अर्जुनधारा।

व्यवसायिक बाख्रा पालनको माध्यमबाट आर्थिक जीवनस्तर उकास्ने उद्धेश्यले अर्जुनधारा–३स्थित भित्रीगाँउका विपन्न समुदायका परिवारलाई आइतबार एक कार्यक्रमकोबीच निःशुल्क बाख्रा वितरण गरिएको छ ।
अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले गत आर्थिक वर्षदेखि सुरु गरेको भित्रीगाँउ नयाँ बाख्रा पकेट प्याकेज कार्यक्रम अन्र्तगत उक्त गाँउका २२ परिवारलाई चारवटाका दरले ८८ वटा बाख्रा वितरण गरेको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
गत आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पहिलो चरणमा समूह गठन, बाख्रा पालन सम्बन्धी तालिम, खोर निर्माण तथा घाँसको वीऊ वितरण गरेको शाखाले दोस्रो चरणमा उक्त बाख्राहरु वितरण गरेको हो । “कोभिड–१९को कारण बन्दाबन्दी भएपछी बाख्रा वितरण कार्य स्थगित भएको थियो ।”–प्रमुख राईले प्रष्ट पारे ।
भित्रीगाँउ नयाँ बाख्रा पालन समूहकी अध्यक्ष अनुपा मग्रातीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्ष जीवकुमार भण्डारी, नगर आर्थिक समितिकी संयोजक दिलमाया दासलगायतले केदार भट्ट र चित्रकला रम्तेललाई बाख्रा वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
बाख्रा पाउनेहरुमा अनुपा मग्राती, ओमकुमारी वि.क., उर्मिला ठटाल, उर्मिला पौड्याल, कमला बराइली, कृष्णप्रसाद न्यौपाने, खड्गबहादुर रम्तेल, गीतादेवी भट्टराई, गोमादेवी श्रेष्ठ, देवीमाया न्यौपाने, धनमाया दर्जी, नेत्रप्रसाद अधिकारी, नैना कुँवर, पवित्रा पौड्याल, फूलमाया दर्जी, मनमाया बोहोरा, मनमाया तामाङ, संगिता श्रेष्ठ, सावित्रा धमला र ज्ञानप्रसाद न्यौपाने रहेका छन् ।
वितरण गरिएको बाख्राहरुको मूल्य ढुवानीसहित सात लाख रुपैयाँ रहेको प्रमुख राईले बताए । त्यसैगरी सोही कार्यक्रममार्फत् उनीहरुलाई खोर निर्माण गर्न साझेदारीरुपमा दुई लाख रुपैयाँ र ९० हजार रुपैयाँ बराबरको भिटामिन समेत वितरण गरिएको थियो ।
सोही कार्यक्रममा अर्जुनधारा नगरपालिका र नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखालाई समूहकोतर्फबाट सम्मान पत्रबाट सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख राना, उपप्रमुख आचार्य, वडाध्यक्ष भण्डारी, स्थानीय बुद्ध बराइलीलगायतले बोलेका थिए ।
शाखाका प्राविद्यिक बेनुकुमार बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख राईले गरेका थिए ।






























