लकडाउनमा कृषकको सारथी बन्यो ‘सहारा’

0
1030

पूर्णबहादुर कटुवाल/लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.लक्ष्मीपुर सेवाकेन्द्र कृषि र सामाजिक कार्यको विविधताको आधारमा अग्रणी देखिएको छ ।

संस्थाले झापा, मोरङ, उदयपुर, सुनसरी, इलाम र पाँचथर जिल्लामा सञ्चालन गरेका ६५ वटा सेवाकेन्द्र मध्य लक्ष्मीपुर सेवाकेन्द्रले कामको प्रकृति र विविधताको विवरणको आधारमा एक वर्षको अवधिमा ३८ भन्दा बढी प्रकारका कार्य सम्पादन गरिसकेको छ ।

कृषि र सामाजिक कार्यको क्षेत्रमा एक वर्षभित्र सम्पादन गरिएको कार्य विवरण मध्ये जनजीविका, आयआर्जन र स्वावलम्वनसँग सम्बन्धित तालिमहरु रहेका छन् । एक वर्षको अवधिमा सेवाकेन्द्रले महिलाहरुलाई उद्यमी विकास तालिम, महिला कानूनी सचेतना तालिम, व्यवसायिक पानीपुरी बनाउने तालिम, च्याउखेती प्रविधि तालिम, लोकल बोइलर कुखुरा उत्पादन तालिम, बाख्रापालन तालिम, विद्यालयमा दुना टपरी तथा बाती कात्ने तालिम, धानको पोष्ट हार्भेष्टिङ तालिम, उद्यमी विकास तथा व्यवसाय योजना तालिम, तरकारी बालीमा रोग नियन्त्रण तथा वाली संरक्षण तालिम, टनेल वितरण तथा जैविक विषादि बनाउने तालिम प्रदान गरेको छ । सेवाकेन्द्रले सञ्चालन गरेको दर्जनभन्दा बढी प्रकृतिका तालिम कृषिसँग सम्बन्धित रहेका छन् ।

‘लकडाउनको अवधिअघि र पछि गरी सेवाकेन्द्रले कनकाई नगरपालिका वडा नं. ८ र अर्जुनधारा नगरपालिका वडा नं. ५ का कृषकलाई ८१ वटा टनेल वितरण गरी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छ । अहिले वेमौषमी तरकारीले सबै टनेलहरु हराभरा मात्र भएका छैनन्, किसानले राम्रो आम्दानी पनि गरिरहेका छन्’ –लक्ष्मीपुर सेवाकेन्द्र प्रमुख उमेश भारतीले भने । उनले अहिले कनकाई नगरपालिका वडा नं. ९ मा ५० वटा टनेल निर्माणाधीन अवस्थामा रहेको र बनिसकेको टनेलबाट पनि सकारात्मक पृष्ठपोषण आइरहेकोले संस्थालाई आगामी दिनममा काम गर्न अझ ऊर्जा प्राप्त भएको बताए ।

यता साउनको पहिलो सातामा निर्माण गरिएको टनेलबाट वेमौषमी अग्र्यानिक तरकारी उत्पादन गरिरहेकी अर्जुनधारा–५ की गृहिणी विमला थापा भन्छिन्– ‘यसपालीको लकडाउनको मौकामा सहाराले साँच्चै नै सहारा दियो, कुन हिउँद कुन वर्षा, रायो र तोरीको सागले कहिल्यै भान्सा खाली भएन । फुर्सदको समयको सदुपयोग पनि भयो, आफ्नै बारीको हरियो अग्र्यानिक सागसब्जी पनि खान पाइयो ।’

सेवाकेन्द्रले वास्तवमै कृषकलाई ठूलै सहारा दिएको छ । यस क्षेत्रमा जति कृषकले टनेल खेती गरेका छन् । आफ्नो भान्साको गर्जो मात्र टारेका छैनन्, एउटै सिजनमा सब्जी बिक्रीबाट राम्रो आयआर्जन पनि गरिरहेका छन् । सेवाकेन्द्रले आगामी दिनमा कृषकलाई जैविक विषादी बनाउने तालिम दिने, एउटा टनेल मात्र बन्ने खाली जमिन भएका किसानलाई टनेल उपलब्ध गराई वेमौषमी विषादीरहीत तरकारी खेतीतर्फ उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।

यसका अतिरिक्त लक्ष्मीपुर सेवाकेन्द्रले एक वर्षको अवधिमा लकडाउनमा विपन्न एक सय ४० परिवारलाई खाद्यान्न सहयोग, कनकाई नगरपालिका कोरोना राहत कोषमा नगद एक लाख ११ हजार प्रदान, आँखा शिविर सञ्चालन गरी एक सय ७९ जनाको आँखा परीक्षण तथा २८ जनाको आँखा अपरेशन, विपन्न घाइते सदस्यको धान काट्ने कार्यक्रम, दुईवटा सदस्य अध्ययन अनुगमन भ्रमण, सचेतना सप्ताह, खुत्रुके वितरण तथा लक्ष्मीपुर बजार सरसफाई कार्यक्रम, जनमैत्री दैनिक कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै सेवाकन्द्रले ४० जना कृषकलाई बाख्राको घाँसको बिरुवा वितरण, सात सय फलफूल, घाँस काठका बिरुवा वितरण, तरकारी बीऊबिजन वितरण, एक सय ३८ सदस्यलाई चार लाख ३६ हजार ऋण कर्जा सापटी, सरहे वितरणमा ४१ जनालाई रु. १२ लाख ३० हजार वितरण, पाँच जना परिवारलाई एक लाख रुपैयाँ राहत वितरण, २९ जना सुत्केरीलाई ५८ हजार पाँच सय रुपैयाँ भत्ता वितरण, दुई सय ८६ जनालाई तीन वटा ध्वनी साबुनको प्याकेट आठ सय ५८ वटा वितरण गरेको थियो ।

त्यसैगरी १४ जनालाई दशैमा नयाँ कपडा वितरण, दशकर्म खर्चवापत १४ जनालाई १७ लाख ४० हजार रुपैयाँ वितरण, जीवन वरदान सुगर, प्रेसरको औषधि २१ जनालाई वितरण, न्यूरो क्याम्प स्वास्थ्य शिविर सञ्चालन, दुईजनालाई अपाङ्ग भत्तावापत २० हजार रुपैयाँ वितरण, नौ जना ज्येष्ठ नागरिकलाई ५४ हजार रुपैयाँ पोषणभत्ता वितरण, २५ जनालाई दुई लाख रुपैयाँ एकल महिला भत्ता वितरण, दुई जनालाई १६ हजार रुपैयाँ ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here