप्तऋषिहरुको पूजा गर्ने परम्परा रहेको छ । रजश्वलाको समयमा अज्ञानतावस कुनै अपृस्य बस्तुहरु छोइएको भए, त्यस दोषबाट मुक्त पाउनको लागि ऋषिपञ्चमीको पूजा गर्ने विशेष रुपमा प्रचलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here