थलियो पर्यटकीय क्षेत्र, थलिए व्यवसायी

0
1203

सुरेन्द्र भण्डारी / झापा।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रम सार्वजनिक ग¥यो । दशकको अवधिमा नेपालमा रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्दै पर्यटन व्यवसायलाई बढावा दिन सरकार नै लागीप¥यो ।

नेपालभर रहेका सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी स्थलमार्ग र हवाइमार्गको समेत सम्भाव्यता अध्ययन गर्दै आन्तरिक उडान समेत सुचारु गरेको सरकारले कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ध्यान दिन नसकेकाले पर्यटन व्यवसाय प्रभावित भएको छ । अझ पर्यटन क्षेत्रको विकासका लागि लागेका पर्यटन व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिड १९को संक्रमण विश्वभर फैलिएसँगै निरर्थक भएको छ । पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्र मजबुत हुने अपेक्षा गर्दै सरकारले अघि सारेको कार्यक्रम कोभिडका कारण सञ्चालन हुन नसक्दा पर्यटन क्षेत्र तहसनहस भएको हो । दिन प्रतिदिन नेपालमा समेत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि अहिले होटल तथा रेष्टुराहरु पूर्ण रुपमा ठप्प छन् । होटल तथा रेष्टुरामा गरेको लगानी उठाउन त के बैंकको व्याज समेत तिर्न नसकेर व्यवसायीहरु विकल्पको खोजीमा छन् । होटल, रेष्टुरेन्ट तथा होमस्टेमा कार्यरत मजदुर तथा कर्मचारीको अबस्था अहिले उस्तै नाजुक छ ।

सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेसंगै झापासहित पूर्वका पर्यटन व्यवसायीले समेत पर्यटकीय क्षेत्रको विकास र बिस्तारसँगै होटल तथा होमस्टेमा लगानी गरेका थिए । तर, उनीहरुको लगानी वालुवामा हालेको पानी सरह भएको छ ।

झापामा तारे होटल सञ्चालनको तयारी थालिए पनि कोरोना भाइरसको बढ्दो संक्रमणले व्यवसायी गर् या मर्को अवस्थामा पुगेको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । उनले भनिन्– होटल व्यवसाय क्षेत्रमा अरबौंको लगानी गरिएको छ तर अहिले महामारीका कारण सबै व्यवसाय बन्द हुँदा व्यवसायी गर् या मर्को अवस्थामा पुगेका हुन् ।

त्यसो त झापाको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पनि ठूलो मात्रामा लगानी भएको छ । झापामा पर्यटन व्यवसायका लागि स्थानीय तहले समेत लाखौं रुपैयाँ लगानी गरेका थिए । तर, प्रतिफल लिने बेलामा महामारीका कारण पर्यटन क्षेत्रको बिकासका लागि गरेको लगानी खेर गएको स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन् ।

अघिल्लो वर्ष पर्यटन क्षेत्रको विकासका लागि छट्याइएको बजेट कोभिडका कारण रकमान्तर गर्दै खर्च गर्नु प¥यो । यो वर्ष पनि पर्यटन क्षेत्रको विकासका लागि रकम बिनियोजन गर्न सक्ने कुरै भएन– बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले भनिन्– पर्यटन क्षेत्रको विकासका लागि थालिएको काम अधुरै छाड्दा के गति होला ? अहिले संघदेखि स्थानीय सरकारसम्म महामारी नियन्त्रणका लागि जुटेको छ– उपाध्यक्ष राजवंशीले भनिन्– पर्यटन क्षेत्रको विकास गर्ने पछिको कुरा हो, अहिलेको हाम्रो सवाल जन जीवीकाको छ ।

पर्यटन क्षेत्रको विकासका लागि निजीस्तरबाट होटलमात्र नभई पर्यटकीय क्षेत्र बनाउन समेत लगानी भएको थियो । कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका सहित विभिन्न स्थानीय तहका व्यवसायीले पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि लाखौं रुपैयाँ खर्च गरेका थिए । तर, उनीहरुले गरेको लगानी उठाउनेको त के कुरा लगानी गर्न बैंकबाट लिएको ऋण समेत तिर्न नसकेपछि विकल्पको खोजीमा उनीहरु पुगेका छन् । हौसिएर होटल तथा पर्यटन व्यवसायमा हात हालेका झापासहित देश भरका व्यवसायी अहिले मारमा छन् ।

सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थान र दिगो पर्यटनको कार्यक्रमलाई विशेष प्राथमिकता दिने लक्ष्यसहित आर्थिक वर्ष २०७७÷०७८को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेकी सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र बाह्य कारणले समेत पर्यटनमा पारेको प्रभावको अध्ययन गरी पर्यटन पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिने उल्लेख गरेकी थिइन् । तर, अहिलेसम्म पर्यटन व्यवसायको क्षेत्रमा सरकारले ठोस् कार्य गर्न नसकेको पर्यटन व्यवसायीको आरोप छ ।

कोभिड नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीको अवस्थामा मुलुकको पर्यटन, उद्योग नराम्ररी प्रभावित भएको छ । सरकारले अहिले लकडाउन हटाए पनि कोभिडले आक्रान्त पारेको पर्यटन उद्योगलाई प्रोत्साहन गर्न र त्यसमा आबद्ध लाखौँ श्रमिकको भविष्यलाई सम्बोधन हुने गरी विशेष राहत प्याकेज ल्याउन नसकेको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

नेपालमा पदयात्रा र पर्वतारोहण गरी झण्डै एक हजार ८ सय संस्था छन् । यिनमा १५ अर्बभन्दा बढीको लगानी छ । सरकारले पर्यटन पुनरुत्थान र दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिए पनि कोभिडका कारण पर्यटन क्षेत्रमा ध्यान दिन नसक्दा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको छ ।

होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएशन अफ नेपाल (हान) हालै गरेको एक सर्वेक्षण अनुसार होटल उद्योगमा १० खर्बभन्दा बढी लगानी रहेको छ । करिब सात लाख कर्मचारी आबद्ध छन् । बन्दाबन्दीको अवस्थामा अर्बौँको क्षति भएको व्यवसायीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डले बन्दाबन्दीबाट थलिएको पर्यटन उद्योग उकास्न २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको थियो । सरकारी तथ्याङ्क अनुसार मुलुकमा होटलका ४५ हजार शैय्या छन् । हानमा आबद्ध पर्यटकस्तरीयदेखि पाँच तारेसम्म गरी तीन हजार होटल छन् ।

कोभिडको विश्वव्यापी महामारी कहिलेसम्म नियन्त्रण हुन्छ अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । त्यसैले अबको एक वर्षसम्म विदेशी पर्यटकको चहलपहल नहुने अनुमान गरिएको छ । उक्त अवधिसम्म आन्तरिक पर्यटनलाई चलायमान बनाउन र धराशायी अवस्थामा पुगेको व्यवसायलाई लयमा फर्काई त्यहाँ आबद्ध मजदुर व्यवसायीलाई प्रोत्साहन हुने गरी सरकारले प्याकेज ल्याउनुपर्ने होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष बिनायक शाहले बताए ।

सुनसान झापाका पर्यटकीय क्षेत्र

सँधैजसो भरिभराउ हुने झापाका पर्यटकीय क्षेत्र अहिले सुनसान छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण झापाका सबै पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । त्यसमध्येको एक हो अर्जुनधारा नगरपालिकामा रहेको सुखानी शहीद स्मृति प्रतिष्ठान ।

यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो । तर, अहिले यो ठाउँ सुनसान छ । गत चैत ११ गतेदखि सरकारले लकडाउन गरेसंगै यसठाउँमा पर्यटकहरुको आवागमन बन्द छ । अर्जुनधारा नगरपालिका–७ सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा यो उद्यान फैलिएको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि पञ्चायतकालमा भएको आन्दोलनका क्रममा आफ्नो ज्यानको गुमाएकाहरुको स्मृतिलाई ताजा राख्न यो उद्यानको स्थापना भएको हो ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएको यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक मात्र नभई कम्युनिष्ट विचारधारा बोकेका मानिसका लागि समेत प्रमुख आर्कषणको केन्द्र हो । उद्यानभित्र झापा किसान बिद्रोहमा जीवन बलिदान गरेका वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदको प्रतिमा छ । प्रतिमा स्थापना गरिएका पाँचै जनालाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेका थिए । उनीहरुकै पूर्ण कदको प्रतिमा राखिएका कारण कम्युनिष्ट विचारधारा बोकेका मानिसका लागि प्रमुख गन्तव्य नै मानिन्छ– सालबारी ।

पूर्वी नेपालको प्रवेशद्वार काँकरभिट्टा र मेचीको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय आकर्षणको प्राकृतिकस्थल नै यही उद्यान हो । उद्यानमा हाल ४० वटा दुर्लभ जातका कछुवा संरक्षण गरिएको छ । वातावरणीय बिनाशका कारण कछुवा लोपोन्मुख हुँदै गएको छ ।

कछुवा हेर्नकै लागि कतिपय पर्यटक तथा बिद्यार्थी यहाँ आउने गरेका छन् । हराउँदै गएको प्राणीमध्येको कछुवाको संरक्षण नै केन्द्रको मूल उद्देश्य भएको कछुवा संरक्षण तथा प्रजनन् केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here