चिन्तामणि दाहाल,
सारांश :
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष र प्रभावशाली नेताहरुलाई प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झापा र आठराईको मिश्रित कुटनीतिक क्षमता प्रदर्शन गर्दै ठेङ्गा देखाएका छन् । यसले गर्दा केही हप्तादेखिको नेकपाभित्रको शक्ति संघर्षको विवाद छ सदस्यीय कार्यदल, त्यो पनि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएर त्यसले दिएको प्रतिवेदनमा प्रचण्ड सहमत हुन बाध्य भएसँगै हात्ती आयो ! हात्ती आयो !! फुस्सा भएको छ
प्रारम्भ :
विवादको शुरुवातमै दम थिएन । त्यसैले पंक्तिकारले यसअघि यही आँखा डटकम अनलाइन पत्रिकामा साउन ६ गतेतिर छापिएको अब वो दम कहाँ जो कल था भन्ने शीर्षकमा एउटा आलेख लेखेर विश्लेषण र ब्याख्या गरेको थियो । त्यसैको पटाक्षेप अब हुँदैछ ।
दुई अध्यक्ष ओली र प्रचण्डमध्ये यो कार्यदलको गठनसँगै प्रचण्ड पछि हट्न बाँध्य भएको देखियो भने त्यसले दिएको प्रतिवेदन ओलीकै पक्षको भएपछि त्यसै पनि प्रचण्ड पार्टी भित्र कमजोर देखिए । यस्तो अवस्थाको शुरुवात वामदेव गौतमको पैंतरा बदलाईबाट शुरु भएको हो ।
शुरुमा प्रचण्डले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा माग्दा सचिवालयमा प्रचण्डको साथमा झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम थिए । अर्थात् नौ सदस्यीय सचिवालयमा पाँच जना प्रचण्डका पक्षमा र चार जना ओलीको पक्षमा थिए ।
त्यही ताकतले उफ्रिएका प्रचण्ड, गौतम व्याक हटेर ओलीलाई बल पुग्ने गरी ६ बुँदे प्रस्तावमा आउने बित्तिकै प्रचण्ड पक्ष कमजोर भयो । उनमा वो दम रहेन जो असार १८ गतेको सचिवालय बैठकमा थियो । पार्टीलाई फुट्न दिनुहुन्न भन्ने पक्ष दोश्रो, तेश्रो र कार्यकर्ता तहसम्मका नेतामा बलशाली भयो । हुनु पनि त्यस्तै पथ्र्यो । यसले पनि प्रचण्डलाई झस्कायो । उनकै पक्ष अर्थात् पूर्व माओवादीका प्रभावशाली नेता पनि मिलेर जाने पक्षमा भए ।
उनीहरुले पनि प्रचण्डलाई ओलीसँग सहकार्य गरेर जाँदैमा फाइदा छ भन्ने प्रष्ट्याएपछि प्रचण्ड पछाडि हट्नैपर्ने मुडमा एक हप्ता अघिदेखि भएकैले सेफ ल्याण्डिङको मार्ग खोज्ने क्रममा कार्यदल आएको थियो । त्यसले प्रतिवेदन बुझाएको छ भने दुबै अध्यक्षले त्यसलाई स्वीकारेकैले सचिवालय बैठक भदौ १३ गतेका लागि बोलाइएको छ । यसबाट के देखिन्छ भने विवाद दुई अध्यक्षकाबीच थियो ।
त्यो विवादमा प्रचण्डलाई साथ दिन पार्टीका अधिकांश नेता कार्यकर्ता र सांसद तयार नभएपछि प्रचण्ड पछि हटे । प्रचण्ड पछि हट्ने वित्तिकै विवाद सकिए जस्तो भयो । तर, विवाद सकिएको छैन । यो त शुरुवात हो र यसले एकताको महाधिवेशनसम्म थाम्छ थाम्दैन हेर्न बाँकी छ
विवादको जरो किलो :
नेपालका राजनीतिक दलहरुभित्रको विवाद नीति र सिद्धान्तमा नभएको र व्यक्तिगत फाइदा र वेफाइदामा केन्द्रित भएकोले विश्लेष्कहरुलाई पनि विश्लेषण गर्न गाहारो छ । कहिले मिल्छ कहिले मिल्दैन । तर, एउटा प्रष्ट कुरा के छ भने यस किसिमको स्वार्थको राजनीतिले जनताले भने दुःख पाउँछन् ।
विवादको जरो दुई अध्यक्ष राखेकै समयदेखि नेकपामा गाडिएको थियो भने त्यसलाई बाँधेर राख्ने किलो गतिलोसँग गाड्न महाधिवेशनसम्म पुग्नु पर्नेमा त्यहाँ नपुगी दुईपटक हल्लिइसकेको छ । पहिलो पटक हल्लिएको किलोलाई गत २०७६ साल मंसिर४ मा दुई अध्यक्षबीचको सहमतिले ठोकेर बलियो बनाएको थियो ।
तर, त्यो किलो फेरि नयाँ बर्ष २०७७ साल लागेदेखि कोरोना भाइरसको निहुँबाट अलि–अलि हल्लिन थाल्यो । त्यसलाई बल गरेर हल्लाउन र थाम्न देशी र विदेशी शक्ति लागे । परिणाम अहिले फेरि किलो ठोक्ने काम भएको छ । कति बलियो किलो ठोकिन्छ, यसै भन्न सकिने अवस्था छैन ।
र, अन्त्यमा, अहिलेको अवस्था अर्थात् कार्यदलको प्रतिवेदनमा सहमति गरेर प्रचण्ड पछि हटेको अवस्थाको पर्दा पछाडिको दृश्य भनेको ओलीले प्रचण्डलाई सेफ ल्याण्डिङ गर्ने अवसर दिएर उदारता देखाएका छन् । यो पंक्तिकारले विद्यमान अवस्थाको विश्लेषणबाट देखेको महशुस गरेको हो कसैको पक्ष वा विपक्षमा ब्याख्या गरेको होइन । सबैलाई चेतना भया ।

























