पर्यटन क्षेत्रको संरक्षण गर

0
558

सम्पादकीय

कोरोना भाइरसका कारण देशको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको छ । शैक्षिक, आर्थिक, सांस्कृतिक तथा स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको प्रतिकूलताले देश प्रभावित मात्रै भएको छैन, जीवन नै ठप्प भएको छ । संक्रमण हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म र गाउँदेखि शहरसम्म फैलिँदा सबैको दैनिकी कष्टकर हुँदै गएको छ । पछिल्लो हप्ता भाइरसबाट संक्रमित हुने र त्यसकै कारण मृत्युवरण गर्नेहरुको संख्या पनि उच्च भइरहेका बेला थोरै प्राण सञ्चार भएका औद्योगिक एवम् व्यावसायिक प्रतिष्ठानहरु फेरि बन्द हुने अवस्थामा पुगेका छन् । जसका कारण एकातिर आर्थिक गतिविधि ठप्प हुँदैछ भने अर्कातिर रोजगार गुमाउनु पर्दा सामाजिक क्षेत्र पनि गतिहीन हुने अवस्था उत्पन्न भएको छ । सरकारले अंग्रेजी वर्ष सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै बीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, वर्ष प्रारम्भ नभई चीनबाट शुरु भएको भाइरस संक्रमणले विश्वमा प्रभाव जमायो र हाम्रो सरकारको सपना, योजना र लक्ष्य खोला किनारमा गाएको गीत सरह हराएर गयो ।

यसबेला पर्यटन वर्ष घोषणाले उत्साहित व्यवसायी र पर्यटन क्षेत्रका सञ्चालकहरु लगानी खेर गएका कारण निराश छन् । देशका समग्र व्यवसायीको खर्बौं रुपैयाँको लगानी बालुवामा हालेको पानी सरह भएकाले निजी क्षेत्र विस्थापनको संघारमा पुगेको छ । पाहुनाहरुको सेवासुविधाका लागि निजीस्तरबाट खोलिएका होटल, रेष्टुरेन्ट, होमस्टे तथा पर्यटकीय क्षेत्रमा विस्तार गरिएको खर्च निरर्थक भएपछि थलिएको यो क्षेत्रले फेरि गति लिने आशा गर्ने सम्भावना पनि देखिएको छैन । एकातिर लगानी डुबेको छ भने अर्कातिर बैंक तथा वित्तीय संस्थाहरुले ऋण तिर्न ताकेता गर्दा व्यवसायीहरु झन् ठूलो पीडा खप्न बाध्य छन् । कोरोना कहर नियोजित वा प्रायोजित होइन सबैले जानेका छन् । तर, त्यसलाई रोकथाम र नियन्त्रण गर्न नसक्दा देशका सबै अवयव थलिएकाले सरकार नामको संरक्षकबाट संरक्षणको आशा गर्नु स्वभाविक हो ।

तर, यस क्षेत्रका व्यवसायीहरु सरकारले संरक्षण नदिएको मात्र होइन आश्वस्त पार्न नसकेको भन्दै आक्रोशित पनि छन् ।
राष्ट्रिय आयको प्रमुख स्रोत नै पर्यटन व्यवसाय हो । यो वर्ष मात्र होइन, आउँदो वर्ष पनि विदेशी पर्यटकहरु आउने सम्भावना न्यून छ । कोरोना आतंकले यो क्षेत्रमा आश्रित लाखौं श्रमिकहरु, तिनका परिवार समेतको भविष्य अन्यौलग्रस्त बनिएको छ । पदयात्रा र पर्वतारोहण गरी झण्डै दुई हजार संस्था मार्फत पन्ध्र अर्बभन्दा बढी लगानी भएको छ । यही समय होटल व्यवसायीको छाता संगठनले पनि आफूहरुको दश खर्बभन्दा बढी लगानी रहेको, झण्डै सात लाख कर्मचारी प्रभावित भएको भन्दै त्यसलाई ‘लय’मा फर्काउन सरकारको विशेष योजना हुनुपर्ने बताएको छ । कोरोना संक्रमण दिनहुँ तीव्र रुपमा फैलिएकोले तत्काल पर्यटन लगायतका क्षेत्रहरु सुचारु नहुने निश्चित छ । आन्तरिक पर्यटन समेत ठप्प रहेको अवस्थामा सरकारले नै सबै क्षेत्र, वर्ग र प्रतिष्ठानहरुको सुरक्षा गर्नुपर्छ । अनि मात्र कोरोनाले उत्पन्न गरेको क्षति कम गर्दै देशको जीवनलाई पूर्ववत् सञ्चालन गर्न सकिन्छ । यसमै सबैको कल्याण हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here