परिस्थिति गम्भीर बन्दैछ

0
1069

सम्पादकीय

कोरोना भाइरसको संक्रमणले सीमा नाघेको छ । रोकथाम र नियन्त्रणका लागि अर्बौं खर्च गरिसकेको सरकारले पछिल्लो समय महासंकटको समाधान स्थानीय तहलाई जिम्मा लगाएको छ । त्यहीकारण हुनसक्छ चार महिना लामो बन्दाबन्दीले तहसनहस भएको नेपाली जीवनमा यतिबेला चाहिँ साँच्चै कै महासंकट र महामारीको अनुभूति भइरहेको छ । यद्यपि आम मानिसले भने कोरोना संकटलाई त्यसरी बुझिरहेका छैनन् जसरी कि संक्रमण बोक्नेहरुले अनुभूत गरेका छन् । त्यहीकारण हुनसक्छ मानिस जथाभावी हिँडिरहेका छन्, जनस्वास्थ्यको मापदण्डको पालना गरिरहेका छैनन् र सावधानी समेत अपनाइरहेका छैनन् । जसको परिणाम हुनसक्छ अहिले परीक्षणको दायरा बढाएको अनुपातमै संक्रमित थपिने क्रम तीव्ररुपले बढेको छ । जति–जति संक्रमित थपिँदा छन् त्यति नै गम्भीर प्रकृतिका विरामीहरुले कोरोना विशेष अस्पतालहरु भरिँदैछन् ।


नयाँ भाइरसका कारण शुरु भएको आतंकबाट विश्वका दश वटा देशमात्र सुरक्षित छन् । ती दश बाहेका देशहरु आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अस्तव्यस्त छन् । नेपाल पनि अनिश्चयमा रहनुपर्ने निश्चित छ । सरकारले बढ्दो संक्रमणलाई नियन्त्रणभन्दा पनि उपचारमा लग्नुपर्ने अवस्था आएको छ । कोभिड विशेष भनिएका अस्पतालहरुले विरामीको भार थेग्न नसकेपछि निजी कलेज र अस्पतालहरुलाई कोरोना संक्रमितलाई उपचार गर्न निर्देशन दिइसकेको छ । मानिसबाटै सर्ने कारणले बन्दाबन्दीलाई रोकथामको प्रभावकारी उपाय स्वीकार गरेको सरकारले पछिल्लो समय ठाउँ, गाउँ, टोललाई बन्द गर्ने, सिल गर्ने र निषेधाज्ञा नै जारी गर्ने अधिकार प्रत्यायोजन गरेको छ । उपचारका उल्लेखित तीन पद्धतिमध्ये निषेधाज्ञा जटिल र कठोर आदेश हो, तर यस्तो आदेश टोलका लागि गर्न थालिएपछि शब्दको सार्थकता त रहेन–रहेन परिस्थितिको गाम्भीर्यलाई समेत अवमूल्यन गरिएको टिप्पणी हुन थालेको छ ।

आवागमनलाई नियन्त्रण गरी भाइरसको विस्तार रोक्न गरिने यस्ता उपायहरु यतिबेला निष्प्रभावी भइरहेका छन् । अनि पनि स्थानीय तहहरुले यसैलाई निरन्तरता दिइरहेका छन् । झापाको बिर्तामोडस्थित नेपाल–रत्न सुपरमार्केटमा दुई जनामा संक्रमण देखिँदा त्यही ठाउँका लागि निषेधाज्ञा जारी गरियो । कफ्र्यु भनिने गरेको यस्तो आज्ञा सीमित र संकुचित क्षेत्रमा मात्र दिनुले संक्रमण पूर्णतः रोक्न सकिँदैन । बजार बन्द छन्, तर त्यहाँ व्यवसाय गर्नेहरु यसअघि नै अनेकसँग सम्पर्कमा आइसकेका छन् र अझै आउने छन् । यसले संक्रमणलाई रोक्न सक्दैन र रोकिँदैन पनि । अहिले जनघनत्व धेरै भएका ठूला शहर बजारहरु यही सम्पर्क कै कारण सर्वाधिक जोखिममा छन् । त्यहाँ कुनै र कस्तै आदेशले न आवागमन रोकिएको छ, न त सवारी लगायत मानिसको ‘लुखुर–लुखुर’ हिँड्ने प्रवृत्ति नियन्त्रित भएको छ । उपचार नै नभएको यस्तो महामारीले लाखौंको रोजगारी खोसिसकेको छ । अर्बौंको क्षति गराइसकेको छ । त्यो भन्दा ठूलो सम्पत्ति एक सय सत्तरी जनाभन्दा बढीको जीवन लिइसकेको छ यसले । त्यसैले विषयको गाम्भीर्यलाई स्वयम्ले अनुभूत गर्नुपर्छ, सुरक्षित हुनुपर्छ र सावधानी अपनाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here