नेत्रप्रसाद निरौला,
विश्वव्यापीरुपमा फैलिएको महामारी कोरोना रोक्नका लागि नेपालले पनि मिति २०७६ साल चैत ११ गतेदेखि देशव्यापीरुपमा बन्दाबन्दी (लकडाउन) शुरु ग¥यो । यो महामारी एकअर्कासँगको प्रत्यक्ष भौतिक सम्पर्कको माध्यमबाट बढी मात्रामा सर्न सक्ने जोखिम भएको सरुवा रोग भएकोले यो बन्दाबन्दी एक प्रमुख विकल्प थियो । यसबाट हरेक क्षेत्र प्रत्यक्ष वा परोक्षरुपमा प्रभावित रहयो । शैक्षिक क्षेत्र, उद्योगधन्धा, कलकारखाना, व्यापार जस्ता क्षेत्रहरुमा यो बन्दाबन्दीले बढी नै नकरात्मक असर पु¥याएको छ । मुलतः बाहिर निस्कने, भेटघाट गर्ने, समूह बनाएर हिँड्ने जस्ता क्रियाकलाप एक ढंगले पूर्णरुपले बन्द भयो । घरमा बसेर गर्ने क्रियाकलापहरु मध्ये धेरैले तीन प्रकारका क्रियाकलापहरुमा आफ्नो समय प्रयोग गरेको पाइयो । प्रथमतः सामाजिक सञ्जालमा पहँुच भएकाहरुले सामाजिक सञ्चालको प्रयोगमा आफ्नो समय ब्यस्त बनाए । दोस्रो, धेरैले नयाँ पुराना चलचित्रहरु हेरेर आफनो समय बिताए र थुप्रै मानिसहरुले आफूलाई मन परेका नयाँ पुराना पुस्तकहरु पढेर आफ्नो समयको सदुपयोग गरेको पाइयो ।
सामाजिक सञ्जाल यो २१आंै शताब्दीको एउटा महत्वपूर्ण आविष्कार हो । यसले धेरै क्षेत्रका मानिसहरुलाई सहयोग पु¥याएको छ । प्रायः सबै पेसा, व्यवसायका मानिसहरुलाई यसले सहयोग नै पु¥याएको पाइन्छ । यो सामाजिक सञ्जालले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रहरुमा भएका घटनाको सूचना द्रूतरुपले फैलाउन जसरी सहयोेग पु¥याएको छ, यो भन्दा बढी कतिपय घटनाहरु प्रति सम्बन्धित सरोकारवालाहरुलाई जवाफदेहिता बनाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । आजभोलि यसका थुप्रै उदाहरणहरु हामी पाउँछौं । सामाजिक सञ्जालमा भएको आलोचना, विरोध र समर्थनबाट धेरै शासक, प्रशासकहरु पछाडि फर्केका उदाहरण प्रसस्त छन् । अहिले त मलाई लाग्न थालेको छ, सायद यो सामाजिक सञ्जाल नहुने हो भने अरु देशमा मात्र होइन, हाम्रो देशमा पनि शासकहरुका केही उदण्ड क्रियाकलापहरु कार्यान्वयन हुनबाट रोकिने थिएन होला । यसले तल्लो तहसम्म सूचना प्रवाह गर्न र विचारहरुलाई एकीकृत गर्दै गलत क्रियाकलापविरुद्ध संगठन निर्माण गर्न ठूलो योगदान पु¥याएको देखिन्छ । चाहे अहिलेको सर्वोच्च अदालतको गलत निर्णयविरुद्ध होस् वा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लैजान अथवा अरु थुपै्र सरकारका निहीत स्वार्थले व्यक्तिगत लाभका लागि ल्याइएका नियम, कानून, अध्यादेश आदि रोक्न सामाजिक सञ्जालले अहम् भूूमिका खेलेको छ भन्दा अतिशयोक्ति हँुदैन ।

तर, यहाँ एउटा प्रश्न उठ्न सक्छ, सामाजिक सञ्जालले दिएको पीडा पनि छ नि, हो यसको गलत प्रयोगका कारण समाजमा केही विकृतिहरु देखिएका छन् । तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने यो विकृति, अपराध सामाजिक सञ्जालले ल्याएको नभई हाम्रो गलत प्रयोगको परिणाम हो । थुप्रै अभिभावकको गुनासो पनि छ, यो पछिल्ला समयमा आफ्ना छोराछोरी सामाजिक सञ्जालका कारण बिग्रिए । तर, यथार्थमा यसो होइन, यसको समुचित प्रयोगलाई ध्यान दिने हो भने विद्यार्थीको शैक्षिक स्तर बढाउन यसले सहयोग नै पु¥याउँछ । तर, यसको उचित प्रयोग, व्यवस्थापनमा भने ध्यान दिनै पर्छ । मनसुनमा पानी प¥यो भनेर चिन्तित हुनुको कुनै तुक छैन, यसले ल्याउने विपद्का लागि सजग, सतर्कता, व्यवस्थापन र पूर्व तयारीको जरुरी पर्छ । मनसुनमा प्रसस्त पानी नपरे यसबाट पर्न सक्ने भयावह परिस्थितिको हामी कल्पना पनि गर्न सग्दैनौं ।
यो लकडाउनको समयमा धेरैले चलचित्र हेरेर पनि समय कटाएको पाइयो, आफूलाई मनपर्ने नयाँ, पुराना चलचित्रहरु हेरेर । त्यस्तै मैले पनि केही नेपाली, हिन्दी चलचित्र दोहो¥याउने मौका पाएँ, यद्यपि म चलचित्रको सौखिन भने होइन । मैले हेरेका हिन्दी चलचित्रहरुमा अन्धा कानून (सन् १९८३), घात (सन् २०००), नायक (सन् २००१), गंगाजल ( सन् २००३) आदि हुन् । (म यहाँ यी चलचित्रहरुको समालोचना गर्न गई राखेको छैन । म खाली मेरो व्यक्तिगत विचार मात्र प्रस्तुत गरी राखेको छु ।) यसपटक मलाई के लाग्यो भने यी चलचित्रहरुको बाहिरी आवरण, मसला, प्रस्तुित, चरित्रहरु फरक देखिए पनि मुख्य भित्री विषयवस्तुहरु उस्तै–उस्तै छन् । मुख्य खलनायकहरु समाजसेवाको नाममा राजनीतिलाई पेसा बनाउँछन् । उनीहरुमा अपराध गरेर, भ्रष्टचार गरेर सम्पत्ति कमाउने ध्याउन्न बाहेक केही पनि हुँदैन । यसका लागि उनीहरु कुनै पनि प्रकारका अपराध गर्न पछि हट्दैनन्, हत्या, हिंसा, बलात्कार, अपहरण आदि । यस्ता आपराधिक क्रियाकलापहरुमा उनीहरुलाई साथ र सहयोग पु¥याइरहेका हुन्छन् प्रहरी र प्रशासनले । प्रहरी र प्रशासन जनता, राज्यप्रति भन्दा पनि आपराधिक समूहहरुप्रति बढी उत्तरदायी हुन्छन् । यसपछि नायकको प्रवेश हुन्छ र कथा विषयवस्तु अगाडि बढ्छ, चलचित्रको अन्त्यमा नायकले नै सफलता हासिल गर्छ, तर व्यवहारमा भने यस्तो नहुन सक्छ ।
दशकौं अगाडि निर्माण भएका यस्ता अधिकांश चलचित्रहरुका कथा विषयवस्तुहरुले आजसम्म पनि हाम्रो अगाडि रहेको समाजिक, राजनीतिक विकृति र विसंगतिलाई प्रतिनिधित्व गर्छ । हाम्रो अगाडि धेरै क्षेत्रमा परिवर्तन आयो, विकास भयो, नयाँ–नयाँ प्रविधिको विकास भयो, तर राजनीतिमा खासै फेरबदल भएन, शोषण, उत्पीडन, अभाव, समस्या, पीडा, विभेद, विभाजन आदिलाई कुनै विशेष वादले पनि रोक्न सकेन, पहुँचमा पुग्नेहरु स्वार्थमा निर्लिप्त भए, आजभन्दा चार पाँच दशक अगाडिको कथा विषयवस्तु अझै जीवन्त रहनु हाम्रो लागि दुर्भाग्य हो । चलचित्रको कथामा भएको रहस्य, अन्याय, अत्याचार आदि दर्शकले यस्तो पनि हुन्छ र व्यवहारमा भनेर शंका गर्ने घट्नाहरु अहिलेसम्म पनि समाजमा व्याप्त छ । हामीले यसलाई रोक्न सकेनौं यसका थुप्रै उदाहरणहरु आजभोलिको समकालीन राजनीतिमा देख्न सकिन्छ । अहिलेको सर्वोच्च अदालतले दिएको रञ्जन कोइरालाको सजाय घटाउने निर्णय होस् वा पृथ्वी मल्लको निर्णय, घट्नाक्रमहरु कम रहस्यम र स्वार्थपूर्ण छैनन् । जसलाई थोरै मसला हाली दिने हो भने राम्रो चलचित्र निर्माण हुन सक्छ ।
लकडाउन कै समयमा अर्को काम पुस्तक पढ्ने रह्यो । यो समयमा नयाँ पुराना गरेर मैले एक दर्जन पुस्तक पढँे । यसमध्ये कुमार भट्टराईद्वारा लिखित अश्वत्थामाले राम्रो प्रभाव पा¥यो । महाभारत कथाका एउटा सानो पात्र हुन् अश्वत्थामा, महाभारत कथा श्रृंखलामा उनको भूमिका छोटो छ । तर, तिनै पात्रलाई नायक बनाएर लेखक यस पुस्तकका अरु सम्पूर्ण चरित्रहरुलाई उनको वरिपरी घुमाउँछन् । जसबाट पाठकले कुनै पनि घट्नाक्रममा पछाडि बुनिने तानाबाना कसरी तयार हुन्छन् र देखिने पात्रहरु र नदेखिने पात्रहरुको भूमिकाका फरकका बारेमा पाठकलाई प्रष्ट्याउने प्रयास उत्कृष्ट छ । समाजमा व्याप्त कथाभन्दा भिन्न प्रकारको वा हामीले सोचे, सुनेभन्दा फरक प्रकारले कथाका पात्रहरुलाई उभ्याइएको अवस्था पनि यस पुस्तकको राम्रो पक्ष हो ।
हामी हाम्रो समाज (राजनीतिक वृत्त)भित्र बाहिरबाट बहुमतले राम्रा मानेका, भनेका पात्रहरु साँच्चै राम्रा वा खराब हुन त भन्ने जिज्ञासा पनि यस पुस्तकको अर्को सबल पक्ष हो । हामी धेरै पाठक महाभारत कथा श्रृंखलाका पात्र युधिष्ठिरप्रति बढी नै नतमस्तक छौं । दुर्योधनप्रति हाम्रो दृष्टिकोण सकारात्मक छैन । तर, यस कथामा भने युधिष्ठिरभन्दा दुर्योधन बढी सहयोगी, उदार र समाज र राष्ट्रप्रति बढी संवेदनशील देखिन्छन् । यो समाज र सामाजिक दृष्टिकोणप्रति विद्रोह हो । यस्तै यस पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष, मेरो विचारमा के हो भने यस पुस्तकका मुख्य पात्र अश्वत्थामाको मुखाराविन्दबाट लेखकले जुन विचारहरु अगाडि ल्याउँछन्, ती भावना, विचारहरु उत्कृष्ट छन् ।
‘मान बढेर गएपछि अभिमान शुरु हुन्छ’ –एक प्रसंगमा गुरु द्रोणचार्य छोरा अश्वत्थामालाई भन्नुहुन्छ । त्यस्तै युद्धकाबारेमा गुरु कृपाचार्य अश्वत्थामासँग भन्नुहुन्छ– ‘उनीहरुले मृत्यु पाए भाञ्जा, मृत्यु ! युद्ध गर्नका लागि नेतृत्व गर्नेहरुको परिवारको कुनै एक अमुक सदस्यले त्यसको प्रतिफल प्राप्त ग¥यो होला । तर, एकलाई राजा बनाउन करोडौंले मृत्यु पाए । युद्धप्रति अन्धतापूर्ण समर्पित हुने केहीले त आफ्ना आवेगहरुलाई विसर्जन गर्ने मौका पाए होला । तर, कहिल्यै नदेखेको शत्रुसँगको युद्ध गर्न तयार भएर आएका सामान्य सैनिकहरु आफू त मरे मरे, आफ्ना परिवारका सदस्यहरुलाई समेत ज्यूँदै मारेर गए ।’ यस्ता थुप्रै विचारहरु जो अहिलेको हाम्रो समकालीन समाज र राजनीतिसँँग मेल खान्छ । हामीले पनि युद्ध लड्यौं, आन्दोलन ग¥यौं, तर एकाध नेतृत्व वर्गको जीवन बाहेक सर्वसाधारणका जीवनमा अपेक्षाकृत परिवर्तन नआएको सत्य हो । अझ गरीबका घर, गोठ जल्न नरोकिनु र गरीबले उचित न्याय नपाउनु विडम्बना हो ।
(निरौला न्यूटन्स एजुकेशन एकेडेमीका शिक्षक हुन् ।)


























