बोक्सीले पुत्ला गाडेकै हो !

0
1518

मुढेकी जेठेमा र मेरी आमाको बीचमा रहेको न्यानो नाता र त्यस परिवारसँगको व्यवहारिक निकटता एवम् सहकार्यको विषयमा मैले अगाडि पनि बताएकै हो । इलाम हुतुलुङ्गको वायव्यकोणमा पर्ने मुढे भन्ने गाउँका राई (किराँती) समूहका जेठा राईलाई मैले मित बाबु भन्नुपर्ने र राइनीलाई मितामा भन्नुपर्ने भए पनि म जेठा बा र जेठेमा नै भन्ने गर्दथेँ । मैले मेरी आमा मेलो परेली गर्न जाँदा र धेरै बिरामी भएका बखत जेठेमाका स्तनपान गरेको यथार्थता पनि छ । आज म यी (हाम्रा) दुई परिवारमा परेको एउटा कारुणिक घटना प्रस्तुत गर्दैछु ।
उनीहरुको आफ्नै घर, जग्गा भएर नै पनि ठूलो परिवार संख्या भएर नै होला सदा झैं मेलोपात र बनीबुतो गर्ने क्रममा वि.स. २०१४ सालको चैत महिनाको खडेरी र अनिकालको बेला, हाम्रो मकैको थाङ्ग्रो झारेको दिन जेठेमा र उहाँका माहिँला छोरा (म माल्दाजु भन्दथेँ) समेत मकै झारेर नङ्ग्याउने कामको निम्ति एकबिहानै आए । चैते हावा र आँधीले घर नै उक्काएर पारी सन्दकपुरको फेदमै पो पु¥याएर फ्याँक्ला कि जस्तो स्थितिमा दिनभर मकै छोडाएर चार–पाँच पाथी मकै बोकेर माल्दाजु राति घर (मुढे)तर्फ पुल्ठो बालेर गए । जेठेमा चाहिँ दुई–चार दिन बसेर बाँकी काम पूरा गर्ने अठोट गर्नुभयो ।
ठूलो साँझतिर आँधीले धिप्री निभाएकै बेला ४९ वायु नै एकै चोटी खन्निए झैं गरी वितण्डा मच्चायो । मेरो माहिला दाजु (अभी)लाई बुइँगलबाट राति ९ बजेतिर हुरीले झारेर आगोको भुङ्ग्रामा पल्टाएछ । दाजु ‘आथाथा’ भन्दै जस्केलाबाट बाहिर भागेर घु¥यानको जुठेल्नाको टाँडमुनि लुकेर बँच्नु भयो । हुरीले आगोको भुङ्ग्रो र भुतुभते सबै उडाएर दिनभरको मकैका खोसिलामा पु¥याएछ । दुई मिनटमै सबै खरानी बनायो । त्यसैबेला आँधीको धक्काले कोइली भैंसीले दाम्लो चुडाएर घरतर्फ बड्केर आएछ, चिन्ती दिदी (मेरो खुट्टा घिस्याउँदै मुस्किलले हिँड्ने अपाङ्ग कान्छी दिदी)लाई धक्का दिएछ । दुई–तीन बल्ङ्याङ्ग लडेर मलखाडीमा तल टाउको माथि खुट्टा पारेर पल्टिनु भएछ ।
तर, हामी कसैले अन्धकारमा चालै पाएनौं । आँधीले तर्साइएको भैंसी कता पुग्यो भनेर खोज्न वा निस्किनु भयो । त्यो दिन मूल हुरी त अब पो आउने रहेछ । खर (सिरुले) छापेको हाम्रो दुईतले घरको उत्तरपट्टिको छानो हावाले फ्यालफ्याल पार्दै गरेको देखेर मेरी आमा र जेठेमा छानो थेग्नको लागि बाँसका डाँडामा समाएर झुण्डिएछन् । त्यो ४९ वायुलाई दुईवटी महिलाले जितेर घर बचाउन सम्भव थिएन । भँुवरीले छानो उक्काएर झण्डै १० फिटमाथि पु¥याएपछि मेरी आमा चाहिँ सायद वर्कतले नपुगेर होला, फ्यात्त रछ्यानमा पछारिनुभयो । अनि अनुहारभरि माटो र गोवरले पोतिएकै अवस्थामा अँध्यारामा ‘ए जेठी, जेठी…’ भन्दै दगुरेर आउनुभयो । जेठीलाई किन बोलाएको हो भन्ने कुरा हामी कसैले पनि बुझेनौं ।
त्यसै मुर्हुतमा कता हो टाढाबाट ‘ए जेठाजु मरे है, हरे…’ भन्ने आवाज आयो । बाले भैंसी बाँधेर तुलसीको मठतिर आइपुग्दा बिजुली झिलिक्क गर्दा घरको छानो त दक्षिणपट्टि आकाशमा तैरिएको र तलतिर जेठेमाको शरीर साडी फ्यालफ्याल गर्दै झुण्डिएको देखियो । अर्को चोटी फेरि झिलिक्क हुँदा छानु त पश्चिमपट्टिको आकाशमा देखियो । त्यसैबखत बाले भन्नुभयो– ‘ए जेठी हात चाहिँ नछाड है, जोडले समात है जोडले…। हे महादेव, यो के को दण्ड दिएको हो नि….’ बाले यति भनी सक्दा त्यो छानु त दक्षिणपट्टिको काँल्लाको पयौंको रुखमा ठोक्किन पुग्यो । यति बेलै जेठेमा सायद ताकतले नपुगेर होला, बल्याङ्ग आलु गोड्दै गरेको पाटामा झर्नुभयो । त्यो झण्डै ३५ फीट उचाइमा उड्दै रहेको छानो हाँगामा अल्झिँदै काँल्लामुनि झ¥यो ।
बिजुलीकै प्रकाशका भरमा बा–आमा र म दगुर्दै आलुबारीमा गयौं । जेठेमा अर्धचेतनाको जस्तो लाग्यो मलाई । बा र आमाले जेठेमालाई दुईपट्टि समातेर तेनेकुट्टी पार्दै घर ल्याएको अनि आमाले ‘रुँदै जेठी, आँखा हेर न, मैले त हात छाडीहालेँ । तिमीले चाहिँ….’ भनी सक्दा बाले– ‘तँ मुर्खले गर्दा यो गति भएको रहेछ’ भन्दै झापट लगाउन खोज्दा आमा अर्कोतिर भाग्नुभयो । बाले पानी खन्याएको अनि जेठेमाले एक घुट्की निलेको मैले सम्झिएकै छु । धेरैबेरपछि मात्र मेरो दाजु (अभि) जुठेल्नाबाट आमा भन्दै निस्किनुभयो । चिन्ती दिदीलाई कसैले सम्झिएकै छैन । दाजुले कान्छी दिदी(चिन्ती) दिदीले मलखाडीबाट माहिँला भन्दै गरेको कुरा सुनाउनुभयो । बा दगुर्दै गएर तल मुन्टो भएकी दिदीलाई उठाएर ल्याउनुभयो । यो प्रलयले दुईवटा विमाख गरेर ट¥यो । एउटा जेठेमालाई अच्पिल्टो बनायो, दोस्रो हाम्रो घर उदाङ्गो बनायो । आधा राततिर म त त्यतिकै निदाएछु । अरुले राति मकैको सराउलो पिठाको पुवा पकाएर खाएछन् । त्यतिकै बिहान भएछ । बिहान जेठेमाले साउती गर्दै भन्नुभयो– ‘कान्छा, म झुण्डिएर माथिबाट झरेको कुरा हाम्रा घरमा कसैलाई नभन्नु है । म पेट दुखेर सुतेकी छु भन्छु ।’
जेठेमाको ढाड नै खुस्किएछ र सात दिनसम्म माड मात्र खाएर हाम्रो घरमा नै सुत्नुभयो । उहाँका साहिँला छोराले बल्जिते नामले चिनिने माहिँला घिमिरेका छोरा युवा धामी, जानपा ल्याएर रातभर चिन्ता बसाए । धामीले जोखानामा भने– ‘यी दिदीलाई बोक्सीले बनको उठाएर पुत्ला गाडेको रहेछ ।’ जेठेमालाई जति जनाले के भएर भुडी दुखेको हो त भनेर सोध्दा पनि आकाशबाट झरेको सत्यता चुहिएन । चुहेकै थियो भने पनि उपचार त यही नै मात्र हुने थियो । आज जस्तो एम्बुलेन्स बोलाएर हतार–हतार अस्पताल लाने र एक्स–रे, एम्आरआई गर्ने परम्परा नै थिएन । मेरी आमाले जेठेमालाई हाम्रो घरमा रहँदा र पछि मुढेमै हुँदा पनि सुटुक्क पाखन्वेत, हट्चुर र ठूलो ओखतीको धुलोसँग पुवा पकाएर लगिदिएको कुरा मैले भुलेकै छुइन् ।
एक हप्तापछि मुढेका साल्दाइ र कान्छा (मेरो मित)ले जेठेमालाई कपडाको झोलुङ्गोमा दुईपट्टि बोकेर मुढे लगेको पनि मेरो मानसपटलमा आजसम्म ताजा नै छ । पछि धेरैपछिसम्म पनि मेरी आमाले दुई–चार पाथी च्याख्ला बर्कीमा पोको पारेर अनि काँचो सिम्रिक र शिलाजीत पनि पोल्टामा सुटुक्क लगेर जेठेमालाई दिने गर्नुभयो । अब यसपछि जेठेमा कहिलेदेखि कसरी हिँडडुल गर्न सक्नुभयो भन्ने कुरा मलाई थाहा भएन किनभने म घर छाडेर कता–कता पढ्न गएँ । मैले बुझेसम्म जेठेमा अरु १२÷१५ वर्ष जति बाँचेर अनि परम्धाम हुनुभयो । मेरी प्यारी जेठेमाको आत्माले चिर शान्ति प्राप्त गरोस् भनी आजसम्म पनि प्रार्थना गर्नेगर्छु । जेठेमा प्रति हार्दिक श्रद्धाञ्जलि !
समयको गति अनुसार उहाँका पति र तीन जना पुत्रहरु पनि स्वर्गारोहण हुनुभएको अनि श्रद्धेय माल्दाजु (उहाँका महिँला छोरा) र नाति–नातिना मात्र जीवित रहनुभएको मैले सुनेको छु । धामीले जोखाना खुट्याएकै आधारले होला त्यस परिवारका सदस्यहरुले पछिसम्म भन्ने गर्दथे– ‘याङमा तिरकी एकजना बाहुनी बोक्सी रहिछन् ती बोक्सीले आमालाई बनको उठाएर पुत्ला गाडेकै हो ।’ यसरी चैते आँधीको कारणले जेठेमाको ढाड भाँचिएको थियो । तर, याङ्माकी बाहुनी बोक्सीलाई हिर्काएको भन्दै जेठेमाको ढाडमा सेउली लिसोपासो र पुन्यूले हिर्काइन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here