बिर्तामोड ।

समुदायमा नै कोरोनाको सक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानलाई निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको हो । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको हो ।
प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दे संक्रामक रोग सम्बन्धि ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा गरेको हो । निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ । बिर्तामोडमा दुई जनामा कोरोना संक्रमण देखिए पछि रत्न सुपरमार्केट र प्रसाई मार्केट सिल गरेको थियो ।
उता शिवताक्षी नगरपालिकामा समेत १५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । कसैले निषेधाज्ञाको उल्लघन गरेमा संक्रामक रोग ऐन,२०२० तथा प्रचलित कानून कमोजिम कारबाही गरिने प्रजिअ रानामगरले बताए ।































