अनलाइन सेवा भरपर्दो बनाऊ

0
1024

सम्पादकीय

दूरसञ्चार सेवाको विकास भएसँगै मानिसका व्यावहारिक जीवनका कतिपय गतिविधिहरु सहज भएका छन् । विकासका पूर्वाधार मध्येको प्रमुख आधारका रुपमा रहेको सञ्चारमाध्यमका साधनहरु मध्ये दूरसञ्चार सेवा आजको प्रमुख आवश्यकताले नै भइसकेको छ । सञ्चारभित्रका छापा माध्यमको विकास पछि प्रारम्भ भएको विद्युतीय माध्यमको साधन यद्यपि सबैको पहुँचमा छैन, तर पनि यसले हिजोका कतिपय असुविधाहरुलाई सुविधामा परिवर्तन गरिसकेको छ । जसका माध्यमबाट विश्वलाई एउटै सूत्रमा उनेको छ । भौगोलिक दूरी भएर पनि विश्वलाई अभिन्न र नजिक बनाएको छ । विज्ञानको पछिल्लो आविष्कार भनिएको कम्प्युटर र मोबाइलको माध्यमबाट विश्वका जुनसुकै गतिविधि, घटना, इतिहास, भूगोल, संस्कृति र समाज व्यवस्थाको जानकारी पाउन सकिने यसभित्रको इन्टरनेट सेवा आज खाना जत्तिकै अनिवार्य भइसकेको छ ।

यो वर्ष विश्वलाई एउटै त्रासमा राख्ने कोरोना भाइरसको चपेटामा इन्टरनेट सेवाको महत्व अझ बढेको छ । शिक्षण संस्थाहरुले यसकै माध्यमबाट अनलाइन कक्षा सञ्चालन गरेका छन् । आमजनताले बैंकिङ कारोबार गरेका छन्, सेवा उपभोगको महशुल तिरेका छन्, हवाई टिकट खरिददेखि उपभोग्य वस्तु सरल ढंगले उपभोग गर्न पाएका छन् । त्यसैले यो सेवा मनोरञ्जन, सञ्चार मात्र होइन व्यावहारिक जीवनका सबै क्षेत्रमा सहायक बनिएको छ र सुरक्षित पनि भएको छ । तर, सबैले यसको उपयोग गर्न नसक्ने अवस्था विद्यमान रहेकाले कोरोना त्रासकाबीच पनि सेवाप्रदायक संस्थाहरुमा महशुल तिर्नेहरुको भीड यथावत छ । जुन तत्कालका लागि जोखिमयुक्त छ, खर्चिलो छ र समय अझ श्रमका दृष्टिले अनुपयुक्त पनि छ ।

व्यस्त जीवनलाई सहज बनाउने ई–सेवाभित्रका असजिला, अप्ठ्यारा र प्रविधिगत त्रुटिले सर्वसाधारण भने हैरान पनि छन् । यही वर्ष कोरोनाले मानिसको दैनिकी अस्तव्यस्त भयो, नियमितता भङ्ग भयो । त्यसमध्ये विद्युत सेवाका उपभोक्ताहरु सबैभन्दा बढी मारमा परेका छन् । बन्दाबन्दीले मिटर जाँचकी आएनन्, उपभोक्ताले महशुल तिर्न पाएनन्, जो इन्टरनेट सेवाको पहुँचमा थिए उनीहरुले ई–सेवाको माध्यमबाट पैसा भुक्तानी गरे । तर, सफ्टवेयरमा नदेखिएको भन्दै प्राधिकरणले बक्यौता मात्र होइन जरिवाना समेत देखाएको छ । राज्यले महासंकटका समयमा राहत दिनुपर्ने समय राज्यद्वारा सञ्चालित प्राधिकरण लगायतका सेवा प्रदायक संस्थाहरुले जनताको ढाड सेक्दैछन् । कर समयमा तिर्नै पर्ने, महशुल समयमै भुक्तानी गर्नुपर्ने अनि राज्य आफैं बन्दाबन्दी गर्ने । राज्यद्वारा सृजित यस्तो आतंक जनताका लागि कोरोनाभन्दा पीडादायी भएको छ । अचानक आइपरेको कोरोना भाइरसको आतंकका बीच राज्यद्वारा सुविधाका नाममा सञ्चालित अनलाइन भुक्तानी सेवा सर्वसाधारणका लागि ‘निल्नु न ओकल्नु’ बनेको छ । त्यसकारण पनि विद्युत प्राधिकरण लगायतका सेवा प्रदायक संस्थाहरुले वडा–वडामा काउन्टर सञ्चालन गरेर जनतालाई सहज, सरल र सुविधाजनक भुक्तानीको व्यवस्था मिलाउन जरुरी छ । अनलाइनको भरपर्दा कुनै दिन ‘नखाएको विष’ले मर्नुपर्ने निश्चित छ । त्यसकारण पनि आफ्नो क्षमताको विकास–विस्तार गरेर मात्र विश्वासयोग्य सेवा प्रदान गर्नुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here