त्रिफला पुस्तकालय देशभरकै सर्वोत्कृष्ट

0
1358

तुलसीप्रसाद निरौला / बिर्तामोड।

मेचीनगर–१० धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय देशकै सर्वोत्कृष्ट पुस्तकालय घोषित भएको छ ।

१३औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिफला राष्ट्रिय पुस्तकालयलाई सर्वोत्कृष्ट पुस्तकालय घोषित गर्दै सम्मान गर्ने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलको भदौ ११ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साहित्य साधक एवम् पुस्तकालय अभियन्ता प्रेमप्रकाश फलाहारीको अगुवाईमा स्थापना भएको त्रिफला राष्ट्रिय पुस्तकालयले नेपाल लगायत पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा पुर्याएको विशिष्ट सेवाको कदर गर्दै सम्मान गर्ने निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए ।

त्यस्तै पुस्तकालय अभियन्ता मुरारीविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ र उत्कृष्ट पाठकको रुपमा सुगिस्मा कँडेललाई सम्मान गरिने उपसचिव निरौलाले बताए । उनले कोरोना भाइरसको संक्रमणका कारण औपचारिक कार्यक्रम नगरिए पनि जुम प्रविधिको प्रयोग गरी १३औं राष्ट्रिय पुस्तकालय दिवसको स्मारिका विमोचनलगायतका कार्यक्रम गरिने जानकारी दिए ।

राष्ट्रिय पुस्तकालय दिवस मनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माको संयोजकत्वमा राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह समिति गठन गरिएको उनले बताए । यस वर्षको पुस्तकालय दिवसको नारा समाज रुपान्तरणका लागि पुस्तकालय रहेको छ । हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं. २०६५देखि भदौ १५ लाई पुस्तकालय दिवसको रूपमा मनाउन शुरू गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here